राप्तीको सार्वजनिक सुनुवाई : शिक्षा र स्वास्थ्यमा क्रमिक सुधार गर्दै लगेका छौं : अध्यक्ष विष्ट



राप्तीको सार्वजनिक सुनुवाई : शिक्षा र स्वास्थ्यमा क्रमिक सुधार गर्दै लगेका छौं : अध्यक्ष विष्ट

भालुवाङ २० साउन । दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार राप्ती गाउँपालिका वडा नम्बर २ को बराखुट्टीमा सम्पन्न गरेकोे छ ।

गाउँपालिकाले आफ्ना मातहतका कार्यालयहरूबाट प्रदान गरिएका सेवा, योजना र कामकारवाहीबारे जानकारी गराउँदै सेवाग्राहीसँग अन्तत्र्रिmया गर्न तथा सेवा प्रदायकलाई जवाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको जनाएको छ ।
कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, पुश, सडक, सिंचाई, विद्युत, विपत् व्यवस्थापन, न्यायिक सेवा, सुशासन लगायतका विषयमा जिज्ञासा, सुझाव र गुनासा राखेका थिए। उनीहरुले उठाएका प्रश्नहरूको जवाफ गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठक, वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी, ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी र सम्बन्धित शाखा प्रमुखहरूले दिएका थिए । सेवाग्राहीहरुले राखेको जिज्ञासाको जवाफ दिदै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आफु निर्वाचित भएर आउने बित्तिकै शिक्षा र स्वास्थ्यमा धेरै सुधार ल्याउन सफल भएको बताए ।

उनले निर्वाचनका समयमा आफुले बोलेका कुराहर मध्ये शिक्षा र स्वास्थ्यमा धेरै सुधार ल्याएर र शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशकै उत्कृष्ट पालिका बनाउन सफल भएको बताए । त्यस्तै अध्यक्ष विष्टले राप्ती गाउँपालिकाको सिसहनियाँ र भालुवाङ गरी २ वटा अस्पतालमा २४ सै घण्टा इमरजेन्सी सेवा सँगै डाक्टरहरु राखेर सेवा दिन सुरु गरेको बताए । त्यस्तै अध्यक्ष विष्टले आफुले बोलेका धैरै कुराहरु मध्ये करिव ५० प्रतिशत वाचा पुरा गरिसकेको र आफुले पाउने सेवा सुविधाबाट समाजिक क्षेत्रमा थुप्रै रकम खर्च गरेको बताए । उनले भने, “काम गर्दा ढिलोचाँडो त हुन्छ, तर हामी राप्तीवासीको सेवामा निरन्तर लागिरहेका छौँ । रचनात्मक सुझाव, सल्लाह र खबरदारी पनि निरन्तर रहोस् भन्ने हाम्रो अपेक्षा छ ।”

अध्यक्ष विष्टले शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशीलता जस्ता क्षेत्रका आधारभूत आवश्यकता पूरा गर्न पालिका प्रतिबद्ध रहेको बताउँदै, दिगो विकासका लागि जनसहभागिता अपरिहार्य रहेकोमा जोड दिए । त्यस्तै गाउँपालिकाको समृद्धिका लागि प्रदेश तथा संघ सरकारसँग निरन्तर पहल र समन्वय भइरहेको पनि उनले बताए । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार अर्जुन अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे