गढवा- ७ का वडा अध्यक्ष राहुलदेव चौधरीको घरबाट ५८ क्विफिट काठ बरामद



गढवा- ७ का वडा अध्यक्ष राहुलदेव चौधरीको घरबाट ५८ क्विफिट काठ बरामद

दाङ ११ साउन । दाङको गढवा गाउँपालिका- ७ का वडा अध्यक्ष राहुलदेव चौधरीको घरबाट चिरान गर्दै गरिएको अवस्थामा ५८ क्विफिट काठ बरामद गरिएको छ ।

वडा अध्यक्षको संलग्नतामा अवैध काठ चिरान भइरहेको गोप्य सूचनाका आधारमा सव डिभिजन वन कार्यालय गढवा, इलाका प्रहरी कार्यालय गढवा र सशस्त्र वन रक्षकको संयुक्त टोलीले छापा मारेको थियो । वडा अध्यक्षको घर-आँगनमै साल र जङ्गली जातको सिसौ काठ चिरान भइरहेको अवस्थामा उक्त काठ बरामद भएको सव डिभिजन वन कार्यालय गढवाका सहायक वन अधिकृत यमप्रसाद गैरेले जानकारी दिए ।

‘हामीलाई वडा अध्यक्षकै संलग्नतामा अवैध काठ चिरान भइरहेको गोप्य सूचना आएको थियो । सोही आधारमा छापा मार्न जाँदा चिरान भइरहेको अवस्थामा काठ फेला पारिएको हो,’ गैरेले भने, ‘वडा अध्यक्षले खोलाले बगाएर ल्याएको काठ भएको दाबी गर्नुभयो । तर काठको कुनै प्रमाण देखाउन सक्नुभएन ।’ वडा अध्यक्षको घर-आँगनबाट चिरान काठ बरामद भएको पुष्टि डिभिजन वन कार्यालय देउखुरीका प्रमुख महेन्द्रराज वाग्लेले पनि गरेका छन् । उनले काठ चिरानमा संलग्न सबै व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने बताए । बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय गढवामा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे