नेपाल उद्योग व्यापार महासंघको स्थापना दिवस : निलसागरलाई ५० हजार बराबरको सहयोग
भालुवाङ ३१ असार । दाङ स्थित नेपाल उद्योग व्यापार महासंघ राप्ती गाउँपालिका र लमही नगरपालिका समितिले महासंघको चौथो स्थापना दिवसको अवसरमा नीलसागर सेवा आश्रमलाई ५० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ।
महासंघले आफ्ना सदस्यहरू मार्फत रकम संकलन गरी राप्ती गाउँपालिका–८ मिलनडाँडा स्थित आश्रममा आश्रित बेसहारा नागरिकहरूका लागि दैनिक जीवन उपयोगी सामग्रीहरू हस्तान्तरण गरेको हो । संघले आश्रमलाई १ थान सोफा सेट, २९ थान प्लास्टिक कुर्सी, १ थान टी–टेबल, ७५ केजी चामल, ५ लिटर तेल, ७ केजी दाल, २ क्यारेट केरा, विभिन्न तरकारी सामग्री तथा नगद २ हजार ७ सय रुपैयाँ सहयोग गरेको छ। सहयोग कार्यक्रम राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको रोहबरमा सम्पन्न भएको थियो। सहयोग सामग्री महासंघका केन्द्रीय सदस्य बसन्त गिरी, लुम्बिनी प्रदेश उपाध्यक्ष एवं राप्ती गाउँपालिका अध्यक्ष गन्जबहादुर विष्ट, प्रदेश सदस्य चुरामणी बेल्बासे, दाङ जिल्ला उपाध्यक्ष माधव भुसाल, लमही नगरपालिका समितिका अध्यक्ष नारायण भुसाल लगायतले आश्रमकी सेविका टिका मल्ललाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मानवताको कुनै सिमा नहुने बताउँदै मानव सेवा नै सबैभन्दा पवित्र कर्म भएको उल्लेख गरे। “समाजमा रहेका बेसहारा, असहाय र जेष्ठ नागरिकप्रतिको सहानुभूति नै हाम्रो मानवीय दायित्व हो,” उनले भने।
त्यस्तै महासंघका केन्द्रीय सदस्य बसन्त गिरीले स्थापना दिवसलाई सेवा र समर्पणको अवसरका रूपमा लिएको उल्लेख गर्दै, महासंघ सामाजिक उत्तरदायित्वप्रति प्रतिवद्ध रहेको बताए। “व्यापार र व्यवसायसँगै समाजप्रतिको दायित्व पनि हामीले बिर्सनु हुँदैन,” उनको भनाइ थियो। कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका विभिन्न तहका पदाधिकारी, व्यवसायी, समाजसेवीहरुकाे उपस्थिति रहेको थियो।यसै बीच राप्ती गाउँपालिका–१ भालुबाङ निवासी समाजसेवी नारायण शर्माले वडा नं. २ कठाहा निवासी आफ्ना ससुराबुवा स्व. सुर्जप्रसाद अधिकारीको १३ दिने पुण्य तिथिको अवसरमा आश्रममा आश्रित सबैलाई भोजन गराएका थिए। हाल आश्रममा २३ जना पुरुष र ५ जना महिला गरी २८ जना बेसहाराहरु आश्रित रहेका छन्।
