युवालाई रोजगारी दिने गरि सीपमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छाैं : अध्यक्ष विष्ट



युवालाई रोजगारी दिने गरि सीपमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छाैं : अध्यक्ष विष्ट
भालुवाङ ३० असार। दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्यम क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै युवालाई गाउँमै रोजगारी दिने गरि पालिकाले विभिन्न सीपमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको बताएका छन् ।
राप्ती गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा  उद्यमशीलता प्रवर्द्धन, निजी क्षेत्रको भूमिका र रोजगारी नीतिका विषयमा सोमबार गाउँपालिकामा आयोजित रोजगार संवाद कार्यक्रम बोल्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् । उनले भने, “गाउँमा बस्ने हरेक युवामा केही न केही प्रतिभा र सम्भावना हुन्छ। राज्यको जिम्मेवारी भनेको तिनलाई प्रोत्साहन गर्ने, तालिम दिने र काममा जोड्ने हो। हामी यही आधारमा योजनाहरू अगाडि बढाइरहेका छौँ।” अध्यक्ष विष्टले स्वदेशमै केही गर्न चाहने युवाहरूका लागि स्थानीय स्तरमै रोजगारीको प्रशस्तै सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि निजी क्षेत्रको सहकार्य, युवाको सिर्जनशीलता तथा परिश्रमलाई संस्थागत गर्न राज्यले रोजगारमैत्री नीति अवलम्बन गर्नुपर्ने  धारणा व्यक्त गरे। अध्यक्ष विष्टले “राप्तीका युवा र महिला, उद्यमशीलता पहिला” कार्यक्रमअन्तर्गत सञ्चालित तालिमहरूबाट पालिका भित्रै नेपाली कागज, कपडा, गार्मेन्ट, धूप उद्योग जस्ता उद्योगहरू स्थापना भइसकेको जानकारी दिँदै भने, “स्थानीय स्रोत र साधनको पहिचान गरेर उत्पादन र रोजगारीलाई जोड्न सकेमा गाउँमै बसेर पनि आत्मनिर्भर बन्न सकिन्छ। हाम्रो प्राथमिकता पनि यही हो।” उहाँले सरकार र निजी क्षेत्रका व्यवसायहरूबीच समन्वय र साझेदारी अपरिहार्य रहेको बताए।
त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले युवाहरूमा काम गर्ने इच्छाशक्ति भए अवसर आफैं सिर्जना गर्न सकिने धारणा राखिन्। उनले भनिन्,“म पूर्व कम्लहरी, मजदुर र किसान पनि हुँ, तर आज जनप्रतिनिधिका रूपमा सेवा गरिरहेकी छु। काम गर्न इच्छाशक्ति चाहिन्छ, अवसरका लागि मात्र कुर्दा स्वदेशमै टिक्न गाह्रो हुन्छ।” उहाँले राज्यले बाटो देखाउने भए पनि काम गर्ने व्यक्ति आफैं भएको र उद्यमका लागि केही न केही लगानी गर्नुपर्ने धारणा राखिन्। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले सीमित स्रोत साधनका बाबजुद गाउँपालिकाले रोजगारी सिर्जनामा सक्रिय भूमिका निर्वाह गरिरहेको बताए।
यता सञ्चालनमा रहेका साना उद्योगहरू उत्पादन गर्न सफल भए पनि उत्पादित वस्तुले बजार नपाएको व्यवसायीहरूले गुनासो छन् । तालिम र उपकरण पाएर सुरु गरिएको उत्पादन व्यवसाय बजारको अभावमा संकटमा परेको उनीहरूको गुनासो छ । राप्ती गाउँपालिकाका विभिन्न वडामा सञ्चालित दुनाटपरी, सावुन तथा धुप देखि उत्पादित वस्तुले वस्तुले बजार नपाउँदा उद्योग चलाउन समस्या पर्ने गरेको व्यवसायीहरूले बताएका छन् । स्थानीय सरकारले उद्यमशीलता प्रवर्द्धन गर्न विभिन्न सीपमूलक तालिम र प्रारम्भिक सहयोग उपलब्ध गराए पनि बजारीकरणको योजनाबद्ध नीति नहुँदा समस्या थपिएको व्यवसायीहरूको भनाइ छ । कार्यक्रममा सहभागी सरोकारवालाहरूले युवामैत्री नीति निर्माण, सीपको अभिवृद्धि, लगानीको प्रोत्साहन, उत्पादनको बजारीकरण, सहकार्य र अनुगमन संयन्त्रको सुदृढीकरणलगायत विषयमा विचार प्रस्तुत गरेका थिए।
रोजगार सेवा केन्द्रका संयोजक मुमाराम भुसालले पालिकाले सूचना,सीप विकास तथा व्यवसायीक तालिम, समन्वय र सहजीकरणमार्फत रोजगारमैत्री वातावरण निर्माणमा जोड दिएको बताए । कार्यक्रममा स्थानीय उत्पादन, बजारीकरण, सीप विकास तथा व्यवसायीक तालिम, उद्यम स्थापना, सरकारी संयन्त्रको भूमिका, युवा रोजगारीको अवसर र चुनौती लगायत विषयमा छलफल गरिएको थियो। कार्यक्रममा उद्योगी, व्यवसायी, रोजगारदाता, सञ्चारकर्मी तथा सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण रोजगार सहायक सीता पौडेलले गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे