बंगलाचुलीका समर नेपालीको लागि आर्थिक सहयोग हस्तान्तरण
दाङ १४ भदाै । दाङकाे बंगलाचुली – प्रवासी एकता समाज बङ्गलाचुली–१ दाङले सपरिवार मिलेर समर नेपालीको उपचार सहयोगार्थ आर्थिक संकलन अभियान चलाएको थियो। उक्त अभियानमार्फत देश–विदेशका सहयोगी मनहरूले गरेको सहयोग संकलन गरी आज उहाँकै घरमा पुगेर हस्तान्तरण गरिएको छ।
समाजका अध्यक्ष निमराज घर्ती, कोषाध्यक्ष विक्रम भट्टराई, स्थानीय युवा समाजसेवी हेमन्त खनाल, बङ्गलाचुली वातावरण तथा दिगो विकास समितिका अध्यक्ष तथा समाजसेवी सुशील परियार, शिक्षिका समाजसेवी रिखा भण्डारीलगायतको उपस्थितिमा हालसम्म संकलित कुल ७० हजार रकम हस्तान्तरण गरिएको हो।
समाजका सल्लाहकार तथा समाजसेवी चेतन खनालका अनुसार, गाउँ–समाजमा देखापर्ने समस्याहरूको सम्भव भएसम्म समाधान खोज्ने लक्ष्यसहित प्रवासी एकता समाजले विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। यही क्रममा, विगत एक वर्षदेखि प्यारालाईस भएर हिँडडुल गर्न र रोजगार वा व्यवसाय गर्न असमर्थ बनेका बङ्गलाचुली–१, स्युजा उझा निवासी समर नेपालीलाई सहयोग गरिएको हो।
समाजका अध्यक्ष घर्तीले आर्थिक सहयोग अभियानमा साथ, सहयोग र हातेमालो गर्ने सम्पूर्ण सहयोगी मनहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै प्राप्त रकम जस्ताको तस्तै पारदर्शी ढंगले हस्तान्तरण गरिएको जानकारी दिए । त्यसैगरी संकलित रकम सम्बन्धित व्यक्तिसम्म पुर्याउन सक्रिय भूमिका खेल्ने चेतन खनाल, हेमन्त खनाल, मेघराज नेपाली, तिलक बस्याललगायतलाई विशेष धन्यवाद व्यक्त गरिएको छ । समाजका सचिव भेषराज खनालले सहयोग अभियानमा कुनै त्रुटि वा कसैको नाम छुटेको खण्डमा आफूलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।

