लमहीमा देउखुरी उद्यमी संगम कार्यक्रम : उद्योगी सँग बहस र उद्यमीका सामाग्री प्रदर्शन 



लमहीमा देउखुरी उद्यमी संगम कार्यक्रम : उद्योगी सँग बहस र उद्यमीका सामाग्री प्रदर्शन 

लमही १४ भदौ । दाङको लमहीमा देउखुरी उद्यमी संगम कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

देउखुरी उद्योग वाणिज्य संघको आयोजनामा देउखुरी क्षेत्रका ४ वटा पालिकाका उद्यमी सँग बहस गर्नुका साथै उद्यमीका सामाग्रीहरूलाई स्टल बनाएर प्रदर्शनी गरिएको थियो । उद्यमशीलता, व्यवसाय र नवप्रवर्तन प्रवर्द्धन मार्फत देउखुरीको विकासमा नयाँ आयाम थप्ने अपेक्षा राखेर संगम  गरिएको हो । नेपाल यु.एस. अल्मुनाई नेटवर्क (नुसान) को अल्मुनाई स्मल ग्रान्ट सहयोग तथा  विभिन्न संघ–संस्था, उद्योग र शैक्षिक संस्थाको सहकार्य भएको कार्यक्रममा उद्यम विकासमा देखिएका चुनौती पहिचान गर्दै समाधानका उपाय खोज्ने गरि बहस बहस भएको राष्ट्रिय युवा परिषद् बोर्ड सदस्य तथा अधिवक्ता अर्णव चौधरीले बताए । संगममा प्यानल छलफल, नेटवर्किङ सेसन, उद्यमी कथा साझा, स्थानीय उत्पादन तथा आइडिया प्रदर्शनी जस्ता गतिविधिहरू भएका थिए । साथै सहभागीहरूले कृषि, हस्तकला, सेवा, उद्योग र नवप्रवर्तन क्षेत्रमा आधारित आफ्ना अनुभव, चुनौती र सफलताका कथाहरू सुनाएका थिए । साथै, नीति निर्माता, लगानीकर्ता, उद्यमी, युवा र सरोकारवालाबीच अर्थपूर्ण संवाद समेत भएको थियो ।

कार्यक्रममा स्थानीय उत्पादन प्रदर्शनमा गढवा गाउँपालिकाको  सेरामिक प्रविधिबाट बनेका माटाेका भाँडा, त्यहाँका किसानले तयार पारेकाे गड्यौले मल, उन्नत जातको बोका, राप्ती गाउँपालिकाको रातो च्याउ, लमही नगरपालिकाको महिला उद्यमीले बनाएका तान कपडा, ग्रामेन्ट तथा हस्तकलाका सामग्री, राजपुर गाउँपालिकाको बुटिक सामाग्री प्रदर्शनीमा राखिएको थियो । कार्यक्रमले देउखुरीमा समावेशी र दिगो उद्यमशीलता प्रवर्द्धन गर्ने, युवालाई वित्तीय संस्था र मेन्टरसँग जोड्ने तथा स्थानीय सरकारलाई उद्यममैत्री नीति र बजेट बनाउन प्रेरित गर्ने लक्ष्य राखेको छ । संगमलाई आगामी वर्ष देखि संस्थागत गर्दै निरन्तरता दिने तयारी समेत गरिएको छ । संघका वरिष्ठ उपाध्यक्ष केशवराज पोख्रेलको अध्यक्षता एवम् पुर्व संघिय मन्त्री तथा प्रतिनिधि सभा सदस्य मेटमणी चाैधरीको प्रमुख आतिथ्यता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चाैधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा संयोजन टोलीका अधिवक्ता अर्णव चौधरी (नुसान अल्मुनाई स्मल ग्रान्ट प्राप्तकर्ता), किरण खनाल, नारायण पौडेल, अंकित खनाल, अर्चना भुसाल र जोहरबी चौधरी रहेका थिए  । कार्यक्रममा नेपाल यु.एस. अल्मुनाई नेटवर्क (नुसान) का सदस्य प्रकाश लामिछाने, कृषि तथा माटो विशेषज्ञ इन्द्रबहादुर वली लगायतका वक्तनहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघका उद्योग उपाध्यक्ष ईश्वरप्रसाद श्रेष्ठको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संघका महासचिव हरि थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे