दाङकाे राप्तीमा आप्रबासी चरा संरक्षण परियाेजनाकाे बिषयमा जनप्रतिनिधिहरू संग अन्तरक्रिया
देउखुरी २३ असाेज । दाङकाे राप्ती गाउँपालिकाका जनप्रतिनिधिहरू संग आप्रबासी चरा संरक्षण परियाेजनाकाे बिषयमा अन्तरक्रिया सम्पन्न भएकाे छ । पंक्षी संरक्षण संघ काठमाडौंकाे आयाेजनामा बिहिबार राप्ती गाउँपालिकाकाे सभाहलमा दाङ-देउखुरी चुरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रबासी चराहरूकाे संरक्षणका लागि स्थानीय सरकार र समुदायकाे संलग्नता नामक परियाेजना अन्तर्गत महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र संरक्षण सम्बन्धी राप्ती गाउँपालिका कार्यपालिका सदस्यहरू बीच अन्तरक्रिया कार्यक्रम गरिएकाे हाे ।

परियोजना र चरा तथा जैविक विविधता संरक्षणका बारेमा संचेतना अभिबृद्धि गर्ने उद्देश्यले पहिलाे चरणमा परियाेजना लागू हुने पालिकाका जनप्रतिनिधि र स्थानीय आदीबासी समुदायहरू संग नेपाल पंक्षी संरक्षण संघले अन्तरक्रिया तथा छलफल अगाडि बढाएकाे छ । साे अवसरमा संघका परियोजना अधिकृत भूपाल नेपालीले देउखुरी सहित राप्ती नदीमा रहेका स्थानीय प्रजातीका चराहरू र अप्रबासी चराहरूकाे अवस्था लगायतका बिषयमा बिस्तृत रूपमा जानकारी गराएका थिए । उनले राप्ती नदी सहितका क्षेत्रमा बस्दै आएका चराहरू संकटमा रहेकाे बताए । उनले राप्ती सिमसार क्षेत्रमा मात्र ३ सय १९ प्रजातिका चराहरू फेला परेकाे बताउँदै स्वदेशी तथा विदेश चराहरूकाे उदगमस्थल समेत मानिएकाे राप्ती सिमचार क्षेत्रलाई चरा संरक्षणका रूपमा विकास गर्न आवश्यक रहेकाे बताए ।

साे अवसरमा बाेल्दै राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापत चाैधरीले चरा लाेप हुनुमा अमानवीय कृयाकलाप नै रहेकाे बताईन् । विश्व कै चेतनशिल प्राणीकाे रूपमा मानिएकाे मानिसका कै कारण अहिले चराचुरुङ्गीहरू लाेप हुने अवस्थामा रहेकाे बताईन् । उपाध्यक्ष चाैधरीले चरा संरक्षणका लागि सबै भन्दा पहिले मानिसहरूले आफ्नाे व्यवहार सुधार गर्न आवश्यक रहेकाे बताईन् । साथै उनले आफ्नो ब्यक्तिगत र वडा कार्यालयको तर्फबाट चरा तथा जैविक विविधता संरक्षणका लागि आवश्यक सहयोग गर्ने बताईन् । उपाध्यक्ष चाैधरीले चरा संरक्षणका बिषयमा स्थानीय सरकार प्रतिबद्ध रहेकाे बताइन् ।

कार्यक्रममा राप्ती गाउँपालिका-४, नम्बर वडा अध्यक्ष विरबहादुर चाैधरी, ५ नम्बर वडा अध्यक्ष देबप्रसाद चाैधरी, कार्यपालिका सदस्यहरू चम्फा भुसाल, सावित्री चाैधरी, तुलसा विक, गिता चाैधरी, पशु शाखा प्रमुख दामाेदर आचार्य, सुचना प्रविधि शाखा प्रमुख बालचन्द्र गुरूङ्ग, राेजगार शाखा प्रमुख मुमाराम भुसाल, कृषि शाखा अधिकृत प्रदिप खत्री, पशु चिकित्सक विनय थापा, प्रशासन शाखा प्रमुख विकास ज्ञवाली र विपत् व्यवस्थापन शाखा प्रमुख सुवास भट्टराई लगायतकाे विशेष उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण नेपाल पंक्षी संरक्षण संघका आर्का परियाेजन अधिकृत दिलिप चन्दले गरेका थिए।

यसैबीच हिजाे बुधबार दाङकाे लमही नगरपालिकाका जनप्रतिनिधिहरू संग दाङ-देउखुरी चुरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रबासी चराहरूकाे संरक्षणका लागि स्थानीय सरकार र समुदायकाे संलग्नता नामक परियाेजना अन्तर्गत महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । यस्तै लमही नगरपालिकाका आदीबासी समुदायहरू संग समेत परियाेजना र चरा संरक्षणकाे बिषयमा छलफल गरिएकाे थियाे ।

