दाङकाे गढवामा शिक्षक दरबन्दी मिलानप्रति शिक्षक संगठनहरूको आपत्ति



दाङकाे गढवामा शिक्षक दरबन्दी मिलानप्रति शिक्षक संगठनहरूको आपत्ति

देउखुरी १९  असार । दाङको गढवामा शिक्षक दरबन्दी मिलानप्रति शिक्षक संगठनहरूको आपत्ति जनाएका छन् । विभिन्न शिक्षक संगठनहरुले आज बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त दरबन्दी मिलानप्रति आपत्ति जनाएका हुन् । गढवा गाउँपालिका शिक्षा समिति असार १८ गते पालिका भरि रहेका सामुदायिक विद्यालयहरुमा अध्यापनरत शिक्षक, शिक्षिकाहरुलाई स्थानान्तरण, पदस्थापन तथा काज सरुवा सरुवा गरेको थियो ।

शिक्षा समितीको उक्त निर्णय प्रति शिक्षक संगठनहरुलाई तत्काल निर्णय सच्याउन माग गरेका छन् । नेपाल शिक्षक संघ गढवाका अध्यक्ष ताराप्रसाद ढुंगाना, नेपाल राष्ट्रिय शिक्षक संगठन गढवाका अध्यक्ष बासुदेब पाण्डेय, एकिकृत अखिल नेपाल शिक्षक संगठन गढवाका अध्यक्ष ओमप्रकाश ज्ञवाली, अखिल नेपाल शिक्षक संघ गढवाका अध्यक्ष ठाकुरपैसाद खनाल र संघीय शिक्षक फोरम गढवाका अध्यक्ष अनिलकुमार यादवले सयुक्त रुपमा विज्ञप्ती जारी गरी उक्त दरबन्दी मिलानप्रति असहमति जनाएका हुन् ।

शिक्षक संगठनहरूको हालै गढवामा बसेको संयुक्त बैठकले गढवा गाउँपालिकाको स्थानीय राजपत्रमा प्रकाशित “स्थानीय दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०८०” को दफा ६ र ७ अनुसार दरबन्दी मिलान गर्न सिफारिस गरेको थियो । तर, शिक्षा समितिको पछिल्लो निर्णय कार्यविधिको मर्म र प्राथमिकता विपरीत, मनोमानी ढंगले गरिएको भन्दै शिक्षक संगठनहरूले चर्को असहमति जनाएका हुन् । उनीहरुले कार्यविधिमा प्रस्ट उल्लेख भएको प्राथमिकता क्रम अवलम्बन नगरी गरिएको सरुवा, काज सरुवा र पदस्थापन शिक्षकहरूको हकहितविरुद्ध रहेको ठहर छ ।

सो निर्णयले शिक्षामा अस्थिरता सिर्जना गर्ने भन्दै शिक्षक संघ–संगठनहरूले तुरुन्त निर्णय सच्याउन आग्रह विज्ञप्ती मार्फत आग्रह समेत गरेका छन् । यदि निर्णय फिर्ता लिएर नसच्याइए त्यसबाट उत्पन्न हुने समस्या, अस्थिरता र असन्तुष्टिको पूर्ण जिम्मेवारी गाउँपालिका कै हुनेछ, जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे