बर्दियामा मुक्त कमैयाका बालबालिकालाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण
बर्दिया १६ साउन । बर्दिया जिल्लाको ४ वटा पालिकाका ८ सय जना मुक्त कमैयाका बालबालिकालाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरिएको छ ।
एक्सन एड नेपाल र कमैया महिला जागरण समाज नेपालको साझेदारीमा सञ्चालित नेपालमा कृषिमा आधारित बंधुवा श्रम अन्त्य परियोजना अन्र्तगत बर्दिया जिल्लाको ४ पालिका बढैयाताल गाँउपालिका, बाँसगढी नगरपालिका, गेरुवा गाँउपालिका र राजापुर नगरपालिकाका ८ सय जना मुक्तकमैया परिवारका बालबालिकाहरुलाई संस्थाको सहयोगमा छात्रवृत्ति वितरण गर्ने योजना अनुसार गेरुवा गाउँपालिकामा १ सय १५ जनालाई छात्रवृत्ति वितरण गरिएको हो । संस्थाले बिगत बर्ष देखि नै मुक्तकमैयाका छोराछोरीलाई छात्रवृत्ति वितरण गर्दै आएको छ । सोही अनुसार संस्थाले गेरुवा गाउँपालिकामा कक्षा ६ देखि ८ सम्मका १ सय १५ जना विद्यार्थी बालबालिकालाई कापी, कलम, झोला, ज्यामित्री बक्स, त्यसैगरी जुत्तामोजा र एक जोर स्कुल डे«स गरी करिव २ हजार ५ सय रुपैयाँ बराबरको प्रति विद्यार्थीलाई सामाग्री वितरण गरीएको संस्थाका कार्यक्रम अधिकृत राजेन्द्रप्रसाद थारुले जानकारी दिए । संस्थाले बिगत बर्ष देखि नै बर्दियाको ४ वटा स्थानिय तह गेरुवा, बढैयाताल गाँउपालिका, राजापुर र बाँसगढी नगरपालिकामा मुक्त कमैयाहरुको हकअधिकार, अनौपचारिक क्षेत्रको श्रम्किहरुको सवाल, जलवायु न्याय, जिविकोपार्जन, कृषि, शिक्षा र स्वास्थ्यको क्षेत्रमा स्थानीय सरकार संग समन्वय गरेर काम गर्दै आएको छ ।
कमैया महिला जागरण समाजकी केन्द्रीय अध्यक्ष कृष्णी चौधरीका अनुसार सो कार्यक्रम विगत ४ वर्ष देखि बर्दियाका चार पालिकामा संचालन हुँदै आएको हो । उनका अनुसार, आर्थिक अभावले बालबालिका शिक्षा बाट बञ्चित नहुन भन्ने हाम्रो मूल उद्देश्य हो । कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले शैक्षिक सामाग्री सहयोगले बालबालिकाहरुको अनुहारमा खुसी ल्याएको बताए । शैक्षिक सामाग्री वितरण कार्यक्रमले विद्यार्थीको शैक्षिक बृद्धिमा टेवा पुर्याउनुका साथै उनीहरुलाई विद्यालयमा टिकाइराख्न ठूलो सहयोग पुग्ने बताए । गेरुवा गाउँपालिकामा रहेका मुक्तकमैया बालबालिकाले विद्यालय छोड्ने दर उच्च रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले नयाँ आशा जगाएको अध्यक्ष केसीले बताए । साथै अगामी दिनमा संस्थाले यस्तो खालको कार्यक्रम सञ्चालन गर्न अझै आवश्यक रहेकाले अगामी दिनमा पालिका र संंस्थाले सहकार्य गरेर अगाडी बढने प्रतिबद्धता गरे ।
संस्थाले यस बर्ष पनि विद्यार्थीको पठनपाठनमा सहज होस र अभिभावकलाई आर्थिक सहयोग पुगोस भन्ने उद्देश्यले राजापुर नगरपालिकामा ४ सय १३ जना विद्यार्थी, बढैयाताल गाउँपालिकामा १ सय १५, गेरुवा गाँउपालिकामा १ सय १५ जना र बाँसगढी नगरपालिकामा ९३ जना गरेर जम्मा ८ सय जना विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गर्न लागेको संस्थाका कार्यक्रम अधिकृत राजेन्द्र प्रसाद थारुले बताए । संस्थाले वितरण गरेको सामाग्री पाएपछि विद्यार्थी बालबालिका र अभिभावकहरु समेत खुसी भएका छन् । कार्यक्रममा गेरुवा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी थारु, वडा नम्बर २ का वडा अध्यक्ष कृष्णा चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष निर्मल चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष धर्म प्रकाश चौधरी, मुक्तकमैया समाज पालिका समिति अध्यक्ष बेचुलाल थारु लगायतको उपस्थिति रहेको थियो । अभिभावक, शिक्षक, बालबालिका तथा संचारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

