राप्तीमा पाठेघरको मुखको क्यान्सर परिक्षण : निशुल्क जाँच गराउन पाउँदा महिलाहरू खुसी



राप्तीमा पाठेघरको मुखको क्यान्सर परिक्षण : निशुल्क जाँच गराउन पाउँदा महिलाहरू खुसी

भालुवाङ १० जेठ । दाङको राप्ती गाउँपालिकामा शनिवार महिलाहरुको निशुल्क पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएको छ ।

क्रिमसन अस्पताल मणिग्राम रुपन्देहीको प्राविधिक तथा राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा रोटरी क्लव अफ राप्तीले सो शिविर आयोजना गरेको हो । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित आदर्श नमुना माध्यमिक विद्यालयमा आयोजना गरिएको शिविरमा सहभागी भएका महिलाहरू खुशी भएका छन् । समयमै रोग पत्ता लगाउने र रोकथाम गर्ने उद्देश्य सहित सञ्चालन गरिएको यस परीक्षण शिविरमा उल्लेखीय संख्यामा महिलाहरूको सहभागिता रहेको थियो ।

उक्त शिविरमा १ सय भन्दा बढी महिलाहरुले सेवा लिएका छन् । स्थानीय महिला गंगा गिरीले भनिन्, पहिले यस्ता परीक्षण खर्चिलो लाग्थ्यो, अब निशुल्क परीक्षण गराउँन पाउँदा हामीलाई ठूलो राहत भएको छ । यो स्वास्थ्यप्रति सकारात्मक पहल हो । यस्ता शिविरले महिला दिदीबहिनीहरुलाई समेत सचेत गराएको उनले बताइन् । डा. राजिव शाहका अनुसार यो परीक्षण विशेष गरी ३०–६० वर्ष उमेर समूहका महिलाहरूका लागि अत्यन्त जरुरी रहेको र प्रारम्भिक अवस्थामा सर्भाइकल क्यान्सरको कुनै विशेष लक्षण नदेखिने हुँदा नियमित परीक्षण नै सुरक्षित उपाय रहेको बताए । यसबाट बच्न रोग लाग्नु भन्दा लाग्नै नदिन पहिलेनै परिक्षण गर्नु स्वास्थ्यका हिसावले राम्रो हुने बताए ।

यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सरकारले किशोरीहरुलाई एचपिभी खोप दिन सुरु गरिसकेको बताउँदै यस्तो शिविरको आयोजना गर्नु क्लबको सराहनीय कार्य भएको बताए । अध्यक्ष विष्टले परिक्षण मार्फत पाठेघरको मुखको क्यान्सर हुने सम्भावना भएको अवस्थालाई ३ देखि ५ वर्ष अगाडि नै पहिचान गर्न सकिने उल्लेख गरे । त्यस्तै उनले महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण नियमित रूपमा विस्तार गर्ने र आगामी दिनहरूमा सवै वडामा निशुल्क शिविर सञ्चालन बताए । यस किसिमको स्वास्थ्य सेवा पहुँचले ग्रामीण तथा आर्थिक रूपमा पछाडि परेका महिलाहरूलाई समयमै रोग पत्ता लगाउन सहयोग पुग्ने अध्यक्ष विष्टले बताए । रोटरी क्लब अफ राप्तीका अध्यक्ष तपराज आचार्यले क्लबको वार्षिक कार्ययोजना अनुसार निशुल्क पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रम गरिएको जानकारी दिए ।  क्लवले स्वास्थ्य, शिक्षा, खानपानी लगायत विभिन्न कार्य योजना बनाएपनि पाठेघरको मुख क्यान्स परिक्षण कार्यक्रमलाई प्रमुख कार्यको रुपमा लिएको थियो । त्यस्तै, क्लबका संस्थापक अध्यक्ष बासुदेव न्यौपानेले पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा दैनिक ४ जना महिलाको मृत्यु हुने आँकडालाई उद्धृत गर्दै, स्वास्थ्य पहुँच नपुगेका महिलाहरुलाई लक्षित गरी यस किसिमको शिविर आयोजना गरिएको बताए ।

रोटरी क्लव अफ राप्तीका अध्यक्ष तपराज आचार्यको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको शिविर उद्घाटन कार्यक्रममा क्रिमसन अस्पताल डा. राजिव शाह, राप्ती गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत देविराम पाठक, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता र डा. तथा स्वास्थ्यकर्मीहरुको विशेष उपस्थिती रहेको थियो । क्लवका संस्थापक अध्यक्ष बासुदेव न्यौपानेको स्वागत मन्तव्य तथा विषयवस्तुबाट प्रवेश गरेको कार्यक्रमको सञ्चालन बसन्त बहादुर पुनले गरेका थिए । रोटरी क्लव अफ राप्तीले आदर्श नमुना माध्यमिक विद्यालयमा छात्रा शौचालय समेत निमार्ण गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे