जेनजी आन्दोलनमा षड्यन्त्रपूर्वक सिंहदरबार सहितका संरचना ध्वस्त पारियो : गौतम
सिसहनियाँ ४ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य जीवन गौतमले जेनजी आन्दोलनका नाममा षड्यन्त्रपूर्वक सिंहदरबार सहितका भौतिक संरचना ध्वस्त पारिएको बताएका छन् ।
नेकपा एमाले राप्ती गाउँपालिका कमिटीले संविधान दिवसको अवसरमा शुक्रबार पार्टी कार्यालय राप्ती गाउँपालिका-३ मसुरियामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलन मूलतः शान्तिपूर्ण भए पनि त्यस भित्र घुसपैठ भई योजनाबद्ध तरिकाले छानी-छानी संरचना तोडफोड गरिएको आरोप लगाए । “हिजोका दिनमा सिंहदरबार छिर्न नदिने प्रहरी, सशस्त्र प्रहरी र सेना किन मौन बसे? यहीँमा ठूलो शंका छ, गौतमले भने। उनले पछिल्ला दिनमा पार्टी र नेताप्रति युवामध्ये बढ्दै गएको वितृष्णा स्वाभाविक भए पनि अब पार्टी र नेतृत्वले सुध्रिएर अघि बढ्नुको विकल्प नरहेको टिप्पणी गरे ।
कार्यक्रम पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष मदन अधिकारीको अध्यक्षतामा तथा केन्द्रीय सदस्य जीवन गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य जगतप्रसाद पोख्रेल, जिल्ला अध्यक्ष शिवकुमार आचार्य लगायतका नेताहरूले आ-आफ्ना धारणा राखेका थिए । पार्टीका प्रचार विभाग प्रमुख देवप्रसाद चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन पालिका सदस्य बसन्त भण्डारीले गरेका थिए ।

