देउखुरीकाे गढवामा चेम्बर अफ कमर्स गठन, अध्यक्षमा सन्ताेष कौशल चयन
देउखुरी २४ जेठ । दाङ देउखुरीकाे गढवामा गढवा चेम्बर अफ कमर्स गठन गरिएको छ । शनिबार गढवामा एक कार्यक्रमको आयोजना गरि चेम्बर अफ कमर्स गठन गरिएको हो ।
स्थानीय व्यवसायीहरूको साझा संस्था गढवा चेम्बर अफ कमर्सको शनिबार एक औपचारिक कार्यक्रमका बीच घोषणा गरिएको हो । व्यवसायी तथा बुद्धिजीवी सन्तोष कौशलको संयोजकत्व तथा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका सचिव अजय न्यौपानेको प्रमुख आतिथ्यता एवम् लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका सदस्य शंकर गौतम र लमही चेम्बर अफ कमर्सका अध्यक्ष शितल भुसालको बिशेष आतिथ्यतामा चेम्बर गठन गरिएको हो । सन्तोष कौशलको अध्यक्षतामा १५ सदस्यीय गढवा चेम्बर अफ कमर्स गठन गरिएको छ । जसको वरिष्ठ उपाध्यक्षमा पर्बल रसाइली, उपाध्यक्षमा शिवलाल पाेख्रेल, महासचिवमा हिरालाल चौधरी, सचिवमा प्रतीक्षा पौडेल, कोषाध्यक्षमा समिर खान, सहकोषाध्यक्षमा ओमप्रकाश चौधरी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा होमराज रिजाल, चन्द्रकान्त शर्मा, देवेन्द्र श्रेष्ठ, चुरमिणी चौधरी, वेदनारायण चौधरी, कुस्सु चौधरी, कृष्णबहादुर आले र जागेश्वर चौधरी निर्बिरोध चयन भएका हुन । संस्थाको सल्लाहकारमा हरिप्रसाद भण्डारी चयन भएका छन् । अन्य सल्लाहकार र प्रेस सल्लाहकार संस्थाको आगामी बैठकमा मनोनित गर्ने निर्णय गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका सचिव अजय न्यौपानेले संस्थागत व्यवसाय प्रवर्द्धन र नीति निर्माणमा स्थानीय चेम्बरहरूको भूमिका महत्वपूर्ण हुने बताए । उनले हरेक व्यवसायीको हकहितमा बुलन्द आवाज सहित सुखदुखमा सक्रिय भएर लाग्नुपर्ने बताए । कार्यक्रममा लुम्बिनी चेम्बर अफ कमर्सका सदस्य शंकर गौतमले गढवा क्षेत्रको व्यवसायिक सम्भावना पहिचान गर्न स्थानीय नेतृत्वले चेम्बर मार्फत दीर्घकालीन योजना ल्याउनुपर्नेमा जोड दिए । उनले लुम्बिनी प्रदेश चेम्बरको तर्फबाट आवश्यक सहयोग र समन्वयका लागि प्रतिबद्धता जनाए ।
कार्यक्रममा लमही चेम्बर अफ कमर्सका अध्यक्ष सितल भुषालले आफ्नो अनुभव सुनाउँदै लमहीमा चेम्बर गठनपछि व्यवसायिक संरचना कसरी सुदृढ हुँदै गएको थियो भन्ने चर्चा गरे । उनले गढवाका व्यवसायीहरूलाई एकताबद्ध भएर काम गर्न आग्रह गर्दै नवगठित चेम्बरलाई क्षेत्रीय व्यवसाय प्रवर्द्धनको केन्द्र बनाउन सकिने बताए । संस्थाको अध्यक्षको जिम्मेवारी पाएका सन्तोष कौशले स्थानीय स्तरमा व्यवसायको संरक्षण, प्रवर्द्धनमा संस्था क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । सहभागीहरूले चेम्बरमार्फत व्यवसायी हकहित संरक्षण, तालिम कार्यक्रम, बजार विस्तार, लगानी प्रवर्द्धन तथा सरकारी निकाय सँग समन्वय गरिने बताए । समितिले आगामी दिनमा विधान निर्माण, दर्ता प्रक्रिया र सदस्यता संकलन लगायतका काम अघि बढाउने जनाएको छ । यस नयाँ संस्थाको गठनसँगै गढवा क्षेत्रको व्यवसायिक परिचय अझ स्पष्ट हुने तथा स्थानीय व्यवसायीहरूलाई साझा प्लेटफर्म उपलब्ध हुने विश्वास गरिएको छ । नवगठित पदाधिकारीहरुलाई अबिर दोसल्लाले बधाई ज्ञापन गरिएको थियो । कार्यक्रमको सहजीकरण लमही चेम्बर अफ कमर्सका महासचिव केशव अधिकारीले गरेका थिए ।

