देउखुरीको बिजौरीमा दिनदाहाडै एक घरमा चोरी
देउखुरी ६ साउन । दाङ—देउखुरीको राप्ती गाउँपालिका—८, बिजौरीको एक घरमा दिनदाहाडै चोरी भएको छ । आज मंगलबार दिउँसो करिब २ बजेको समयमा बिजौरी निवासी सुरेश अधिकारीको घरमा चोरी भएको हो ।
ईलाका प्रहरी कार्यालय सिसहनियाँका प्रमुख रकमबहादुर खड्काका अनुसार घरमा कोही नभएको मौका छोपी चोरले घरको मूल ढोकामा लगाएको ताल्चा फोडी चोरी गरेको हो । अधिकारीको घरबाट चोरले नगद ६ हजार सहित चाँदीको पुजा गर्ने थाली र चाँदीका कचौरा लगायतका बहुमुल्य धातुका सामाग्रीहरु चोरी गरेको प्रहरीले जनाएको छ ।
चोरको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ । घर नजिक कहिकतै सिसी क्यामरा नभएको हुँदा खोजी कार्यमा केही समस्या भएपनि चोर पत्ता लगाएर छोड्ने प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्

