पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल लुम्बिनी प्रदेशको १५ बुँदे लालमटिया घोषणा पत्र जारी



पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल लुम्बिनी प्रदेशको १५ बुँदे लालमटिया घोषणा पत्र जारी

भालुवाङ ८ असार । पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल लुम्बिनी प्रदेशको १५ बुँदे लालमटिया घोषणा पत्र जारी गर्दै प्रदेश स्तरीय भेला सम्पन्न भएको छ ।

शनिबार दाङको देउखुरी स्थित ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका–२ लालमटियामा पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल लुम्बिनी प्रदेश समितिकोे प्रदेशस्तरीय भेला पछि आयोजित पत्रकार सम्मेलन मार्फत १५ बँदे लालमटिया घोषणापत्र जारी गरि भेला सम्पन्न गरेको हो । घोषणापत्र मार्फत गुणस्तरीय शिक्षाको विकास र विस्तारमा जनसमुदायको योगदानको उच्च मूल्याङ्कन सहित लुम्बिनी प्रदेशभरि छरिएर रहेका पब्लिक क्यम्पसहरुलाई समेटी नीतिगत समस्याको समाधानको लागि प्रदेश पब्लिक विश्वविद्यालय गठन गर्न माग गरेको छ । त्यस्तै कार्यरत जनशक्तिको स्तर निर्धारण, समुदाय र प्रदेश सरकारको सहकार्य हुनसक्ने वातावरण निर्माण गर्न, कार्यरत प्राध्यापक तथा कर्मचारीको पेसागत सुरक्षा, सम्मान, मर्यादा, र वृतिविकासको प्रत्याभूति हुने वातावरण सिर्जना गर्न, गैरन्यायिक निष्काशनलाई अन्त्य गरी विधिको शासन स्थापना गर्न माग गरेको छ ।

त्यस्तै प्रदेश सरकारका विकासका प्राथमिकताहरुलाई अनुसन्धानका कार्यसंग जोडेर दीर्घकालीन उपलव्धि हासिल गर्नका लागि प्रदेश सरकार र सामुदायिक क्याम्पसहरुका विचमा सहकार्यको वातावरण निर्माण गर्न, स्थानीय आवश्यकता र विशेषतालाई समेट्न सक्ने, देशको चौतर्फी विकासमा आवश्यक तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्तिको उत्पादनमा गुरुयोजना बनाएर कार्यान्वयन गर्न, कार्यरत जनशक्तिको स्वास्थ्य उपचारका लागि प्रारम्भ गरिएको योगदानमा आधारित विशेष कोशका लागि विजरकमको व्यवस्था गर्न, सामुद्रायिक क्याम्पसहरुमा कार्यरत जनशक्तिको विकासका लागि संघीय सरकारको वजेटमा व्यवस्था गर्नका लागि जनस्तरवाट दवाव सिर्जना गर्ने कार्यमा प्रदेश सरकारले नेतृत्वदायी कार्य गर्न पनि माग गरेको छ ।

सामुदायिक क्याम्पस सञ्चालनका लागि आवश्यक बजेट सरकारी निकायबाट नीतिगत रुपमा विनियोजन गर्ने व्यवस्था गर्न, कार्यरत जनशक्तिको वृतिविकासको लागि आवश्यक तालिम, छलफल तथा गोष्ठीहरु सबैमा पहुंचभित्र रहने गरी व्यवस्था गर्न, त्रिविद्वारा गरिने विभेदकारी व्यवहारको अन्त्य गर्न, लामो समयदेखि संचालनमा आएका परीक्षाकेन्द्र परिवर्तन तथा रद्द गरी सम्बन्धित पक्षलाई पर्न गएको भौतिक तथा मानसिक दवाव र तनाव सिर्जना गर्ने कार्यको अन्त्य गर्न, समयसान्दर्भिक रुपमा शिक्षालाई सवैको पहुँचमा पुर्याउनको लागि आवश्यकता अनुसार थप संकाय र विषय उपलब्ध गराउने कार्यलाई प्रमुख प्राथमिकतामा राख्न र लामो समय देखि संचालनमा आएका पब्लिक क्याम्पसमा अध्ययनरत गरिव, अपाङ्ग, दलितलगायत सबै किनारीकृत विद्यार्थीहरुलाई उच्च शिक्षाको पहुँच पुर्याउनको लागि छात्रवृतिको कोशमा वृद्धि गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे