हरियाली सहकारीको तीज विशेष कार्यक्रम : माैलिकता जोगाउँदै सहकारीका महिलाहरू
भालुवाङ ३० साउन । अबका केही दिनमा आउने हिन्दू नारीको महान् चाड हरितालिका तीजको चहलपहल शुरु भइसकेको छ । महिलाहरु माइत जाने, दरखाने र महादेवको व्रत बस्ने तयारीमा छन् भने बजारमा तीजको किनमेल गर्नेहरूको भिडभाड बढेको छ ।
घरघरमा तीजको तयारी चले पनि सामूहिक रूपमा तीजको उत्सव मनाउने क्रम भने बाक्लिन थालिसकेको छ सङ्घसंस्थाले तीज लक्षित नाचगान, भेटघाट र प्रतियोगिता धमाधम आयोजना गरिरहेका छन् । आफन्त, नाता गोता र साथीसङ्गीको बाक्लिँदो भेटघाटले तीजको उल्लास भित्रिसकेको देखाउँछ । विगतका वर्षमा जस्तै यश वर्ष पनि तीज आउनुभन्दा महिना दिन अघिदेखि महङ्गा पहिरन र गहना प्रदर्शन गर्ने तथा होटल रेस्टुराँमा दरको नाममा भोजभतेर चलाउने बेथिति अहिले पनि कायमै छ । तर केही संघसंस्थाहरूमा आवद्व महिला अगुवाहरूले तीजलाई रितीरिवाज, संस्कार र संस्कृतिको मर्मअनुसार संरक्षण गर्नुपर्ने दायित्वलाई नेपाली नारीहरुले आत्मसात गर्दै लगेको समेत पाइन्छ ।
यस्तै तीजको माैलिकता संरक्षणमा जोड दिदै शुक्रबार दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको हरियाली बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको तीजमिलन कार्यक्रममा सहभागी महिला दिदीबहिनीहरू भने माैलिक गीत मार्फत दुखसुख साटेका छन् । सहकारी संस्थाकी सचिव राधा पाण्डेले तीज मनाउने तौरतरिका समय अनुसार बदलिए पनि तीजको माैलिकता, रितिरिवाज र परम्परालाई भुल्न नहुने बताइन् । पाण्डेले भनिन्। “ठुला ठुला होटलमा तीज मनाउने नेपाली परम्परा होइन, माइतीमा बसेर दुःखसुखका गीतमा लय हाल्दै नाच्ने र गाउने, दरखाने तथा व्रत बस्ने मौलिक परम्परा हो ।” सङ्घसंस्थाले महिला सदस्यलाई लक्षित गरी तीज विशेष कार्यक्रम राख्ने परम्परा थपिएकालाई पनि नराम्रो मान्न नहुने र त्यसमा महङ्गा पहिरन र गहनाको प्रदर्शनचाहिँ गर्न नहुने उनको धारणा छ ।
यसपालि पनि दाङमा सङ्घसंस्थाले मनाएको तीजमा तडकभडक र बेथिति नरोकिएको प्रति महिला उपसमितिकी संयोजक विष्णुमाया घिमिरे बस्यालले चिन्ता व्यक्त गरिन् । विगत केही वर्ष देखि सामूहिक तीज मनाउने, बाजा घन्काएर हप्तौँ सम्म नाचगान गर्ने र ठूला होटलमा भोजभतेर लगाउने प्रतिष्पर्धा रोकिएको छैन् यसलाई नियन्त्रण गर्न आवश्यक छ, उनले भनिन् । तीजमा तडकभडक रोकिएको छैन् सचेत महिलाले परम्परा र संस्कृति जोगाउँदै समाजलाई एकताको सूत्रमा गाँस्ने नारी पर्वको रुपमा तीजलाई मनाउन आवश्यक रहेको उनले बताइन् । उनले महङ्गा गरगरहना र पहिरन नहुनेले तीज मनाउनै नसक्ने जस्तो अवस्था सिर्जना भएको हुँदा गरीब र धनीको विभेद नहुने गरी मौलिक र सरलरूपमा तीज मनाउन आवश्यक रहेको बताइन् ।
तीज आउन केही दिन मात्र बाँकी रहे पनि विदेशी बाजा र गानामा चोकचोकमा नाचगान गर्नेहरु यसपालि देखिएका छन् । विशेषगरी हिन्दू महिलाका माझ प्राचीन कालदेखि नै निकै लोकप्रिय रहेको तीज पर्व पछिल्लो समयमा सबै जाति, वर्गमा पनि प्रसिद्ध बनेको छ । सबै चेलीहरु जम्मा भएर सुखदुःख साटासाट गर्ने यो पर्व महिलाका लागि निकै रमाइलो र महत्वपूर्ण पर्व हो । पछिल्लो समयमा तीज आधुनिकता तर्फ गए पनि यसको मौलिक संस्कृति आफैँमा महत्वपूर्ण रहेको र विकृति रोक्न सहकारी संस्थाको पनि भुमिका रहने हरियाली बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ सल्लाहकार तथा निर्वतमान अध्यक्ष शिवध्वज मल्ल र लेखा सुरपरिक्षण समितिका संयोजक खगेश्वर शर्मा पोख्रेलको भनाइ छ ।
पहिले पहिले जन्मघर छोडेर माइतीमा जम्मा भएका चेलीले आफ्नो सुखदुःख गीतबाटै व्यक्त गर्ने रमाइलो पर्व हरितालिका तीज हो । जन्मघर छाडेर कर्मघर जाँदाको अनुभव तथा माइतीप्रति गुनासा तथा अपेक्षा पनि गीतबाटै प्रस्तुत गरिन्थ्यो । तीजमा गाइने पुराना गीतले चेलीको भावानालाई समेटेका हुन्थे । माइतीप्रति चेलीको बिलौना र पीडालाई समेटेका हुन्थे । तीजका गीतले महिलामाथिको अन्याय अत्याचारका पीडालाई पनि समेटेका हुन्थे । सबै चेली माइतीमा जम्मा भएर आफ्ना मनका पीरब्यथा पोख्ने पर्वका रुपमा मानिएको हरितालिका तीज पछिल्लो समयमा भने परिवर्तन हँदै गएको छ । अहिले बजारमा तीजका नाममा अधिकांश मायाप्रीतिका गीत आउने गरेका कारण तीजको मौलिकता र संस्कृति ओझेलमा पर्दै गएको संस्थाकी सदस्य तथा शिक्षा उपसमिति संयोजक हरिकला पाण्डे बताइन् । “तीज पर्वलाई सन्देशमूलक बनाउन जरुरी छ, यो पर्वमार्फत आपसी सद्भाव, एकता र लैङ्गिक समानताको सन्देश दिनुपर्छ”, उनले भनिन् ।
महिला माथिको हिंसा र दमनको स्वरुप बदलिए सँगै गीतका भाका र शब्द फेरिनु नौलो होइन तर बजारमा आएका केही गीत र कलाकारको प्रस्तुतिले तीजको मौलिकतालाई बिगारेको संस्कृतिवद्हरूको भनाइ छ । अहिले समय फेरिएको छ, अब तीजलाई समानता र सशक्तीकरणसँग जोडेर मनाउनुपर्छ, तर आधुनिकताका नाममा विकृति भित्रिन भने दिनु हुँदैन ।
