निर्धन उत्थान लघुवित्तले सञ्चालन गरेकाे तरकारी खेती तालिमबाट किसानहरू उत्साहित 



निर्धन उत्थान लघुवित्तले सञ्चालन गरेकाे तरकारी खेती तालिमबाट किसानहरू उत्साहित 

भालुवाङ १४ जेठ ।  दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ मा रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरूलाई कृषिमा जोड्न थालेको छ । विशेष गरि विपन्न वर्गका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा सो संस्थाले ३ दिने व्यावसायिक तरकारी खेती  तालिम बुधबार सम्पन्न गरेको छ।

छुट्की सिसहनिया महिला समूह सदस्य अनिता चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा सदस्य सुन्दर शाहीको प्रमुख आतिथ्यता तथा संस्थाका क्षेत्रीय कार्यालयका सहायक व्यवस्थापक ध्रुवराज जोशीको विशिष्ट आतिथ्यतामा तालिम सम्पन्न भएको हो।कार्यक्रमका प्रमुख अतिथि सुन्दर शाहीले लघुवित्त संस्था र स्थानीय सरकारबीच सहकार्य गरी कृषिमा प्रविधिमूलक ज्ञान विस्तार गर्न सकिने विश्वास व्यक्त गरे । उनले महिलाको सशक्तिकरणका लागि यस्ता व्यावसायिक तालिमहरू प्रभावकारी हुने स्पष्ट पारे। त्यस्तै सहायक व्यवस्थापक ध्रुवराज जोशीले सहभागीलाई प्राप्त सीपलाई व्यवहारमा उतार्न प्रेरित गर्दै, “तालिम केवल ज्ञानको आदानप्रदान मात्र नभएर जीवनस्तर सुधारको माध्यम बन्नुपर्छ,” भन्नुभयो। उहाँले संस्था आगामी दिनमा पनि कृषिमा नवप्रविधि भित्र्याउन निरन्तर लाग्ने बताए ।

तीन दिने तालिममा सहभागी महिलाहरू उत्साहित समेत देखिएका थिए । तालिममा सहभागी अनिता खत्रीले भनिन्, “पहिला मनग्य उत्पादन हुँदैन थियो, अब सिँचाइ, मल र कटिङ प्रविधि सिकेपछि आशा छ, उत्पादन पनि राम्रो हुन्छ र आम्दानी पनि बढ्छ।” त्यस्तै तालिममा सहभागी अन्य महिला दिदीबहिनीहरू समेत व्यवसायीक तरकारी खेती तालिमबाट धेरै सीप सिक्ने अवसर पाएको बताएका छन् । तीन दिन सम्म चलेको तालिममा सहभागीहरूलाई व्यावसायिक तरकारी खेतीको आधारभूत देखि उन्नत विधि सम्म सिकाइएको थियो। नर्सरी व्यवस्थापन, थ्रिजी कटिङ प्रविधि, मल व्यवस्थापन, जैविक विषादीको प्रयोग, कीराहरूको जैविक नियन्त्रण जस्ता विषयवस्तुमा व्यवहारिक तथा सैद्धान्तिक ज्ञान दिइएको थियो। तालिममा विशेष गरी स्थानीय भूगोल, माटोको बनावट, मौसमी तापक्रमलाई दृष्टिगत गरी उपयुक्त तरकारी बाली चयन गर्ने सीपमा जोड दिइएको थियो।

संस्थाका सहायक कर्मचारी शशीराम बोहराका अनुसार तालिममा सहभागी किसानलाई थप उत्प्रेरणा दिन पिपरी र पत्थरगढवा स्थित कृषि फार्महरूमा अध्ययन अवलोकन गराइएको थियो। यस अध्ययन भ्रमणले कृषकहरूमा नयाँ प्रविधिप्रति चासो र लगाव बढाएको देखिएको छ। तालिममा २५ जना महिला सहभागी रहेका थिए । तालिमको प्रशिक्षकमा राप्ती गाउँपालिका कृषि शाखा प्रमुख बरसाती गडरिया रहेका थिए । उक्त तालिमले ग्रामीण भेगका महिलाहरूमा कृषि व्यवसायप्रति सकारात्मक सोच निर्माण गर्नुका साथै स्वरोजगारको बाटो खोल्ने अपेक्षा गरिएको छ। वित्तीय संस्थाले दिएको सीपमूलक तालिमले साना किसानलाई आत्मनिर्भर बन्न टेवा पुर्‍याउने विश्वास लिइएको छ।कार्यक्रममा शाखा प्रमुख नेपाल चौधरीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन लेखापाल नारायण प्रसाद आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे