राप्तीमा ज्येष्ठ नागरिक र गर्भवती महिलाका लागि निशुल्क भिडियो एक्सरे सेवा प्रदान
सिसहनियाँ २८ असार । दाङको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिक र गर्भवती महिलाहरूका लागि शनिबार निशुल्क भिडियो एक्सरे सेवा प्रदान गरेको छ।
‘ज्येष्ठ नागरिकसँग अध्यक्ष’ कार्यक्रम अन्तर्गत वडा नं. ५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीमा उक्त सेवा सञ्चालन गरिएको हो।
शिविरमा ४७ जना ज्येष्ठ नागरिक र ४ जना गर्भवती महिला गरी ५१ जनाको नि:शुल्क भिडियो एक्सरे गरिएको थियो। स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक पदमप्रसाद पौडेलका अनुसार उक्त सेवा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. रामेश्वर देवकोटाद्वारा प्रदान गरिएको हो। डा. देवकोटाका अनुसार एक्सरे सेवाका क्रममा केही सेवाग्राहीमा मृगौला तथा पेटसम्बन्धी प्रारम्भिक समस्या देखिएको छ। “केही व्यक्तिमा मृगौला र पेटसम्बन्धी समस्या देखिएको पाइयो,” उनले भने, “उनीहरूलाई थप परीक्षण तथा आवश्यक उपचारका लागि सल्लाह दिइएको छ।”
उनले प्रारम्भिक चरणमै रोग पहिचान हुनु नै उपचारको पहिलो खुड्किलो भएको उल्लेख गर्दै भने, “गाउँघरमै यस्ता स्वास्थ्य शिविरहरू अत्यावश्यक छन्। नियमित परीक्षण नहुँदा धेरैले रोग लामो समयसम्म बोक्ने गरेका छन्, समयमै परीक्षण भएमा धेरै समस्या सजिलै समाधान गर्न सकिन्छ।” गाउँपालिका अध्यक्ष प्रकाश विष्टले यस्ता कार्यक्रमहरूलाई गाउँपालिकाले प्राथमिकताका साथ सञ्चालन गरिरहेको जानकारी दिए । “गाउँमै विशेषज्ञ सेवा पुर्याउने हाम्रो अभियान हो,” उनले भने, “विशेषगरी ज्येष्ठ नागरिक र गर्भवती महिलाजस्ता संवेदनशील समूहलाई लक्षित गर्दै यस्ता शिविरहरूलाई निरन्तरता दिने योजना छ।” स्वास्थ्य सेवा पहुँचलाई प्रभावकारी बनाउँदै लैजान तथा नियमित सेवा अभावमा समस्यामा परेका नागरिकलाई राहत दिने उद्देश्यले गाउँपालिकाले यस्ता शिविरहरू सञ्चालन गर्दै आएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्

