आदर्श नमूना लालमटियाको थप शैक्षिक सुधारका लागि सरोकारवालाहरू संग अन्तरक्रिया
भालुवाङ २८ असार । संविधानसभा सदस्य रश्मीराज नेपालीले नेपालको वर्तमान शिक्षा नै गलत रहेका कारण सामुदायिक विद्यालयको अवस्था सुधार हुन नसकेको बताएका छन् । दाङ–देउखुरीको राप्ती गाउँपालिका–२, लालमटिया स्थित आदर्श नमूना माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा विज्ञान बिषय तथा सञ्चालित अन्य बिषयमा विद्यार्थी भर्ना र व्यवस्थापन लगायतका बिषयमा विद्यालयमा आयोजित सरोकारवालाहरू संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।
सभासद् नेपालीले सामुदायिक विद्यालयको शैक्षिक सुधार लागि शिक्षा नीति परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले सामुदायिक विद्यालयको स्तर उन्नति हुन नसक्नुको प्रमुख कारण नेपालको वर्तमान शिक्षा निति रहेको जिकिर गरे । उनले शिक्षकहरूले लामो आन्दोलन गर्दा पनि सरकारले नयाँ शिक्षा नीति नल्याउनु दुःखद भएको बताए । सभासद् नेपालीले काँग्रेस एमाले गठबन्धनको सरकार शिक्षाप्रति जिम्मेवार बन्न नसकेको आरोप लगाए । विश्वको कुनै मुलुकमा नभएको अभ्यास नेपालमा भएको बताउँदै सभासद् नेपालीले शिक्षकहरूले आन्दोलन गरेर शिक्षा नीति बनाउनु र हामी माथि शासन गर भन्दा पनि सरकार शिक्षाप्रति निरही बनेको आरोप लगाए ।
सभासद् नेपालीले सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न शिक्षक, अभिभाबक र विद्यार्थी थप जिम्मेवार बन्नुपर्ने बताए । जब सम्म शिक्षक, अभिभाबक र विद्यार्थी जागरुक बन्दैनन् तब सम्म सामुदायिक विद्यालयको हालत यो भन्दा बढी सुधार हुन सक्दैन, त्यसका लागि स्थानीय, प्रदेश र संघ सरकारले अपन्त्व ग्रहण गर्नु पर्छ, सभासद् नेपालीले भने । अहिले विद्यार्थीहरूलाई देश र ईतिहास नपठाए कै कारण पछिल्लो समय युवाहरूमा राष्ट्रियता प्रतिको मोह हराउँदै गएको चर्चा गरे । भारतले सिमाना मिचेको र नेपालमा विभिन्न काल खण्डमा भएका राजनितिक परिवर्तनका बिषय बस्तु अहिलेको पाठ्यक्रमबाट हटाएकोमा उनले आक्रोश ब्यक्त गरे । अब विद्यार्थीहरूलाई ईतिहास र भुगोल नपढाए नेपाल बुझ्न नसक्ने टिप्पणी समेत गरे ।
उनले आदर्श स्कुल चलाए कै कारण जले बसेको अनुभव सुनाउँदै पहिलेको आदर्श र अहिलेको आदर्शमा धेरै फरक आएको टिप्पणी गरे । मैले यो स्कुलमा पढाउँदा एसएलसी देखि सबै कक्षा सबै विद्यार्थी सतप्रतिशत उत्कृष्ट अंक ल्याउथ्ये । अहिले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरू निकै कम पास हुने गरेको प्रति दुख व्यक्त गरे । यो स्कुल आफूले रगत पसिना बगाएर मात्र खुलेको स्मरण समेत गराए । आफूले रगत र पसिना बगाएर बनाएको आर्दश माविको पुरानो भवनको अहिलेको विद्यालय प्रशासनले संरक्षण नगरेको प्रति चरम अन्तुष्टि पोखे ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पहलवान चौधरीको अध्यक्षता एवम् संविधानसभा सदस्य रेश्मीराज नेपालीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश समाजिक विकास मन्त्रालयका शाखा अधिकृत बेगमबहादुर केसीको विशिष्ट आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै समाजिक विकास मन्त्रालयका शाखा अधिकृत केसी विद्यालयले विद्यार्थी रोकेर नभई रोजेर आउने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले अब सामुदायिक विद्यालय पनि संस्थागत विद्यालयहरू संग प्रतिस्पर्धा गर्न सक्ने गरी लाग्नु पर्ने बताए । सरकार सामुदायिक विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक पक्ष सुधारका लागि प्रतिबद्ध रहेको बताए ।
विद्यालयका प्रधानाध्यापक खेतुलाल पौडेलको स्वागत मन्तव्य तथा बिषय प्रबेशबाट शुरू भएको अन्तरक्रिया कार्यक्रमले विज्ञान बिषयलाई बिहानी सत्रमा सञ्चालन गर्ने, बिज्ञान संकाय तर्फ प्रत्येक बिषयका लागि २/२ जना योग्य शिक्षकको तयारी गर्नुका साथै विज्ञान बिषय सञ्चालनका लागि अभिभाबकहरू बाटै छुट्टै उप–समिती गठन गर्ने, विज्ञान विषयलाई निरन्तरता दिन ऐरावती क्याम्पसको भवन प्रयोग गर्ने, नतिजामा प्रतिबद्धता र प्रोत्साहनमा जोड दिने, विद्यालयको सकरात्मक पक्षमा तल्लो समुदाय सम्म सञ्चार गर्ने, विद्यालयको लेखा स्पष्ट, चुस्त, दुस्त बनाउने, विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न अतिरिक्त कक्षा सञ्चालन गर्ने, समुदाय संग निरन्तर अन्तरक्रिया गर्ने, प्रयोगात्मक शिक्षालाई बढि जोड दिने, समय सापेक्ष शिक्षण विधि तथा प्रबिधिको प्रयोग गर्ने र विद्यार्थी खोज्ने भन्दा रोज्ने विद्यालय बनाउने गरी निर्णय समेत गरेको छ ।
कार्यक्रममा ऐरावती आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष केशबराज खनाल, क्याम्पस प्रमुख बिक्रान्त ज्ञवाली, पूर्व विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्णप्रसाद आचार्य, शिक्षाप्रेमीहरू जगतप्रसाद पोख्रेल, मदन अधिकारी, भरतमणि न्यौपाने, किरण भण्डारी, राजकुमार आचार्य, पूर्व शिक्षकहरू दोर्णबहादुर जिसी, डिलाराम पौडेल, शिक्षकहरू केशबराज आचार्य, जिबराज शर्मा, सोही विद्यालयका शिक्षक रामकृष्ण पौडेल र पत्रकार सन्तोषकुमार गुप्ता लगायतका बक्ताले आ–आफ्नो सुझाब राखेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक बिष्णु पोख्रेलले गरेका थिए ।

