नसर्ने रोगहरु तीब्र गतिमा बढीरहेको छ, आहारविहारमा ध्यान दिनुहोस् : स्वास्थ्य मन्त्री सारु



नसर्ने रोगहरु तीब्र गतिमा बढीरहेको छ, आहारविहारमा ध्यान दिनुहोस् : स्वास्थ्य मन्त्री सारु

सिसहनियाँ ३ साउन । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले पछिल्लो ३ वर्ष यता नसर्ने रोगहरु तीब्र गतिमा बढिरहेको बताएका छन् ।

शनिवार दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा राप्ती गाउँपालिका, स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको) र ओसिसारा स्वास्थ्य परामर्श केन्द्र बुटवलको संयुक्त आयोजना तथा ए वान केपीएल हेल्थ डायग्नोस्टिक्स, लुम्बिनी राउण्ड टेबल १६ क्लब र सिसहनियाँ उद्योग वाणिज्य संघको सहकार्यमा महिलाहरुका लागि पाठेघरको मुखको क्यान्सर जाँच तथा परामर्श शिविर उद्घाटन समारोहमा बोल्दै मन्त्री सारुले सो कुरा बताएका हुन्। मन्त्री सारुले लुम्बिनी प्रदेशमा मात्र ३ वर्षको अवधीमा क्यान्सरका १२ सय २४ बिरामीबाट बढेर ३६ सय २३ जना बिरामी पुगेको र यसबाट प्रदेशबाट करोडौं रकम खर्च गर्नु परिरहेको बताए । उनले भने, यदि त्यो रकम खर्च गर्न नपरेको भए विभिन्न अस्पतालहरुमा सेवा थप गर्ने, नसर्ने रोगका विषयमा धेरै काम गर्न सकिन्थ्यो तथापी मुटु तथा क्यान्सर रोगको समेत जोड्दा करिव २९ करोड रुपैयाँ आर्थिक वर्ष २०८१÷०८२ मा प्रदेश सरकारको पैसा खर्च भएको बताए।

मन्त्री सारुले नसर्ने रोगहरूको जोखिम बढिरहेकाले यस्ता रोगहरूको प्रारम्भिक पहिचान तथा रोकथामका लागि स्वास्थ्य शिविरहरू आवश्यक रहेको धारणा व्यक्त गरे । उनले भने, “अब उपचार भन्दा पनि रोकथामलाई प्राथमिकता दिनुपर्छ । यस्ता शिविरहरूले रोगको सुरुवाती अवस्था पत्ता लगाउन मद्दत गर्छन्, जसले उपचारलाई सहज र कम खर्चिलो बनाउँछ ।” त्यस्तै मन्त्री सारुले नसर्ने रोगबाट बच्न स्वास्थ्य शिक्षा, खानपिन र जीवनशैली सुधारमा पनि ध्यान दिनुपर्ने बताउँदै प्रदेश सरकारले समेत यस्ता किसिमका अभियान सञ्चालन गरिरहेको बताए । मन्त्री सारुले प्रदेश सरकारले मुटु, मिर्गौला र क्यान्सर जस्ता दीर्घरोगहरूको निशुल्क उपचारका लागि अधिकतम २ लाख रुपैयाँ सम्मको सहायता उपलब्ध गराउँदै आएको जानकारी समेत दिए। साथै आगामी दिनमा स्वास्थ्य पूर्वाधार सुदृढीकरण, जनचेतना अभिवृद्धि र नियमित स्वास्थ्य परीक्षण कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाइने उल्लेख गरे ।

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा अध्यक्ष विष्टले पछिल्लो समय महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै समयमै पहिचान गरी क्षति न्यूनीकरण गर्न पालिकाले अभियानकै रूपमा यस्ता शिविरहरू सञ्चालन गर्दै आएको जानकारी दिए। उनले भने, “स्वास्थ्य नै सम्पत्ति हो भन्ने मान्यतालाई व्यवहारमा उतार्दै रोग लागेपछि होइन, लाग्न नदिनेतर्फ केन्द्रित हुनुपर्छ । समयमै परीक्षण गरिए दीर्घरोगहरूबाट बच्न सकिन्छ ।” अध्यक्ष विष्टले शिविरमा सहयोग पु¥याउने सम्पूर्ण संस्था, चिकित्सक र स्वास्थ्यकर्मीहरूप्रति आभार प्रकट गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, वडा नं. ५ का अध्यक्ष देवप्रसाद चौधरी, वडा सदस्य गोविन्द बहादुर कुँवर क्षेत्री, रोशन चौधरी, ओसिसारा केन्द्रका सल्लाहकार सूर्यकुमार श्रेष्ठ, व्यवस्थापक गंगा कुमारी श्रेष्ठ, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद अधिकारी, स्वास्थ्य शाखा प्रमुख नारायण राउत,राप्ती आधारभूत अस्पतालका प्रशासन प्रमुख धन बहादुर खड्का,मेसु डा.श्रवण चौधरी, हिको संस्थाका अध्यक्ष गरिबु चौधरी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

शिविरमा १ सय ७८ जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको आयोजकले जनाएको छ । शिविरमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रायश्चित श्रेष्ठ, डा. शर्मिला शर्मा, नाक–कान–घाँटी रोग विशेषज्ञ डा. के.बी. श्रेष्ठ, रेडियोलोजी विशेषज्ञ डा. तृष्णा श्रेष्ठ, जनरल सर्जन डा. नविन श्रेष्ठ, हाडजोर्नी तथा बाथरोग विशेषज्ञ डा. राजकृष्ण श्रेष्ठ, प्याथोलोजिस्ट डा.आदर्श कुमार झुनझुनवाला, स्वास्थ्यकर्मी रजनी राना, एलिना गुरुङ, बीनिता थापा , शुष्मा श्रेष्ठ लगायतको चिकित्सकहरुको टोलीले सेवा प्रदान गरेका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्यकर्मी रामराज पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे