लुम्बिनी प्रदेशका पत्रकारहरू संसदीय रिपोर्टिङ गर्न सिक्दै



लुम्बिनी प्रदेशका पत्रकारहरू संसदीय रिपोर्टिङ गर्न सिक्दै

भालुवाङ ५ असार । लोकतन्त्रको मेरुदण्ड मानिने संसद् जनप्रतिनिधिका आवाज बोकेको संस्था मात्रै होइन, जनताका आवश्यकता, सरोकार र सरकारका गतिविधि नियाल्ने केन्द्र पनि हो।

यस्तो संवेदनशील संस्थाको कार्यशैली, नीति निर्माण प्रक्रिया र बहसलाई समाज सम्म पुर्‍याउने काम पत्रकारहरूको काँधमा हुन्छ। तर, संसद्को भित्री संरचना, प्रक्रियागत पाटो र विविध पक्षबारे जानकारी बिना गरिने रिपोर्टिङ अपुरो मात्र होइन, भ्रामक पनि हुन सक्छ। यही चुनौतीलाई सम्बोधन गर्न लुम्बिनी प्रदेशका पत्रकारहरू अब संसदीय रिपोर्टिङको औपचारिक अभ्यासमा होमिएका छन्। सितगंगा नगरपालिका–८ सातमारा स्थित होटल इभरल्याण्डमा बिहिवार देखि सुरु भएको दुई दिने “संसदीय रिपोर्टिङ सम्बन्धी पत्रकारहरूको क्षमता अभिवृद्धि” तालिममा ४० बढी पत्रकारहरू सहभागी भएका छन्। लुम्बिनी प्रदेश सभा सचिवालयको सहयोग तथा संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको आयोजनामा सञ्चालित तालिमले पत्रकारहरूलाई संसदीय कार्यप्रणाली, बहसको प्रकृति, कानुनी प्रक्रिया र रिपोर्टिङका सूक्ष्म पक्षहरूमा ज्ञान दिन थालेको हो।

समाजका अध्यक्ष घनश्याम गाैतमको अध्यक्षतामा एवम्  लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीकाे प्रमुख आतिथ्यतामा  भएको कार्यक्रम उद्घाटन गर्दै सभामुख घर्तीले भने, “संसद् रिपोर्टिङ सधैं गहिरो अध्ययन, संवेदनशीलता र उत्तरदायित्वको विषय हो। संसद् जनताको नीतिगत आवाज उठ्ने थलो हो। त्यसलाई सुसंगत ढंगले लेख्न, विश्लेषण गर्न सक्ने पत्रकारको भूमिका अझै महत्वपूर्ण हुन्छ।” उनले संसदीय समाचार तयार गर्दा कम्तीमा पाँच महत्वपूर्ण पक्षहरूमा ध्यान दिनुपर्ने बताउनुभयो। ती पक्षहरूमा विधेयकको प्रकृति, बहसको सार, प्रतिनिधिको भूमिकालाई वस्तुगत रूपमा समेट्ने शैली, प्रक्रियाको बुँदागत विश्लेषण र लोकतान्त्रिक मूल्यको सम्मान जस्ता विषयहरू पर्ने अनुमान गर्न सकिने बताए। संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशका अध्यक्ष घनश्याम गौतमले तालिमको उद्देश्य पत्रकारहरूलाई संसद्काे समाचार लेखनमा दक्ष बनाउनु रहेको बताए। “पत्रकारहरूले संसद्को छलफल बुझ्न, सन्दर्भ जोड्न र नीति विश्लेषण गर्न सक्ने भइसकेपछि मात्रै गहिरो पत्रकारिता सम्भव हुन्छ,” गौतमले भने।

कार्यक्रममा प्रदेशसभा सचिव दुर्लभ कुमार पुन, संसदीय मामिला पत्रकार समाजका केन्द्रीय अध्यक्ष मनोज सत्याल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य र पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले संसदीय पत्रकारिताको अनुभव र आवश्यकताबारे धारणा राखेका थिए। कार्यक्रममा दाङ, बाँके, कपिलवस्तु लगायत जिल्लाका पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य समाजका उपाध्यक्ष केपी घिमिरेले राखेका थिए भने सञ्चालन महासचिव नारायण खड्काले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे