रोल्पाकाे लिवाङमा अपाङ्गतामैत्री संरचना निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
रोल्पा १० जेठ । अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र अधिकार सुनिश्चित गर्न अपाङ्गतामैत्री संरचना निर्माण सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम शनिवार रोल्पाको लिवाङमा सम्पन्न भएको छ।
रोल्पा नेत्रहिन संघको आयोजनामा तथा सामाजिक विकास डिभिजन कार्यालय, प्युठानको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रम संघका अध्यक्ष धना घर्ती मगरको अध्यक्षतामा सुरु भएको हो। कार्यक्रमका प्रमुख अतिथि रोल्पा नगरपालिका उपमेयर गीता आचार्य रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्वमेयर पूर्ण केसी ‘करेन्ट’ रहेका थिए । कार्यक्रमको सहजीकरण नेपाल राष्ट्रिय अपाङ्ग महासंघ, लुम्बिनी प्रदेशका सचिवालय सदस्य तथा केन्द्रीय प्रतिनिधि जुमान सिंह केसीले गरेका थिए । उनले अपाङ्गतामैत्री संरचना निर्माणका कानुनी व्यवस्था, स्थानीय तहको भूमिका र कार्यान्वयनका उपायहरूबारे प्रस्ट पारेका थिए । साथै, अपाङ्गतामैत्री सोच र दृष्टिकोण विकास गर्नु आजको आवश्यकता भएको धारणा राखे ।
उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष केशवराज आचार्य, रेडियो जलजलाका कार्यक्रम प्रमुख वीरेन्द्र गिरी, नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य पूर्ण केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै उपमेयर गीता आचार्यले “रोल्पा नगरपालिकाको भवन पूर्णरूपमा अपाङ्गतामैत्री भएको छ, तर अन्य संरचनाहरूमा अझै सुधार आवश्यक छ। आगामी दिनमा सम्पूर्ण संरचना अपाङ्गमैत्री बनाइने प्रतिबद्धता व्यक्त गर्दछु,” भने। कार्यक्रमकाे सञ्चालन रोल्पा नेत्रहीन संघका सचिव शिशिर डाँगीले गरेका थिए ।

