जिआर काष्ठ उद्योगको विश्वकर्मा पूजा, आधा दर्जनभन्दा बढीलाई सम्मान



जिआर काष्ठ उद्योगको विश्वकर्मा पूजा, आधा दर्जनभन्दा बढीलाई सम्मान

भालुवाङ १ असोज । दाङको राप्ती गाउँपालिका–१ पाखापानीस्थित जिआर काष्ठ उद्योगले बुधबार विश्वकर्मा पूजाको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

उद्योगका सञ्चालक गञ्जबहादुर विष्टको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य क्षेत्रका अग्रणी व्यक्तित्व र उद्योगमा कार्यरत कर्मचारीहरूलाई सम्मान गरिएको हो। कार्यक्रममा राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउत, राप्ती आधारभूत अस्पतालका एमडिजीपी डा. सुशील केसी लगायतलाई सम्मान गरिएको थियो। त्यस्तै उद्योगमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका आधा दर्जनभन्दा बढी कर्मचारीलाई पनि सम्मान गरिएको छ।

सो अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वदेशी काठबाट बनेका सामग्रीको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले स्थानीय उद्योगले रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए। उद्योगका सञ्चालक गञ्जबहादुर विष्टले विगत १८ वर्षदेखि सञ्चालनमा रहेको जिआर काष्ठ उद्योगले प्रत्येक वर्ष विश्वकर्मा पूजाको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए। हाल उद्योगमा ३६ जना कर्मचारी कार्यरत रहेको र स्वदेशी काठबाट आधुनिक किसिमका आकर्षक सामग्री उत्पादन भइरहेको उनले बताए ।

कार्यक्रममा राप्ती गाउँपालिका कार्यपालिका सदस्य रणबहादुर पुजाली, स्वास्थ्य शाखा प्रमुख नारायण राउत,उद्योगका कर्मचारी सोनु चन्द लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उद्योगका कर्मचारी श्यामुनाथ चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण उद्योगका व्यवस्थापक सुरज बस्नेतले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे