देउखुरीको लालमटियामा १७ औँ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवस मनाईयो



देउखुरीको लालमटियामा १७ औँ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवस मनाईयो

देउखुरी २० भदौ । दाङ–देउखुरीको राप्ती गाउँपालिका–२, लालमटियामा १७ औँ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवस कार्यक्रम मनाईएको छ । कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको आयोजना तथा नेपाल पंक्षी संरक्षण संघ काठमाडौंको सहयोगमा गिद्ध संरक्षण सम्बन्धि अन्तर विद्यालय स्तरिय कबिता प्रतियोगिता तथा सरोकारवालाहरू बीच अन्तरक्रिया कार्यक्रम गरी आज शुक्रबार लालमटियाको महिला भवनमा सम्पन्न भएको हो ।

समूहका अध्यक्ष जोहरमान मियाँको अध्यक्षता एवम् राप्ती गाउँपालिका २ नम्बर वडा अध्यक्ष पहलवान चौधरीको प्रमुख आतिथ्यता तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङका अध्यक्ष हरिप्रसाद भुसाल र नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीको विशिष्ट आतिथ्यता भएको कार्यक्रममा बोल्ने बक्ताहरूले प्रकृतिको कुचिकारका रूपमा मानिएको गिद्ध चरा संरक्षणमा राज्य अलि बढी गम्भीर बन्नुपर्ने बताएका थिए । उनीहरूले आहारबिहारको व्यवस्था गर्न सके मात्र गिद्धको संरक्षण हुने बताएका थिए ।

पशु बृद्धा आश्रम तथा गिद्ध संरक्षण केन्द्रका अध्यक्ष शिबबहादुर रानाको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रममा आयोजित गिद्ध संरक्षण सम्बन्धी अन्तर विद्यालय स्तरिय कबिता प्रतियोगितामा दुर्गा भवानी आधारभूत विद्यालय मसुरिया प्रथम, चन्द्रज्योति बोडिङ्ग स्कुल पाखापानी दितीय, पब्लिक एजुकेशन एकेडेमी बराखुट्टी तृतीय र गोरखा आइडियल स्कूल लालमटिया सान्तवना भएका छन् ।

प्रतियोगितामा राप्ती गाउँपालिका भरिका सामुदायिक तथा संस्थागत गरी ६ वटा विद्यालयले भाग लिएका थिए । बिजय प्रतियोगीहरूलाई नगद र प्रमाण–पत्र सहित पुरूस्कार बितरण गरिएको थियो । प्रतियोगिताको निर्णायक मण्डलको संयोजकमा ऐरावती आदर्श बहुमुखी कयाम्पस लालमटियाका क्याम्पस प्रमुख बिक्रान्त ज्ञवाली, सदस्यहरू बरिष्ठ पत्रकार महेश रिजाल, पूर्व शिक्षिका ओमकला न्यौपाने रहेका थिए ।

कार्यक्रममा नर्ती वन समन्वय समितीका संस्थापक अध्यक्ष किरण भण्डारी, रामजहदी सामुदायिक वन समूह पाखापानीका अध्यक्ष डिल्लीराज सुवेदी, कालिका सामुदायिक वन समूहका सल्लाहकार रमेशमान गुरूङ्ग, जेष्ठ नागरिक सञ्जाल राप्तीका अध्यक्ष पदम रिजाल, बिपी आधारभूत विद्यालयका प्रधानध्यापक जिबराज शर्मा, राप्ती प्रेस मञ्चका बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता , कालिका वन समूहका कोषाध्यक्ष यमबहादुर रोका र सहयोगदाता तेजेन्द्रसिंह ठकुरी लगायतका बक्ताले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन वन समूहका सचिव कृष्णा पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे