दाङकाे भालुवाङ अस्पतालमा बिरामीको आकर्षण, जिल्ला बाहिर जाने बिरामी ह्वाटै घटे्
भालुवाङ १९ साउन । प्यूठानको सरुमारानी गाउँपालिका—१, दर्भानका खेमराज पौडेलको पेटमा समस्या देखिएपछि उनी भालुवाङ अस्पतालमा भर्ना भए । भर्ना भएको आर्को दिन उनी निको भएर डिचार्ज समेत भए । उनी बिगतमा आफू र आफ्नो परिवारको सदस्यमा बिरामी हुँदा सिधैँ बुटवल वा नेपालगञ्ज जाने गर्थे ।
तर अहिले बिशेषज्ञ सहित ५० शैयाको भालुवाङ अस्पताल सञ्चालनमा आएपछि उनी बुटवल र नेपालगञ्ज जान छोडे । उनले सबै प्रकारका स्वास्थ्य सेवा भालुवाङ अस्पतालबाट लिंदै आएका छन् । अस्पतालमा केही जनशक्ति कमी रहेको बाहेक अन्य सबै स्वास्थ्य सेवा प्रभावकारी रहेको भन्दै खुसी व्यक्त गरे ।

यस्तै राप्ती गाउँपालिका—१, पाखापानीका जुगबहादुर खत्री पनि खुसी व्यक्त गर्छन् । आफ्नै ठाउँमा डाक्टरहरु सहितको सेवा सञ्चालनमा आएपछि घण्टौँ लगाएर बुटवल र नेपालगञ्ज जानुपर्ने बाध्यताको अन्त्यको भन्दै सरकारलाई धन्यबाद दिए । उनी मात्र होइन प्यूठानको सरुमारानी गाउँपालिका—१, दर्भान निवासी दोमन्ता जिसी भालुवाङ मै बिशेषज्ञ सहितको भालुवाङ अस्पताल सञ्चालनमा आएपछि पनि निकै खुसी छिन् । “भालुवाङमा अस्पताल खुलेपछि घरबाट उत्ति खेरै आउन, जान एकदमै सजिलो भएको छ । म त एकदमै खुसी छु” उनले भनिन् ।
लुम्बिनी प्रदेशको राजधानी समेत रहेको राप्ती उपत्यका देउखुरीमा पहिलो पटक बिशेषज्ञ स्वास्थ्य सहितको भालुवाङ अस्पताल सञ्चालनमा आए संगै पौडेल जस्ता सयौँ नागरिकहरु यति बेला स्वास्थ्य सेवा लिन भालुवाङ अस्पताल आउने गरेका छन् । लुम्बिनी प्रदेश सरकारले बिशेषज्ञ स्वास्थ्य सेवा सहित ५० शैयाको भालुवाङ अस्पताल सञ्चालनमा ल्याए संगै देउखुरी सहित छिमेकी जिल्लाका नागरिकहरु स्वास्थ्य सेवा लिन भालुवाङ अस्पताल आउने गरेका हुन् ।

बिगतमा समान्य स्वास्थ्य उपचार बाहेकको स्वास्थ्य सुविधा नहुँदा देउखुरीका नागरिकहरु एक सय किलो मिटर पूर्व बुटवल, कि त १ सय ५० किलो मिटर टाढा नेपालगञ्ज सम्म पुग्नुपर्ने बाध्यता रहेको थियो । अहिले प्रदेश सरकारले भालुवाङ अस्पताल सञ्चालनमा ल्याए संगै देउखुरी सहित छिमेकी जिल्लाका नागरिकहरु स्वास्थ्य सेवा लिन बुटवल र नेपालगञ्ज जानुपर्ने बाध्यताको अन्त्य भएको छ । बिशेषज्ञ डाक्टरहरु सहित ५० शैयाको भालुवाङ अस्पताल सञ्चालन ल्याएपछि बुटवल र नेपालगञ्जका अस्पतालहरुमा भैतारिने बिरामीहरु यति राहतको महसुस समेत गर्न थालेका छन्
अस्पताल सञ्चालनमा आए संगै दैनिक स्वास्थ्य सेवा लिने आउने बिरामीहरुको चाप समेत बढ्न थालेको छ । अहिले अस्पतालमा दैनिक सरदर एक सय देखि एक सय ५० जना सम्मका बिरामीहरुले स्वास्थ्य सेवा लिन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । जस अनुसार चैत महिनामा १ हजार ७ सय ५९ जना, बैशाखमा १ हजार ३ सय ४९ जना, जेष्ठमा १ हजार ४ सय ८४ जना र असारमा १ हजार ६ सय ४५ जना बिरामीहरुले स्वास्थ्य सेवा लिएको अस्पतालका प्रशासन प्रमुख छबि बस्नेतले बताइन् ।

उनका अनुसार समान्य गर्भवती सुत्केरी तर्फ चैतमा २० जना, बैशाखमा १८ जना, जेष्ठमा १९ जना र असारमा २७ जना रहनु भएको छ । त्यस्तै अस्पतालमा अहिले सम्म ४ एपेन्डिक्स, १ जना हाइड्रोसिल, १ जना हर्निया र ५ जना गर्भवतीको सफल शल्यक्रिया गरिएको प्रशासन प्रमुख बस्नेतले बताइन् ।
अस्पतालमा अहिले २४ घण्टा इमरर्जेन्सी सेवा, बिशेषज्ञ डाक्टर सहितको स्वस्थ्य परिक्षण, सुत्केरी सहित अन्य रोगको शल्याक्रिया, ल्याप, भिडियो इक्सरे, सादा एक्सरे, इसिजी, अक्सिजन सेवा सहित बिरामी भर्ना गर्ने सम्मको स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर आकाश बेल्बासेले जानकारी दिए । अस्पतालबाट अहिले सम्म ६ हजार २ सय ३७ जना बिरामीले स्वास्थ्य सेवा लिइ सकेका छन् ।

गत बैशाख १५ गते बिशेषज्ञ स्वास्थ्य सेवा सहित ५० शैयाको भालुवाङ अस्पतालको शुभारम्भ भयो । नागरिकहरुलाई आफ्नै घरदैलोमा बिशेषज्ञ सहितको स्वास्थ्य सेवा दिन प्रदेश सरकारले १४ औँ अस्पतालको रुपमा भालुवाङ अस्पताल सञ्चालनमा ल्याइएको हो ।
राजधानीमा बिशेषज्ञ जनशक्ति र गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकारले भालुवाङ अस्पताल सञ्चालनमा ल्याएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्पताललाई पूर्ण रुपमा सुविधा सम्पन्न बनाउन यस आर्थिक बर्षमा प्रदेश सरकारबाट १ करोड ४८ लाख र संघ सरकारबाट ५९ लाख ४४ हजार बजेट विनियोजन समेत गरिएको छ ।

दाङ—देउखुरी सहित छिमेकी जिल्ला प्यूठान, रोल्पा र अर्घाखाँचीका नागरिकहरुलाई सहजै स्वास्थ्य सेवा लिन सहज होस् भन्नका.लागि समेत दाङको भालुवाङमा बिशेषज्ञ सहितको अस्पताल सञ्चालनमा ल्याएको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बताए । उनले भालुवाङ अस्पताललाई निकट भबिष्यमा अत्याधुनिक सुविधा सम्पन्न अस्पतालको रुपमा स्तरउन्नती गर्ने गरी प्रदेश सरकारले निति लिएको समेत बताए ।
भालुवाङमा बिशेषज्ञ सहित ५० शैयाको अस्पताल सञ्चालनले नागरिकमा अहिले प्रदेश सरकारप्रति आसा जगाएको छ । अपर्याप्त संरचना र प्रबिधिका बागजुट पनि सञ्चालन भएको भालुवाङ अस्पतालले केही हद सम्म बुटवल र नेपालगञ्ज जाने बिरामीहरुको भारलाई घटाएको छ, भने नागरिकहरुको मन जित्न सफल भएको छ ।





