राप्ती गाउँपालिकामा सुरक्षित बीउबिजन भण्डारण तालिम सम्पन्न
भालुवाङ ७ जेठ । दाङको राप्ती गाउँपालिकामा सुरक्षित बीउबिजन भण्डारण तालिम सम्पन्न भएको छ ।
विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका दाङ सँगको समन्वयमा नामसालिङ सामुदायिक विकास केन्द्र द्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत स्थानीय किसानहरुलाई लक्षित गर्दै सुरक्षित बीउबिजन भण्डारण तालिम सम्पन्न भएको हो । राप्ती गाउँपालिका-३ नयाँबस्ती तथा राप्ती गाउँपालिका-७ भानपुरका २६ जना किसानलाई लक्षित गरी आयोजित तालिमको सहजीकरण संस्थाका कृषि अधिकृत शशांक आचार्य तथा कृषि प्राविधिक धनकुमारी चौधरीले गरेका थिए।
तालिममा सहभागी किसानहरुलाई कृषि उपजलाई सुरक्षित तरिकाले लामो समयसम्म भण्डारण गर्ने तरिका, भण्डारणमार्फत उपजको उपयोगिता बढाउने र उचित मूल्य प्राप्त गर्ने उपायहरूको बारेमा सिकाइएको थियो। तालिम पश्चात सहभागी किसानहरुलाई १/१ थान सुरक्षित बीउ भण्डारण बोरा पनि वितरण गरिएको थियो। वि.सं. २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापना भएको नामसालिङ सामुदायिक विकास केन्द्रले वि.सं. २०७४ देखि दाङको राप्ती गाउँपालिकामा एकीकृत सामुदायिक विकास परियोजना” अन्तर्गत कृषि, पोषण, आयआर्जन, जलवायु परिवर्तन अनुकूलन तथा सुशासनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउने तथा जलवायु अनुकूलनका अभ्यासमा अभ्यस्त गराउँदै समग्र सामुदायिक विकासमा योगदान पुर्याउँदै आएको कार्यक्रम संयोजक तथा कृषि अधिकृत शशांक आचार्यले बताएका छन् ।
