देउखुरी डान्सिङ स्टार सिजन–६ को उपाधी देउखुरी पब्लिक स्कुलकी एलिना बुढालाई



देउखुरी डान्सिङ स्टार सिजन–६ को उपाधी देउखुरी पब्लिक स्कुलकी एलिना बुढालाई

देउखुरी २१ साउन । देउखुरी डान्सिङ स्टार सिजन–६ को उपाधी देउखुरी पब्लिक स्कुल लमहीकी एलिना बुढाले हात पारेकी छिन् ।

अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन भन्ने मुल नाराका साथ डि–टु कला केन्द्र लमहीको आयोजनामा शनिवार दाङको लमहीमा आयोजना गरेको देउखुरी डान्सिङ स्टार सिजन–६ रियालिटी शोको फाइनलमा बुढाले सो उपाधी हात पारेकी हुन् । देउखुरीको राप्ती, गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिकाबाट छनौट भएर फाइनलमा आएका २० जना प्रतिस्पर्धी हराउँदै बुढाले सो उपाधी जित्न सफल भएकी हुन् । उपाधी हात पारेकी बुढाले नगद ५० हजार सहित प्रमाण–पत्र, मेडल र १ वटा म्युजिक भिडियोमा खेल्न पाउने भएकी छिन् ।

त्यस्तै रियालिटी शोको फाइनलमा राप्ती गाउँपालिका–१ पाखापानीमा रहेको नवप्रतिभा आधारभुत विद्यालयकी दिपशिखा परियार दोस्रो भएकी छिन् । उनले नगद ३० हजार सहित प्रमाण–पत्र, मेडल प्राप्त गरिन् भने सोही पालिकाकै वडा नम्बर ४ मौरीघाटमा रहेको सिरिन भ्याली पब्लिक स्कुलकी सिम्रन जिएम तेस्रो भएकी छिन् । उनले नगद २० हजार सहित प्रमाण–पत्र, मेडल प्राप्त गरेकी छिन् । रियालिटी शोको फाइनल प्रतिस्पर्धाको निर्णायकमा नृत्य निर्देशक महासंघ लुम्बिनी प्रदेश अध्यक्ष लोकेन्द्र शाह र राष्ट्रिय संगीतकर्मी संघका बाँके अध्यक्ष अन्जु खड्का रहेका थिए । कार्यक्रममा सिजन १ देखि ५ सम्मका बिजेताहरुको समेत उपस्थिती रहेको थियो ।

कार्यक्रम संयोजक राजेश डाँगीको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले कला संस्कृति संरक्षणमा बालबालिकाहरुको भुमिका महत्वपूर्ण रहने बताएका थिए । बालबालिकामा लुकेर बसेका प्रतिभा छन् तर राख्ने ठाउँ नहुँदा समस्या भएकाले सरकारले यसमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघ लमहीकी महिला उपाध्यक्ष शारदा सुवेदी, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश बस्याल लगायतका वक्ताहरुले सफलताको शुभकामना सहितको आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन डि–टु कला केन्द्रका अध्यक्ष दिपक बर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे