ज्ञानोदय माविद्धारा कक्षा ११ मा निशुल्क भर्ना : गरिव तथा विपन्न विद्यार्थीलाई राहत
भालुवाङ २५ असार । सामुदायिक विद्यालयहरुले कक्षा ११ र १२ मा विद्यार्थीहरुबाट भर्ना तथा मासिक शुल्क लिईरहेका हुन्छन् ।
तर दाङको राप्ती गाउँपालिकामा रहेको एक सामुदायिक विद्यालयले कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी यस वर्ष देखि निशुल्क भर्ना प्रक्रिया सुरु गरेको छ । शिक्षा पहुँचमा सबैलाई समान अवसर दिने उद्देश्यले विद्यालयले यस्तो निर्णय लिएको हो ।
राप्ती गाउँपालिका वडा नम्बर ६ पत्थरगढवामा रहेको ज्ञानोदय माध्यमिक विद्यालयले व्यवस्थापन र शिक्षा संकाय विषयमा कक्षा ११ का लागि भर्ना खुला गर्दै सबै विषयमा निशुल्क भर्नाको व्यवस्था मिलाएको विद्यालयका प्रधानाध्यापक बसन्तराज घिमिरेले जानकारी दिएका छन्। “गरिब, विपन्न तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूका लागि यो ठूलो राहत हुने छ,” उनले भने, “हाम्रो विद्यालय गुणस्तरीय शिक्षासँगै खेलकुद र अनुशासनमा राप्ती गाउँपालिकाको एक मात्र विद्यालय हो । जहाँ आर्थिक पहुँच नपुगेका विद्यार्थीहरूलाई पनि प्रोत्साहन दिने गर्दछौं ।”
राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कुमार चौधरीको विशेष पहलमा स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूको सहयोग तथा सहकार्यमा निशुल्क भर्नाको व्यवस्था गरिएको विद्यालयले जनाएको छ । नेपालको सविधान २०७२ ले मौलिक हक अन्र्तगत राज्यबाट आधारभुततह सम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यामिक तह सम्मको शिक्षा निशुल्क पाउने हकको व्यवस्था गरेको छ । तर उक्त विद्यालयले यस वर्ष देखी नै उच्च शिक्षा अन्र्तगत कक्षा ११ मा निशुल्क शिक्षा दिन थालेको छ । विद्यालयमा ग्रामिण स्तरका किसान, गरिव बर्ग, अति विपन्न परिवार, दलित लगाएतका समुदायहरुका बालबालिकाहरु पढ्न आउने भएकाले आर्थिक समस्यालाई मध्येनजर गदै निशुल्क शिक्षा प्रदान गरीएको हो ।
आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट बन्चित हुन नपरोस् भनेर यस्तो व्यवस्था गरिएको वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कुमार चौधरीले बताए । स्थानीय अभिभावक हरिचन्द्र चौधरीका अनुसार यस कदमले धेरै विद्यार्थीहरुलाई निजी विद्यालयमा जानुको सट्टा सामुदायिक विद्यालय रोज्न प्रेरणा दिने छ । “शिक्षा सबैका लागि भन्ने नारालाई व्यवहारमा उतार्न यो एउटा सराहनीय प्रयास हो,” उनले भने । विद्यालयमा अहिले पूर्वाधार, पुस्तकालय, प्रयोगशाला, कम्प्युटर कक्षा लगायतका सुविधा विस्तार गरिएको छ । निशुल्क भर्नाका लागि अभिभावक र विद्यार्थीहरूलाई विद्यालयमा सम्पर्क गर्न आग्रह समेत गरिएको छ । सामुदायिक विद्यालयहरूमा शिक्षा गुणस्तर र पहुँच दुवै सुधार गर्न यस्तो अभियान प्रेरणादायी बन्ने विश्वास लिइएको छ ।
