मार्क्सवाद : एक नयाँ पाठकका लागि सरल व्याख्या



मार्क्सवाद : एक नयाँ पाठकका लागि सरल व्याख्या

आजको सन्दर्भमा पनि जब हामी गरिबी, बेरोजगारी, सामाजिक असमानता, श्रमिक अधिकार, महिलाको अधिकार, शिक्षा, स्वास्थ्य, र जीवनस्तरका बारेमा सोच्दछौं, तब मार्क्सवादका विचारहरू अझै पनि सान्दर्भिक देखिन्छन् । श्रमको मूल्य के हो ? नाफाको स्रोत के हो ? समाजमा समृद्धि कसले सिर्जना गर्छ ? को लाभ लिन्छ ? यी सबै प्रश्नहरूको उत्तर खोज्न मार्क्सवाद उपयोगी हुन सक्छ ।

यहाँ मार्क्सवादको आधारभुत कुरा भन्दा पनि यसको बारेमा मिनिमम ज्ञान् लिन चाहाने नया पाठकलाइ केन्द्रीत गरेर धेरै अध्ययनको रुचि नराख्ने पाठकलाइ रुचि जगाउने उदेश्यले सरल र छोटो ब्याख्या मात्र गरिएको छ । मार्क्सवाद भन्नाले यस्तो विचारधारालाई बुझिन्छ जसले समाज, अर्थतन्त्र, राजनीति र इतिहासको विश्लेषण एक विशेष कोणबाट गर्छ । यसको मूलमा वर्ग संघर्षको विचार छ । समाजमा दुई मुख्य वर्ग हुन्छन् : एक वर्गसँग सम्पत्ति, शक्ति र उत्पादनका साधनहरू हुन्छन; अर्को वर्गसँग केही हुँदैन र उसले श्रम गरेर जीवन धान्नुपर्छ ।

मार्क्सवादको सुरुवात जर्मनीका विचारक कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले १९औँ शताब्दीमा गरे । उनीहरूले देखेका थिए की पूँजीवादी समाजमा श्रमिकहरू शोषणमा परेका छन्, धनी अझ धनी बन्दै गएका छन् र गरिबको जीवन झन् कष्टकर बन्दै गएको छ । यो अन्यायपूर्ण अवस्था कहिलेसम्म रहने ? परिवर्तन कसरी सम्भव छ ? यस्तै प्रश्नहरूको उत्तर खोज्दै गर्दा उनीहरूले विकास गरेका विचार नै मार्क्सवाद हो ।

कार्ल मार्क्सले भनिरहेका थिए की इतिहास सधैं वर्ग संघर्षको इतिहास हो। पहिले दास र मालिकबीच संघर्ष थियो, पछि सामन्त र किसानबीच अहिले श्रमिक र पूँजीपति बीच संघर्ष जारी छ । समाज सधैं परिवर्तनमा रहन्छ, र त्यो परिवर्तनको प्रमुख शक्ति भनेको वर्ग संघर्ष नै हो । जब उत्पीडित वर्ग एकजुट हुन्छ, तब पुरानो सामाजिक संरचना भत्किन्छ र नयाँ प्रणालीको जन्म हुन्छ ।

मार्क्सको विचारमा, श्रमिक वर्गले आफूमाथि भइरहेका शोषण र अन्यायको पहिचान गर्नुपर्छ । उनीहरू जागरूक भएर संगठित हुन्छन्, लड्छन् र अन्ततः सत्ता हातमा लिएर सबैलाई समान अवसर र जीवन सुनिश्चित गर्ने व्यवस्था बनाउँछन् । मार्क्सवादको अन्तिम लक्ष्य एक यस्तो समाज हो, जहाँ कुनै वर्ग हुँदैन, कोही शोषक हुँदैन र सम्पत्ति सबैको साझा स्वामित्वमा हुन्छ ।

मार्क्सवाद अनुसार आजको समाज पूँजीवादी प्रणालीमा आधारित छ । पूँजीवाद भन्नाले त्यस्तो व्यवस्था जसमा केही मानिससँग उत्पादनका साधनहरू हुन्छन्, जस्तैः कारखाना, जमीन, बैंक, उद्योग आदि । तिनीहरूले ती साधनहरू प्रयोग गरेर नाफा कमाउँछन्, तर नाफा कमाउनका लागि श्रमिकहरूको श्रम प्रयोग हुन्छ । श्रमिकहरूले तलब पाउँछन्, तर उनीहरूले सिर्जना गरेको मूल्यको एक ठूलो भाग पूँजीपतिले लिन्छन् । यही हो श्रमको शोषण ।

मार्क्सले यस प्रक्रियालाई “अतिरिक्त मूल्य“ (क्गचउगिक ख्बगिभ) सिद्धान्त मार्फत व्याख्या गरे । श्रमिकले दिनभर काम गर्छ, उसले उत्पादन गर्ने वस्तु वा सेवाको मूल्य धेरै हुन्छ, तर उसले पाउने तलब त्यसको एक अंश मात्र हुन्छ । बाँकी नाफा पूँजीपतिले राख्छ । यही शोषणका कारण समाजमा असमानता बढ्दै जान्छ, सामाजिक असन्तुलन पैदा हुन्छ, र अन्ततः विद्रोह जन्मिन्छ ।

मार्क्सले एउटा यस्तो प्रणालीको कल्पना गरेका थिए जुन पूँजीवादभन्दा पर हो, त्यो हो समाजवाद। समाजवादमा उत्पादनका साधनहरू निजी व्यक्तिको होइन, राज्य वा समुदायको स्वामित्वमा हुन्छ । श्रमिक वर्ग सत्ता चलाउँछ । सबै नागरिकहरूलाई शिक्षा, स्वास्थ्य, रोजगार, आवास आदि आधारभूत सुविधा समानरूपमा उपलब्ध हुन्छ । समाजवादको उद्देश्य हुन्छ, शोषणको अन्त्य र समानताको स्थापना ।

समाजवादपछि मार्क्सले कल्पना गरेको अर्को चरण हो साम्यवाद। यो सबैभन्दा परिष्कृत र आदर्श अवस्था हो, जहाँ कुनै वर्ग हुँदैन, कुनै सरकारको आवश्यकता हुँदैन, सम्पत्ति सबैको साझा स्वामित्वमा हुन्छ, र सबै मानिसहरू स्वतन्त्र, समान र सहकार्यमा आधारित जीवन बाँच्छन् । साम्यवादमा हरेक मानिसले आफ्ना क्षमता अनुसार योगदान दिन्छ र आवश्यकताअनुसार लिन्छ । यसलाई मार्क्सले भनेका थिए ““ँचयm भबअज बअअयचमष्लन तय जष्क बदष्ष्तिथ, तय भबअज बअअयचमष्लन तय जष्क लभभमक”

मार्क्सवादी विचार अनुसार समाजको विकास एक निश्चित प्रक्रियामा अगाडि बढ्छ । सुरूमा आदिम सामुदायिक समाज थियो जहाँ सबै कुरा साझा हुन्थे । पछि दास प्रथा सुरु भयो, त्यसपछि सामन्तवाद आयो, अनि पूँजीवाद। पूँजीवाद पछि समाजवाद आउँछ, अनि अन्ततः साम्यवाद। यो क्रम ऐतिहासिक भौतिकवाद भनिने सिद्धान्तमा आधारित छ, जसअनुसार समाजको रूपान्तरण भौतिक अवस्था र उत्पादन पद्धतिहरूको परिवर्तनसँग गाँसिएको हुन्छ ।

मार्क्सवाद केवल आर्थिक दृष्टिकोण होइन, यो एउटा सामाजिक आन्दोलन पनि हो । यसले श्रमिक, गरिब, महिलाहरू, जातीय अल्पसंख्यक जस्ता उत्पीडित वर्गहरूको मुक्तिको आवाज उठाउँछ । संसारका धेरै देशहरूमा क्रान्तिहरूको प्रेरणा यही विचारधाराबाट लिइएको छ । जस्तै, १९१७ मा रसियाको बोल्शेभिक क्रान्ति मार्क्सवादी सिद्धान्तमा आधारित थियो । त्यसपछिको दशक मै चीन, क्युबा, भियतनाम, उत्तर कोरिया आदि देशहरूले पनि मार्क्सवादलाई अपनाए ।

नेपालमा पनि मार्क्सवादको प्रभाव निकै गहिरो रहँदै आएको छ । नेपाल कम्युनिस्ट पार्टी २००६ सालमा स्थापना भएको थियो । समयक्रममा विभाजन, मिलन, आन्दोलन र सशस्त्र संघर्ष हुँदै पार्टीहरू परिवर्तन हुँदै गए । तर तिनीहरूको वैचारिक जरो भने मार्क्सवादमै थियो ।

आजको सन्दर्भमा पनि जब हामी गरिबी, बेरोजगारी, सामाजिक असमानता, श्रमिक अधिकार, महिलाको अधिकार, शिक्षा, स्वास्थ्य, र जीवनस्तरका बारेमा सोच्दछौं, तब मार्क्सवादका विचारहरू अझै पनि सान्दर्भिक देखिन्छन् । श्रमको मूल्य के हो ? नाफाको स्रोत के हो ? समाजमा समृद्धि कसले सिर्जना गर्छ ? को लाभ लिन्छ ? यी सबै प्रश्नहरूको उत्तर खोज्न मार्क्सवाद उपयोगी हुन सक्छ ।

मार्क्सले देखेको सपना थियो — एकजुट श्रमिक वर्ग, समान अवसर, र विभेदरहित समाज। यद्यपि संसारमा विविध परिस्थितिका कारण त्यस सपनालाई पूर्ण रूपमा व्यवहारमा उतार्न सकिएको छैन, तर त्यो सपना अझै पनि प्रेरणाको स्रोत भइरहेको छ ।

मार्क्सवाद कुनै समाप्त विचार होइन । यो लगातार छलफल, संशोधन र विकासको प्रक्रियामा रहेको विचारधारा हो । यसलाई व्यवहारमा उतार्ने तरिका देशको परिस्थिति, समय र सामाजिक संरचनासँग मेल खानुपर्छ। तर यसको मूल मर्म — न्याय, समानता र श्रमिकको मुक्ति — सबै युग र समाजमा सान्दर्भिक रहनेछ ।

श्रम नै सृष्टिको आधार हो । श्रमिक नै संसार निर्माण गर्ने मूल शक्ति हो । तर जबसम्म श्रमिकहरू सशक्त, संगठित र सचेत हुँदैनन्, तबसम्म उनीहरूको श्रमको मूल्य अरूले लिइरहन्छन् । मार्क्सवाद त्यसैको विरुद्ध आवाज हो । श्रमिकको चेतना, संगठित शक्ति र सामाजिक परिवर्तनको सपना हो ।

आज पनि संसारका कुना–कुनामा मानिसहरू समानताको खोजीमा छन् । कोही गरिबी हटाउने सपना देख्दैछन्, कोही विभेदको अन्त्य गर्न चाहन्छन्, कोही श्रमिक हकको लडाइँ लडिरहेका छन् । यी सबै सपना, संघर्ष र लक्ष्यहरूलाई मार्क्सवादले दिशा दिन सक्छ ।
मार्क्सवाद भन्नाले केवल एक पुस्तक पढ्ने कुरा होइन, यो त जीवन बुझ्ने तरिका हो । समाजलाई हेर्ने दृष्टि हो । अन्याय देखेर आँखा नझिम्क्याउने साहस हो । र त्यो साहस जब जन–जनमा फैलन्छ, तब मात्रै साँचो परिवर्तन सम्भव हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे