सरकारको निर्णय कार्यान्वयन : नेपाल टेलिकम र वर्ल्डलिंकले बन्द गरे फेसबुक
काठमाडौं १९ भदौ । नेपालमा सामाजिक सञ्जाल प्ल्याटफर्म फेसबुक बन्द हुन थालेको छ । नेपाल टेलिकमले कानुन बमोजिम दर्ता हुन नआएका सामाजिक सञ्जालहरूलाई बन्द गरिएको जानकारी दिएको छ । सरकारको निर्णय कार्यान्वयन गर्दै टेलिकमले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको जानकारी दिएको हो । बिहीबार मात्रै सरकारले दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जालहरूलाई बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।
यता इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले केहीबेरअघिबाट फेसबुक बन्द गरेको बताएकाे छ । अहिले वर्ल्डलिंकको आईपी एड्रेसबाट फेसबुक चल्न छाडेको छ । वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सरकारको निर्देशन अनुसार फेसबुक बन्द गरेको जानकारी दिए । इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले प्रक्रिया सुरु भइसकेको र सबै इन्टरनेट प्रदायकबाट बन्द हुनका लागि भने केही समय लाग्ने बताए । ‘सरकारबाट आएको निर्देशन अनुसार सामाजिक सञ्जाल बन्द गर्ने प्रक्रिया अघि बढिसक्यो । विस्तार बन्द हुँदै जान्छन्,’ उनले भने ।

