सशस्त्र प्रहरी ज्वालामाई गण भालुवाङकाे २१ औँ स्थापना दिवस : दुई दर्जन बढी सशस्त्र प्रहरीहरू सम्मानित
भालुवाङ २ साउन । सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण हेड क्वाटर ज्वालामाई भालुवाङकाे २१ औँ स्थापना दिवस आज शुक्रबार विभिन्न कार्यक्रम गरी गण परिसर भालुवाङमा सम्पन्न भएकाे छ । गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक एसपी मनोजकुमार धितालकाे अध्यक्षतामा एवम् सशस्त्र प्रहरी बल, नेपाल नं. ५, बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीका सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुवँरकाे प्रमुख आतिथ्यतामा मनाईएकाे हाे ।
साे अवसरमा बाेल्दै प्रहरी नायब महानिरीक्षक कुवँरले सशस्त्र प्रहरीले नागरिकहरूकाे अपेक्षा अनुसार कार्य सम्पादन गर्ने बताए । उनले सशस्त्र प्रहरीले नागरिकका हरेक दुखसुखमा साथ रहने नागरिक संग हातेमालाे र सहकार्य गर्नेमा प्रतिबद्ध रहेकाे समेत बताए । सम्बोधनका क्रममा वाहिनीपति कुँवरले सशस्त्र प्रहरीले सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा राजस्व चुहावट नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरिरहेको बताए । उनले जस्तोसुकै परिस्थितिमा पनि शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सशस्त्र प्रहरी सधैं तत्पर रहेको उल्लेख गरे । विपद् व्यवस्थापनका क्षेत्रमा अझै सक्रियताका साथ कार्य गर्न मातहत इकाईहरूलाई निर्देशन समेत दिए ।
महानिरीक्षक कुवँरले अहिले देशभर मनसुन सक्रिय रहेकाेले जुनसकै बेला जहाँ पनि विपत्त आईपर्ने बताउँदै विपत्त प्रतिकार्यका लागि सशस्त्र पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिए । खाेज, उद्धारका लागि प्रर्याप्त स्राेत साधन नभएपनि जे जति जुन अवस्था छ, ती सबै सामाग्री तयारी अवस्थामा राख्न समेत निर्देशन दिए ।
त्यस्तै कार्यक्रमलाई सम्बाेधन गर्दै दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा अत्यन्त प्रभावकारी भूमिका निर्वाह गर्दै आएकाे बताए । साथै उहाँले अहिले पनि विपत्त प्रतिकार्यका लागि पनि सशस्त्र प्रहरी बन्दाेबस्तीका सामाग्री सहित आवश्यक तयारीमा रहन निर्देशन दिए ।
गणले अमर सशस्त्र प्रहरी शहीदप्रति सम्मान स्वरूप शहीद स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै समारोहको सुरुवात गरेको थियो । सो अवसरमा व्यवसायिक प्रतियोगितामा विजयी हुने तथा रक्तदान गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई पदक र प्रमाणपत्र वितरण गरिएको थियो । त्यसैगरी विविध सांस्कृतिक प्रस्तुति, हाजिरी जवाफ तथा खेलकुद प्रतियोगितामा प्रथम हुनेहरूलाई पनि सम्मान गरिएको थियो । उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई प्रशंसा-पत्र तथा सेवा निवृत्त कर्मचारीहरूलाई कदर-पत्र प्रदान गरिएको थियो । अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारजनलाई समेत दाेसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो । स्थापना दिवसकाे अवसरमा केके समेत काटिएकाे थियाे भने शान्तिका प्रतीक एक जाेडी परेवा समेत उडाईएकाे थियाे ।
स्थापना दिवस समाराेहमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, विभित्र संघसंस्था तथा पत्रकारहरूकाे समेत उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन सशस्त्र प्रहरी नायब उपरिक्षक ईश्वर डिसीले गरेका थिए ।
वि.सं. २०६१ सालमा दंगा प्रहरीका रूपमा स्थापना भएकाे यस गण तालिम केन्द्र हुँदै सशस्त्र प्रहरी बल ज्वालामाई गणका रूपमा स्थापना भएकाे थियाे । तत्कालिन शाही सरकारकाे पालामा सशस्त्र बिद्राेही संग सामना गर्न सशस्त्र प्रहरीका रूपमा स्थापना गरिएकाे थियाे । हाल ज्वालामाई गणले दाङ जिल्लाको ८३ किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा सुरक्षाका साथै समग्र जिल्लाको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी वहन गर्दै आएको छ । नेपाल–भारत सिमावर्ती क्षेत्रमा नेपालतर्फबाट १४ वटा सीमा सुरक्षार्थ इकाई तथा अन्य ३ वटा गरी कुल १७ वटा सुरक्षा इकाईहरू परिचालित रहेका छन् ।

