अट्वारी पर्व मनाउन थारू समुदायमा २ धार : देउखुरीका थारुहरुले भदाै १५ गते मनाउँदै
देउखुरी १३ भदौ । दाङ देउखुरीका थारू समुदायमा अट्वारी पर्व मनाउने विषयमा दुई धार देखिएको छ ।
थारू कल्याणकारी सभाले कुशे औंशी पछि आउने पहिलो आइतबारलाई अट्वारी पर्व मनाउने गरेको बताउँदै भदौ ८ गते अट्वारी पर्व मनाउन थारू समुदायलाई सुझाव दिएको थियो । त्यहि अनुरूप प्रदेश सरकारले भदौ ८ गते दाङ सहित पश्चिमका ५ जिल्लामा सार्वजनिक बिदा दियो । तर भदौ ८ गते दाङको देउखुरीका ४ पालिकाका थारू समुदायमा छिटपुट बाहेक कसैले त्यो दिन अट्वारी पर्व मनाएनन् । अधिकाशं थारू समुदायले हरितालिका तीज पछि आउने आइतबारलाई मात्र अट्वारी मान्न सकिने भन्दै त्यो दिन अट्वारी नमनाएको राप्ती गाउँपालिका-५ पहरूवाका थारू अगुवा ठाकुरराम चाैधरी र गुरूप्रसाद चाैधरीको तर्क छ ।
यता यस अघि अट्वारी मानिसकेका थारू कल्याणकारी सभा क्षेत्रिय समिति पुर्व सचिव तथा साहित्यकार छविलाल कोपिलाले भने अट्वारी पर्व तीज सँग जोड्न नमिल्ने बताउँछन् । उनी भन्छन्, हरेक वर्ष कुशे औंशी पछि आउने आइतबारलाई मात्र अट्वारी मन्न सकिने उनको भनाई छ । अट्वारी पर्व फरक फरक दिन मनाए पनि मनाउने तरिका भने उहीँ हो । तर पछिल्लो केही वर्ष यता अट्वारी पर्व मनाउने विषयमा थारू थारू समुदाय बीच मतभेद हुँदा सरकारलाई समेत बिदा दिने विषयमा अन्याैलता सिर्जना हुँदै आएको छ । प्रदेश सरकारले थारू कल्याणकारीको सुझावमा भदौ ८ गते सार्वजनिक बिदा दिएको थियो तर स्थानीय सरकारले भने भदौ १५ गतेका लागि बिदा दिएका छन् ।
जसमा लमही नगरपालिका र राजपुर गाउँपालिकाले भदौ १५ र १६ गते गरि २ दिन सार्वजनिक बिदा दिएको छ भने राप्ती र गढवा गाउँपालिकाले भदौ १५ गते १ दिनका लागि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले दिएको बिदामा देउखुरीका छिटपुट बाहेकका अधिकाशं थारू समुदायले अट्वारी नमनाउने भएपछि स्थानीय सरकारले तीज पछि आउने भदौ १५ गतेको आइतबारलाई अट्वारी पर्वको रूपमा सार्वजनिक बिदा दिएको छ ।

