मनसुनजन्य विपद्बाट बच्न उच्च सतर्कता अपनाउन प्रशासन र स्थानीय पालिकाहरुकाे आग्रह
दाङ २० साउन । विगत केही दिन देखि सक्रिय मनसुनका कारण दाङ, रोल्पा, प्युठान लगायतका जिल्लामा निरन्तर भारी वर्षा भइरहेको छ । सोही वर्षाका कारण दाङ जिल्ला भएर बग्ने बबई र राप्ती नदीमा पानीको बहाव उच्च हुँदै गएको र डुवान तथा कटानको जोखिम बढेको छ ।
जिल्ला प्रशासन कार्यालय दाङ सहित राप्ती, राजपुर गाउँपालिका र लमही नगरपालिकाले मौसम पूर्वानुमान महाशाखा तथा सम्बन्धित निकायबाट प्राप्त सूचनाका आधारमा उच्च जोखिममा रहेका क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरू बढी जोखिममा रहने भएकाले उनीहरूलाई विशेष ध्यान दिन उनीहरुले अनुरोध गरेका छन् । स्थानीय सुरक्षा निकायहरू सँग नजिकको सम्पर्कमा रहन, विपद्को अवस्थामा सुरक्षित स्थानमा सर्न तथा विपद् व्यवस्थापन समितिको मनसुनजन्य पूर्व तयारी तथा प्रतिकार्य योजनाअनुसार आवश्यक कदम चाल्न जिल्ला प्रशासन कार्यालय दाङले निर्देशन दिएको छ । त्यस्तै, जोखिमयुक्त क्षेत्रमा रहेका पालिकाहरुलाई तत्काल प्रतिकार्य तयारी अवस्थामा रहदै उद्धार तथा प्रतिकार्यमा खटिन र आम जनतालाई सचेत गराउन समेत अनुरोध गरिएको छ ।
साथै, राजनीतिक दल, सुरक्षा निकाय, रेडक्रस, नागरिक समाज, विपद् सम्बन्धी काम गर्ने क्लस्टर तथा अन्य सरोकारवाला निकायहरुलाई समन्वयात्मक रूपमा सक्रिय रहन आग्रह गरिएको छ । विपद्को जोखिम न्यूनीकरण तथा तत्कालीन उद्धारमा संलग्न हुन सबैलाई आ-आफ्नो जिम्मेवारी निर्वाह गर्न प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आग्रह गरेका छन् ।


