कमैया मुक्त भएको २५ वर्ष पुरा : पुनः स्थापनाको प्रतीक्षामा मुक्त कमैयाहरू
देउखुरी २ साउन । लुम्बिनी प्रदेशस्तरीय २५औँ मुक्त कमैया दिवस दाङको लमहीमा विशेष कार्यक्रमका साथ सम्पन्न गरिएको छ । मुक्त कमैया समाजले दिवसको मूल समारोहको आयोजना गरेको हो ।
दिवसको अवसरमा विभिन्न जिल्लाबाट सहभागी भएका मुक्त कमैयाहरूले ¥याली सहित नगर परिक्रमा गरेका थिए । नगर परिक्रमा पछि कार्यक्रम लमहीस्थित सार्वजनिक बगैचामा सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बाँकी रहेका मुक्त कमैयाहरूको पुनःस्थापना प्रक्रिया अझै अपूरो रहेको भन्दै संघीय सरकारले गम्भीर जिम्मेवारी लिनुपर्ने धारणा राखे । उनले भने, ‘समस्या जटिल छ । सरकारले यसलाई गम्भीर रूपमा लिनुपर्छ । कमैयाहरूको आन्दोलनकै कारण मुक्ति दिइएको हो । पुनःस्थापनाका लागि पनि हामीले ठूलो आन्दोलन गरेका थियौं । त्यसको फलस्वरूप केही कमैयाहरूले जग्गा पाए । तर अझै समस्या समाधान भएको छैन ।’ चौधरीले करिब २८ हजार मुक्त कमैयाले लालपुर्जा पाएको जानकारी दिँदै सबैको लालपुर्जा एकरूप र जग्गा वासयोग्य नभएको बताए । उनले थपे, ‘कतै लालपुर्जा पाए पनि जग्गा बस्नयोग्य छैन । सरकारले अब गम्भीरतापूर्वक लिन जरुरी छ । हामी अहिले सत्तामा छौं । हाम्रो जस्तो मान्छे फेरि सरकारकै विरोधमा उत्रनुपर्ने दिन आउनुहुँदैन ।’
पूर्व मुख्यमन्त्री चौधरीले प्रदेश सरकारसँग अधिकार नभएको र जग्गा संघीय सरकारको मातहतमा रहेको उल्लेख गर्दै संघीय सरकारले या त प्रदेश सरकारलाई अधिकार दिनुपर्ने, या आफैँले पुनःस्थापनाको काम अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । सभामा उपस्थित वक्ताहरूले पुनःस्थापनाको काम शीघ्र टुंग्याउन, छुट कमैयाको लगत संकलन गरी परिचयपत्रको व्यवस्था गर्न, जीविकोपार्जन तथा आयआर्जनका कार्यक्रम सञ्चालन गर्न, स्वास्थ्य, शिक्षा र रोजगारको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । लुम्बिनी प्रदेशको दाङमा ४ हजार ८ सय ११ मुक्त कमैया रहेकोमा ७ सय ५ जनाको पुन स्थापना भएका छन् भने पुन स्थापना हुन बाँकी रहेका २९ जना रहेका छन् । त्यस्तै १ हजार ४ सय २६ जनाले परिचय पत्र प्राप्त गरेका छन् भने ३ हजार ३ सय ८५ जना छुट कमैया रहेका छन् । यस्तै बाँकेमा १ हजार ९ सय २१ मुक्त कमैया रहेकोमा १ हजार ८ सय ८३ जनाको पुन स्थापना भएको छ भने पुन स्थापना हुन बाँकी रहेका ३८ जना रहेका छन् । यस्तै बर्दियामा १६ हजार २ सय ६२ मुक्त कमैया रहेकोमा १० हजार ७ सय ९७ जनाको प्रमाणीकरण भएको छ । जस मध्ये १० हजार ७ सय ३२ जनाको पुन स्थापना भएको छ भने पुन स्थापना हुन बाँकी रहेका १२ जना रहेका छन् । र १३ जना सट्टाभर्ना दिनुपर्ने रहेको छ ।
कार्यक्रममा कमैया महिला जागरण समाजका केन्द्रीय अध्यक्ष तथा लुम्बिनी प्रदेशका संस्थापक उपसभामुख कृष्णी थारू, घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसी, राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, मुक्त कमैया समाज बाँकेका अध्यक्ष मेवालाल थारू, बर्दियाका अध्यक्ष दुखराम थारू, मुक्त कम्लहरी विकास मञ्च दाङका अध्यक्ष हिरामोती चौधरी, कमैया महिला जागरण समाज दाङकी अध्यक्ष सुनरूपी चौधरी, लमही नगर अध्यक्ष डम्बर बहादुर पुन लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम मुक्त कमैया समाज लुम्बिनीका अध्यक्ष जागेश्वर चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन सोमलाल चौधरीले गरेका थिए ।

