राप्ती-७ मा महिलाहरूको नेतृत्व तथा क्षमता विकास कार्यक्रम सुरू



राप्ती-७ मा महिलाहरूको नेतृत्व तथा क्षमता विकास कार्यक्रम सुरू

सिसहनियाँ ७ जेठ । “नेता बन्नको लागि आत्मविश्वास मात्रै काफी हुँदैन, ज्ञान र सीप पनि हुनुपर्छ,” बुधबार बिहान तालिम स्थलमा सहभागी अञ्जु चौधरीले भनिन्। उनी र सरिता पौडेल जस्ता महिला अब नेतृत्वको अभ्यास गर्दैछन् – गाउँमै, आफ्नै समुदायका लागि।

राप्ती गाउँपालिका वडा नम्बर ७ को आयोजनामा सुरु गरिएको तीनदिने “महिला नेतृत्व क्षमता विकास कार्यक्रम” बड्का सिसहनियाँ स्थित वडा कार्यालयमा एक प्रेरणादायी यात्रा बनेको छ। वडाका विभिन्न टोलबाट आएका ३३ जना महिलाहरू तालिममा सहभागी छन्, जहाँ उनीहरूले नेतृत्व, कानुनी अधिकार, सामाजिक सक्रियता र स्वास्थ्य सम्बन्धी ज्ञानहरू सिक्ने अवसर पाएका छन्।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष सिताराम चौधरीले गर्नुभएको थियो। स्वागत मन्तव्य वडा सदस्य सावित्री चौधरीले दिएकी थिइन् भने कार्यक्रम सञ्चालकको भूमिका पत्रकार ओमप्रकाश गुप्ताले निर्वाह गरेका थिए। सहजकर्ताहरूमा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख जीवनकुमारी जिसी, स्वास्थ्य शाखाकी अधिकृत भारती सन्यासी, कानुनी सल्लाहकार हरि बेल्वासे र पत्रकार ओमप्रकाश गुप्ता स्वयं तालिममार्फत महिलाहरूको मनोबल बढाउने काममा जुटेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे