तेजस्वी मातृभूमि सहकारीको साधारणसभा सुरू : सिसहनियाँ सेवा केन्द्रमा उद्घाटन
भालुवाङ २३ असोज । तेजस्वी मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं वार्षिक साधारणसभा क्षेत्रगत तरिकाले सुरु गरिएको छ ।
साधारणसभाको उद्घाटन बिहिवार राप्ती गाउँपालिकाको सिसहनियाँ सेवा केन्द्रमा गरिएको छ । मुख्य कार्यालय लमहीमा रहेको संस्थाले देउखुरीको ४ वटा पालिकालाई कार्यक्षेत्र बनाएर कारोवार गरिरहेको छ । सोही अनुसार पालिका स्तरमा साधारणसभा आयोजना गरिएको हो । संस्थाका अध्यक्ष जोगमान खड्काको अध्यक्षता एवम् सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले सहकारी संस्थाले व्यापारीलाई आर्थिक पाटोमा ठुलो राहत मिलेको बताए । अध्यक्ष अधिकारीले असार मसान्तमा साहुहरूबाट ल्याएको ऋण तिर्न होस् या कुनै व्यवसायी गर्न होस् सहकारी संस्थानै आर्थिक स्रोतको भरपुर्ण माध्यम भएको बताए ।
त्यस्तै कार्यक्रममा सहभागीहरुले सेवा केन्द्रबाटै ऋण प्रवाह गर्न सुझाव दिएका छन् । उनीहरूले सेवा केन्द्रबाट ऋण प्रवाह नगर्दा मुख्य कार्यालयबाट ऋण निकाल्न आफूहरूलाई असहज भएको गुनासो गरेका थिए । त्यस्तै उनीहरूले संस्थाको मुल्य मान्यता तथा सिद्धान्तका आधारमा चल्नुपर्ने बताए । संस्थालाई दिगो रुपमा सञ्चालन गर्न सञ्चालक समिति र कर्मचारीहरुको महत्वपुर्ण भुमिका रहने हुँदा त्यस तर्फ ध्यान दिन वक्ताहरुले सुझाव दिएका छन् । सभामा वार्षिक प्रगति प्रतिवेदन तथा नीति कार्यक्रम संस्थाका अध्यक्ष जोगमान खड्का, आर्थिक प्रतिवेदन कोषाध्यक्ष बसन्त न्यौपाने र लेखा सुपरिवेक्षण प्रतिवेदन सञ्चालक समिति सदस्य श्यामलाल् भण्डारीले प्रस्तुत गरेका थिए । संस्थाकी उपाध्यक्ष गिरिजा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक फणाधर ढकालले गरेका थिए ।
यसै बीच संस्थाको दोस्रो दिन असोज २४ गतेको साधारणसभा गढवा र अन्तिम दिन असोज २५ गतेको साधारणसभा लमहीमा गर्ने बताइएको छ । कुल सदस्य संख्या २ हजार ४ सय ९४ जना रहेको संस्थाको शेयर पुँजी १ करोड ८९ लाख ३८ हजार ८ सय रुपैयाँ रहेको छ भने कुल लगानी १६ करोड १८ लाख ७४ हजार २ सय ४ रुपैयाँ, कुल बचत १७ करोड ३५ लाख ८४ हजार ७ सय २८ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक फणाधर ढकालले जानकारी दिए । संस्थाले हाल सेवा केन्द्रको रुपमा सिसहनियाँ, गढवा र सतवरियाबाट कारोबार गरिरहेको संस्थाका व्यवस्थापक ढकालले बताए । यस्तै संस्थाले असोज २५ गते मुख्य कार्यालय लमहीमा साधारणसभाको समापन गर्ने व्यवस्थापक ढकालले बताएका छन् ।

