राप्ती गाउँपालिकाकाे वार्षिक समीक्षा : वित्तीय प्रगति ८६ दशमलव ५१ प्रतिशत
भालुवाङ ३० साउन । दाङकाे राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न शाखा र वडाहरूले वर्षभर गरेका कार्य तथा उपलब्धिहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा अध्यक्ष विष्टले योजनाहरू सफलतापूर्वक कार्यान्वयनमा गाउँपालिकावासी, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायको सहयोगप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, कृषि तथा युवा उद्यमशीलता जस्ता क्षेत्रमा पालिकाले उल्लेखनीय प्रगति गरेको बताए। “जनताको विश्वासलाई केन्द्रमा राखी हरेक योजनामा पारदर्शिता र सहभागितालाई प्राथमिकता दिएका छौं,” अध्यक्ष विष्टले भने, “स्थानीय सरकारको मूल जिम्मेवारी जनताको सेवा हो, जसलाई हामी सबै मिलेर अझ प्रभावकारी बनाउँदै लैजानेछौं।” उनले सेवा प्रवाहलाई पारदर्शी, गुणस्तरीय र उत्तरदायी बनाउन विशेष ध्यान दिन कर्मचारीहरूलाई आग्रह गरे।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले नतिजामुखी सेवा प्रवाह, स्रोतको सही उपयोग र जनसहभागिताको सन्तुलनमा जोड दिए । उनले कर्मचारी र जनप्रतिनिधिबीचको आपसी विश्वास र सहकार्यबाट मात्रै समृद्ध गाउँपालिका निर्माण सम्भव हुने विश्वास व्यक्त गरे।विभिन्न सूचकका आधारमा मूल्यांकन गर्दा वडा नं. २ प्रथम, वडा नं. १ द्वितीय र वडा नं. ४ तृतीय भएका छन्। कार्यक्रममा कार्यपालिका सदस्य, वडाध्यक्ष, शाखा प्रमुख, वडा सचिव, अन्य कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो। कार्यक्रममा सहजीकरण शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तथा सूचना अधिकृत विश्वास विकले गरेका थिए।
यसै बीच राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा स्वीकृत कुल बजेटको ८६ दशमलव ५१ प्रतिशत खर्च गरेको छ।
कुल ६४ करोड ५३ लाख ३६ हजार रुपैयाँ स्वीकृत बजेटमध्ये ५६ करोड ९८ लाख ७४ हजार रुपैयाँ प्राप्त भएको थियो। यसमध्ये ५५ करोड २६ लाख ४४ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ। लुम्बिनी प्रदेश सरकारबाट प्राप्त ३ करोड १३ लाख १५ हजार रुपैयाँमध्ये ३ करोड ६ लाख ६२ हजार रुपैयाँ अर्थात् ९७ दशमलव ७१ प्रतिशत खर्च भएको छ। संघीय सरकारबाट प्राप्त ३३ करोड २२ लाख ३ हजार रुपैयाँ अनुदानमध्ये ३२ करोड ३४ लाख २ हजार रुपैयाँ अर्थात् ९७ दशमलव ३५ प्रतिशत खर्च भएको छ।
आन्तरिक आम्दानीबाट ४ करोड ९९ लाख ७५ हजार रुपैयाँमध्ये ४ करोड ७१ लाख ११ हजार रुपैयाँ अर्थात् ९३ दशमलव ४९ प्रतिशत खर्च भएको छ। त्यस्तै, राजस्व बाँडफाँडबाट प्राप्त १५ करोड ७० लाख ७१ हजार रुपैयाँमध्ये १५ करोड २४ लाख ६९ हजार रुपैयाँ अर्थात् ९६ दशमलव ४३ प्रतिशत खर्च भएको छ।

