राप्ती गाउँपालिकाद्वारा सहिद तथा बेपत्ता परिवारलाई दैनिक उपयोगी सामग्री वितरण
सिसहनियाँ ६ साउन। दाङको राप्ती गाउँपालिकाले सहिद तथा बेपत्ता भएका परिवारलाई सम्मानस्वरूप दैनिक प्रयोगमा आउने सामग्रीहरू प्रदान गरेको छ।
मंगलबार एक कार्यक्रमका बीच गाउँपालिकाले तत्कालीन जनयुद्ध, जनआन्दोलन तथा थारुहट आन्दोलनका क्रममा सहिद भएका तथा बेपत्ता पारिएका ३३ जना परिवारलाई चार्जिङ लाइट, तामाको जग, इलेक्ट्रिक जग, थर्मस र छाता वितरण गरेको हो। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शहादत वरण गर्ने तथा बेपत्ता भएकाका परिवारलाई सधैं सम्झिरहनुपर्ने बताउँदै, पालिकाले दिएको याे सहयोग उनीहरूको सम्मानमा गरिएको सानो प्रयास भएको उल्लेख गरेका छन्।
उनले भने, “हाम्रो देशमा आज लोकतन्त्र, गणतन्त्र र संघीयताको अभ्यास सम्भव भएको छ भने त्यो सहिदहरूको बलिदानकै कारण हो। हामीले उनीहरूको योगदानलाई कहिल्यै बिर्सनुहुन्न। आजको यो हस्तान्तरण कार्यक्रम सम्मान र कृतज्ञताको प्रतीक हो।” अध्यक्ष विष्टले यस आर्थिक वर्षमा सहिद परिवारका सबै सदस्यहरूको निशुल्क स्वास्थ्य बीमा गरिदिने कार्यक्रम रहेको पनि जानकारी दिए । उनले थप भने, “पालिकाले सामाजिक न्याय र मानव अधिकारका पक्षमा जीवन आहुती दिने परिवारहरूको साथमा सधैं रहनेछ। उनीहरूलाई सम्मान गर्ने काम मात्र होइन, व्यवहारिक सहयोग प्रदान गर्नु पनि हाम्रो कर्तव्य हो।” कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरू, कर्मचारी, सहिद परिवारका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो। गाउँपालिकाले सहिद तथा बेपत्ता परिवारको सम्मानमा प्रत्येक वर्ष कुनै न कुनै कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसपालि दैनिक उपयोगी सामग्री प्रदान गरेर गाउँपालिकाले उनीहरूप्रति सम्मान प्रकट गरेको छ।
