कोइलाबास नाकालाई प्रवेशद्धारको रुपमा विकास गर्न आवश्यक छ : प्रदेश सभा सदस्य विक



कोइलाबास नाकालाई प्रवेशद्धारको रुपमा विकास गर्न आवश्यक छ : प्रदेश सभा सदस्य विक

गढवा ३ असार । दाङ देउखुरीको गढवामा मंगलबार देखि प्रथम गढवा कृषि, पर्यटन, साँस्कृतिक तथा व्यापार मेला २०८२ सुरू भएको छ ।
गढवा उद्योग वाणिज्य संघको आयोजनामा मेला सुरू भएको हो । संघका अध्यक्ष ओमप्रकाश बस्यालको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभा सदस्य लोका विश्वकर्माको प्रमुख आतिथ्यतामा मेलाको उद्घाटन गरिएको हो । मेलाको उद्घाटन समारोहमा बोल्दै प्रदेश सभा सदस्य विश्वकर्माले कोइलाबास नाकालाई प्रवेशद्धारको रुपमा विकास गर्न आवश्यक रहेको बताएकी छिन् । देउखुरीको प्रमुख नाकाको रुपमा रहेको कोइलाबास नाकालाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा आफुले संसदमा कुरा उठाउने बताइन् । त्यस्तै उनले देउखुरी क्षेत्र कृषि उत्पादनको उर्वर भुमि रहेकोले सरकारले उत्पादन भएका कृषिजन्य वस्तुको बजारीकरणमा ध्यान दिनुपर्ने बताइन् । किसानले उत्पादन गरेका वस्तु बजारसम्म प¥याउने जिम्मा पनि सरकारले लिनुपर्ने उनले बताइन् । उनले यस्ता मेलाहरूले स्थानीय उत्पादन, संस्कृति र पर्यटनको प्रवद्र्धनमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्दै युवालाई स्वरोजगारतर्फ प्रेरित गर्न सकिने पनि उल्लेख गरिन् ।

कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले मेलालाई मर्यादित र शान्ति पुर्ण बनाउन सजगता अपनाउन र सचेत हुन सुझाव दिएका छन् । त्यस्तै अध्यक्ष शर्माले स्थानीय उत्पादन, पर्यटन क्षेत्रको विकास तथा अर्थतन्त्र चलाइमान बनाउन कोइलाबास नाका सुचारू गर्न सवैको पहल हुन आवश्यक रहेको बताए। नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष बालकृष्ण सुवेदीले नेपाल घुम्न आउने भारतीय पर्यटकहरूलाई यातायातमा सहज बनाउन प्रदेश सरकारलाई सुझाव दिए त्यस्तै उनले झोले व्यापारीहरूलाई नियन्त्रण गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, प्युठान उद्योग वाणिज्य संघका महासचिव झविन्द्र शर्मा, जनता समाजवादी पार्टी गढवाका अध्यक्ष महबुब अलि, राष्ट्रिय जनमोर्चा गढवाका अध्यक्ष कपिलदेव खनाल, गढवा गाउँपालिका ६ नम्बर वडा अध्यक्ष बिरबहादुर आले, व्यापार मण्डल तुलसीपुर भारतका अध्यक्ष श्याम अग्रहरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति सदस्य ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघका पुर्व अध्यक्ष रविलाल आचार्यको स्वागत मन्तव्यबाट सुरू भएको मेला उद्घाटन कार्यक्रमको सञ्चालन संघका कोषाध्यक्ष दुखहरण यादवले गरेका थिए ।

“स्थानीय उत्पादन, समृद्ध पालिका– उद्योग, पर्यटन र व्यवसायी समृद्धिको मेरुदण्ड” भन्ने मूल नाराका असार ३ गते देखि १२ गते सम्म जनता माध्यमिक विद्यालयको खेलमैदानमा मेला सुरु भएको छ । हरेक दिन बेलुका ५ बजे देखि राती १० बजे सम्म सञ्चालन भइरहेकोे मेलामा गढवा तथा राजपुरमा उत्पादित कृषि जन्य सामाग्रीहरुको प्रर्दशनी तथा बिक्री कक्ष, पशु प्रदर्शनी तथा बिक्री कक्ष, माटोको भाडा प्रदर्शनी तथा बिक्री कक्ष, गढवा र राजपुर क्षेत्रका पर्यटकीय स्थलको जानकारी कक्ष, गड्यौला मल प्रदर्शनी तथा बिक्री कक्ष, सिपमुलक तालिम प्राप्त गरि सकेपश्चात यस क्षेत्रमा खोलिएका विभिन्न उद्योगबाट उत्पादित सामाग्री प्रर्दशनी तथा बिक्री कक्ष समेत राखिएकोे छ । मेलामा झण्डै १ सय बढी स्टलहरु रहेका छन् । ८० हजार बढी दर्शकहरुले मेला अवलोकन गर्ने आंकलन गरिएको छ । मेला स्थलमा दर्शकहरुको स्वास्थ्य लाई मध्यनजर गरी प्राथमिक हेल्थ डेस्क र एम्बुलेन्स समेत परिचालन गरिएकोे छ ।

मेलाको अवसरमा गढवा क्षेत्रको पर्यटन प्रवर्धनका लागी गढवा भित्र रहेका पर्यटकीय क्षेत्र स–शुल्क प्याकेजमा घुमाउने व्यवस्था गरिएको छ । राष्ट्रिय स्तरका कलाकारहरुलाई कोइलाबास नाका तथा रामजानकी मन्दिर घुमाउने यस क्षेत्रका पर्यटकीय स्थलको बारेमा जानकारी गराउने गरी कामहरु अघि बढाएको संघले जनाएको छ । मेला अवधीमा पत्रकार, सुरक्षाकर्मी तथा जेष्ठ नागरिकलाई निशुल्क प्रबेशको व्यवस्था गरिएको छ । स्थानीय उद्योगी व्यवसायीहरुलाई स्टलमा ४० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । स्थानीय स्तरमा उत्पादित सामाग्रीहरुका लागी निशुल्क स्टलको व्यवस्था गरिएको छ । मेला उद्घाटनका अवसरमा स्थानीय झाँकीहरु प्रदर्शनी समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे