राप्तीका अध्यक्ष विष्ट र डा. श्रेष्ठद्वारा दुर्घटनाका घाइते चाैधरीलाई बीमा रकम भुक्तानी
भालुवाङ ११ असार । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र एडमण्ड सिटी अस्पताल बुटवलमा कार्यरत वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. राजकृष्ण श्रेष्ठले संयुक्त रूपमा दुर्घटनाका घाइते एक मजदुरलाई बिमा बाफतको रकम हस्तान्तरण गरेका छन् ।
पालिका भित्रका मजदुरहरूको सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले गत बैशाख महिनादेखि लागू गरिएको बीमा योजनाबाट पहिलोपटक प्रत्यक्ष लाभ लिने श्रमिक वडा नम्बर ३ मसुरियाका रामचन्द्र चौधरी बन्नु भएको छ। गत जेठ २ गते काम गर्ने क्रममा अचानक दुर्घटनामा परेका चौधरीको खुट्टामा गम्भीर चोट लागेको थियो।
उनको उपचारका क्रममा खर्च भएको ४८ हजार ९ सय ८७ रुपैयाँ बीमा रकम गाउँपालिकामार्फत भुक्तानी गरिएको हो। अध्यक्ष विष्टले आफुले पाउने सेवा सुविधा मध्येको मासिक ३३ हजार रकम मध्ये ३ हजार पार्टीको लेवी बाहेक बाँकी रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन् ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार, दुर्घटनापछि चौधरीलाई समयमै उपचार मिलाउन बीमा योजनाले महत्वपूर्ण भूमिका खेलेको छ। उनले भने, “काम गर्ने क्रममा घाइते हुनुभएका चौधरीलाई हामीले बीमामार्फत उपचार खर्च उपलब्ध गराएका छौँ। श्रमिक बीमा कार्यक्रममार्फत मजदुरलाई संकटको घडीमा साथ दिने हाम्रो प्रयास हो।”
राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट र वरिष्ठ हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ डा. श्रेष्ठको संयुक्त व्यक्तिगत लगानीमा गाउँपालिकाभित्र ८ सय ७८ जना मजदुरहरुकाे निःशुल्क रूपमा एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरिएको थियो। यस योजनाअन्तर्गत कुनै पनि मजदुर दुर्घटनामा परेमा उपचार खर्चको भार बीमा कम्पनीले व्यहोर्ने व्यवस्था गरिएको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा लागू गरिएको उक्त योजनाले मजदुरहरूलाई थप सुरक्षित बनाएको अध्यक्ष विष्टको भनाइ छ। बीमाको प्रक्रिया सरल र छरितो बनाइएको जनाइएको छ। बीमा पोलिसी अन्तर्गत मजदुरले सक्कली उपचार खर्चका बिल कागजातसहित बिमा कम्पनीमा पठाउनु पर्ने छ।
त्यहाँबाट रकम स्वीकृत भएपछि सोही अनुरूप लाभ भुक्तानी हुने व्यवस्था छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख विश्वदीप नेपालका अनुसार, पालिकाको पहलमा लागू गरिएको यो कार्यक्रम मजदुर सुरक्षाका दृष्टिले प्रभावकारी अभ्यास बनेको छ। उनले भने, “बीमा योजनाको प्रभाव तत्काल देखिन थालेको छ। पालिकाको नेतृत्वले देखाएको संवेदनशीलता अन्य स्थानीय तहले पनि अनुकरण गर्न सक्ने खालको छ।”
दुर्घटनाबाट घाइते भएका मजदुर रामचन्द्र चौधरीले आफूलाई प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यसले आफ्नो उपचार सहज बनेको बताउनुभयो। उनले भने, “खुट्टामा चोट लाग्दा निकै गाह्रो भयो। सुरुमा त खर्च कसरी व्यहोर्ने होला भन्ने डर लाग्यो। तर पालिकाबाट यति ठूलो सहयोग पाइएला भन्ने सोचेकै थिइनँ। बीमाबाट उपचार खर्च पाउँदा साह्रै राहत महसुस भएको छ।”
राप्ती गाउँपालिकाले आगामी दिनमा थप मजदुरलाई बीमाको पहुँचमा ल्याउने, बीमाको सीमा वृद्धि गर्ने र बीमाको प्रक्रिया अझ सहज बनाउने लक्ष्य राखेको जनाएको छ। स्थानीय तहले मजदुरहरु प्रति देखाएको यस्तो जिम्मेवारीपूर्ण व्यवहारले सामाजिक सुरक्षाको अभ्यासलाई व्यवहारमा रुपान्तरण गर्न सकिने विश्वास गरिएको छ। राप्ती गाउँपालिकाको यो प्रयासले मजदुरहरुमा विश्वास, सुरक्षा र सम्मानको भावना बढाएको छ भने अन्य पालिकाहरूलाई पनि सामाजिक उत्तरदायित्वप्रति गम्भीर हुन प्रेरणा दिएको छ।

