डा. केबी श्रेष्ठ परिवारको पवित्र कार्य : नीलसागरमा २१ हजार बढी नगद सहयोग
सिसहनियाँ ३ साउन । बुटवल निवासी डाक्टर कृष्णबहादुर (के.बी.) श्रेष्ठको परिवारद्वारा दाङको राप्ती गाउँपालिका–८, मिलनडाँडा स्थित नीलसागर सेवा आश्रमलाई नगद २१ हजार २ सय ५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।
शनिबार आश्रममै आयोजित कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको रोहबरमा डा. श्रेष्ठ, उहाँकी श्रीमती गंगाकुमारी श्रेष्ठ र छोरा डा. राजकृष्ण श्रेष्ठले उक्त रकम आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चौधरीलाई हस्तान्तरण गरे। समाजसेवाप्रति आफूहरु सधैं सकारात्मक भावनामा रहने बताउँदै श्रेष्ठ परिवारले निस्वार्थ सेवामा समर्पित संस्थासँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको उल्लेख गरे। उनीहरुले समाजमा उदाहरणीय कार्य गर्दै आएका संस्थालाई सकेसम्म साथ र सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले डा. श्रेष्ठ परिवारको समर्पण र योगदान समाजका लागि प्रेरणादायी रहेको बताए । यस्ता सहयोगबाट संस्थाहरूलाई थप हौसला मिल्ने र सामाजिक उत्तरदायित्वप्रति जनचेतना फैलिने विश्वास उनले व्यक्त गरे। कार्यवाहक अध्यक्ष चौधरीले डा. श्रेष्ठ परिवार प्रति आभार व्यक्त गर्दै आश्रमको सेवा विस्तारमा यस्तो सहयोगले उल्लेख्य योगदान पुग्ने बताए । उनले आश्रम सञ्चालनमा सहयोगी हातहरूको आवश्यकता रहने भन्दै सबैमा साथ र सहयोगको अपिल गरे। हाल आश्रममा २३ पुरुष र ५ महिला गरी २८ जना आश्रित रहेका छन्।

