मेटमणि चौधरी विरुद्ध दर्ता गरिएको चेक अनादरको जाहेरी फिर्ता

दाङ ८ असार । नेकपा (एकीकृत समाजवादी)का सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध दर्ता गरिएको चेक अनादरको जाहेरी फिर्ता भएको छ।
चौधरीले रोल्पाका धात बुढामगरलाई साउन ६ गते ५ करोड ४० लाख रुपैयाँको चेक काटेका थिए। तर सो चेक नसाटिएको भन्दै बुढामगरले जिल्ला प्रहरी कार्यालय दाङमा हुलाकमार्फत जाहेरी दिएका थिए। यद्यपि, अनुसन्धानको क्रममा आइतबार दिउँसो हुलाकमार्फत उक्त जाहेरी फिर्ताको पत्र जिल्ला प्रहरी कार्यालय दाङमा आइपुगेको प्रहरीले जानकारी दिएको छ। दाङका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले आइतबार दिउँसो जाहेरी फिर्ता गर्न अर्को पत्र प्राप्त भएको पुष्टि गरे।
उनले भने,`हामीले जाहेरी दिने व्यक्तिलाई रकमको स्रोत खुलाउन बोलाएका थियौँ। तर उहाँ आउनुभएन। अहिले फेरि जाहेरी फिर्ताको पत्र आएको छ।´ जाहेरीपछि प्रहरीले बुढामगरलाई पटक–पटक रकमको स्रोत खुलाउन ताकेता गरेको थियो। तर उनी प्रहरीसमक्ष उपस्थित नभएपछि अनुसन्धान प्रक्रिया अगाडि बढ्न सकेको थिएन। सांसद चौधरीले एभरेस्ट बैंकको खाताबाट २०८१ साल पुस २६ गते बुढामगरलाई चेक दिएका थिए। तर उक्त चेकमा चौधरीको हस्ताक्षर फरक परेपछि तीनपटकसम्म चेक नसाटिएको थियो। त्यसपछि बुढामगरले बैंकिङ ऐनअनुसार सात दिनको सूचना निकाल्न निवेदन दिएका थिए। उक्त आधारमा बुढामगरले सांसद चौधरीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।