गंगापरस्पुर खानेपानीमा डेढ वर्ष देखि आर्थिक भद्रगोल : प्रशासनिक कार्य प्रभावित (विज्ञप्ती सहित)
गढवा ६ जेठ । दाङ देउखुरीको गंगापरस्पुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा विगत डेढ वर्ष देखि हिसावकिताव भद्रगोल भएको छ । गढवा गाउँपालिका वडा नम्बर ४ मगरौटामा रहेको सो खानेपानीमा अघिल्लो समितिले झण्डै डेढबर्ष सम्म बरबुझारथ नगरेपछि आर्थिक हिसाबकितावमा भद्रगोल देखिएको हो । समितिले मंगलवार पत्रकार सम्मेलन गरि सो विषयमा जानकारी गराएको हो ।
२०७५ सालमा स्थापना भएको पुरानो समितिका अध्यक्ष हालका वडा नम्बर ४ का निर्वाचित वडा अध्यक्ष समेत रहेका र उनको १६ महिना अघि पदावधी सकिएपछि निर्वाचन प्रकृयाबाट नयाँ समिति बनेको र उक्त समितिलाई पुरानो समितिले हाल सम्म हिसावकिताव बरबुझारथ नगरेको आरोप लगाइएको छ ।
निर्वतमान वडा अध्यक्ष चौधरीले बैठकमै उपस्थित भएर १ हप्तामा हरहिसाव सहित बरबुझारथ गर्ने प्रतिवद्धता गरि हस्ताक्षर समेत गरेकोे संस्थाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । पुरानो समितिबाट बरबुझारथ नहुँदा संस्थाको नाममा बैंक खाता सञ्चालन गर्न, लेखा परिक्षण गर्न, नवीकरण गर्न र खानेपानी विस्तार तथा सुदृढ गर्न विभिन्न निकायहरुमा बजेट माग गर्न समस्या देखिएको संस्थाका सचिव चेतबहादुर थापाले पत्रकार सम्मेलन मार्फत सो विषयमा जानकारी गराए ।

निर्वतमान अध्यक्ष हरिभगत चौधरीको कार्यकालमा केहि उपभोक्ताहरुका घरमा धारा जडान गरिएको तर रसिद नदिएको र निर्वाचन प्रकृयामा मताधिकारबाट समेत बञ्चित भएको पत्रकार सम्मेलनमा गुनासो आएको छ । धारा छ, पानी आउँदैन, पैसा तिरें तर रसिद पाइएन–उक्त खानेपानी संस्थाका उपभोक्ता टोपलाल खनालले बताए ।
उनी जस्तै पैसा तिरेर पनि नत अभिलेखमा नाम छ, न रसिद नै पाए, निर्वाचन हुँदा भोट हाल्न पनि पाइएन–उपभोक्ता सदस्य अनु चौधरीले भने । कार्यक्रममा बोल्दै उपभोक्ता मन्नुलाल यादवले पनि उनीहरुको जस्तै समस्या भएको बताए । यस्ता केहि उपभोक्ताहरु छन् जसले पैसा तिरेका छन् तर रसिदको आम्दानी बाधेर अभिलेख नराख्दा उपभोक्ताको अधिकारबाट बञ्चित छन् ।
पत्रकार सम्मेलनमा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ४ का निर्वतमान वडा अध्यक्ष गुलाम मोहम्मदले आफू वडा अध्यक्ष रहेको बेला निर्वतमान अध्यक्षलाई खानेपानीको अध्यक्ष बनाएको, उनले पटक पटक हरहिसाब माग गर्दा अहिलेको समितिलाई हिसाब बरबुझारथ नगरेको र यथाशिघ्र बरबुझारथ गर्नुपर्ने बताए ।
यसअघि उक्त खानीपानी आयोजनाको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको, अख्तियारी र खानेपानी डिभिजन आएको तर के ग¥यो के केहि जानकारी नभएको मोहम्मदले बताए । कार्यक्रममा स्थानीय बुद्धिजिवी ओमबहादुर केसी र जनप्रतिनिधी टुकमान कँवरले सामाजिक संस्थामा कसैले पनि राजनीतिक प्रतिशोध राख्न नहुने र यथाशिघ्र निर्वतमान अध्यक्षले हिसाबकिताव बरबुझारथ गर्नुपर्ने बताए ।

पत्रकार सम्मेलनमा लगाइएको आरोपबारे निर्वतमान अध्यक्ष हरिभगत चौधरीसंग बुझ्दा नयाँ समितिले जत्तिबेला मागेपनि हरहिसाव बरबुझारथ गर्ने बताए । उक्त आयोजनाको टंकी निर्माण र डिप बोरिङ गाड्ने कार्यमा खानेपानी डिभिजन कार्यालयबाटै टेण्डर भएको, आफूले कुनै उपभोक्तालाई रसिद नै नकाटेर धारा जोडिदिएको र निर्वाचनका बेला भोट हाल्न लगाएर खानेपानी निशुल्क गरिदिने भनेको झुठा आरोप लगाएको बताए ।
हालको समिति भित्र पनि मेलमिलाप नभएको, रसिद नकाटेरै हालका अध्यक्षले केहि उपभोक्ताका घरमा धारा जोडेको भन्दै पुरानो समितिलाई अनाहकमा आरोप लगाइएको चौधरीले आरोपको खण्डन गरेका छन् । पत्रकार सम्मेलनमा खानेपानी समितिका पदाधिकारी, नेपाली काँगे्रस, नेकपा एमाले, माओवादी केन्द्र, राजमो, रास्वपा, जनता समाजवादी र नेकपा मशाल गरि ७ वटा राजनीतिक दलका प्रतिनिधी, पत्रकारहरु तथा उपभोक्ताहरुको समेत उपस्थिति रहेको थियो ।
विज्ञप्तीकाे पूर्णपाठ सहित…
गंगापरस्पुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति
गढवा–४, मगरौटा, देउखुरी–दाङ
स्किम नं. १
विषय : प्रेस विज्ञप्ती
आदरणीय जनप्रतिनिधीज्यु, कार्यक्रममा उपस्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी ज्युहरु एवम् उपस्थित पत्रकारज्यूहरु, खानेपानी तथा सरसफाई संस्थाका सदस्यज्युहरु र अन्य उपस्थित उपाभोक्ताज्युहरु सबैलाइ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको तर्फबाट हार्दिक स्वागत तथा अभिनन्दन गर्दछौं ।
हाम्रो यस गंगापरस्पुर खानेपानी तथा सरसफाई उपभोक्ता समितीको स्थापना २०७५ सालमा भएको हो । यो संस्था गढवा गाउँपालिका वडा नं. ४ का उपभोक्ताहरुलाई शुद्धपानी आपूर्ति गर्ने उद्देश्यले गठन भएको हो । यो संस्थामा करिब १३०० घरधुरी आवद्द हुनुपर्ने देखिन्छ । स्थापना पछि निर्माण भएको कार्यसमितिले लामो समय पछि २०८० माघ ०५ गते मात्र प्रथम साधारण सभाको आयोजना गरेको थियो । त्यहि साधारणसभाबाट सर्वसम्मत कार्यसमिती निर्माण हुन नसकेपछी निर्वाचन समिति बनाई २०८०/१०/१४ गते निर्वाचन गराई हाम्रो टिम निर्वाचित भएको थियो ।
यो निर्वाचित कार्यसमितिलाई २०८० माघ १६ गते सपथ खुवाएर कुनै कागजात हरहिसाब नबुझाई काम गर्न दिइयो । तत्कालिन अवस्थामा उपभोक्तालाई पिउने पानीको व्यवस्था गर्नु पहिलो जिम्मेवारी सम्झी हामिले हरहिसाब नमागी काम सुरु गरेको व्यहोरा सबैलाइ जगजाहेर नै छ । त्यसपछिका दिनहरुमा तत्कालिन कार्यसमितिका अध्यक्ष तथा गढवा गाउँपालिका ४ नं. वडा अध्यक्ष श्री हरिभगत चौधरी ज्यु सङ्ग प्रत्यक्ष भेट वा पत्राचार बाट अनुरोध गर्दा समेत हरहिसाव, कैयौँ कागजात समेत नबुझाएकाले संस्थाको दैनिक काम र प्रशासनिक काम गर्न अप्ठ्यारो परेकोले हामिले राज्यको चौथो अङ्ग सञ्चार माध्यम मार्फत सबैको जानकारी तथा सम्बन्धित निकाएको ध्यानाकर्षणको लागि यो पत्रकार सम्मेलनको आयोजना गरेका छौं । आशा छ यहाँहरुको सञ्चारमाध्यम मार्फत हाम्रा कुराहरु सार्वजनिक गरिदिनुहुनेछ ।
हाम्रा समस्याहरुलाई बुँदागत रुपमा यहाँहरुको बिचमा राख्ने प्रयत्न गरेका छौं जो निम्न प्रकार छन् :
१) यो समितिको निर्माणपछि बरबुझारथ गर्न यो समितिका विभिन्न बैठकका निर्णयका जानकारी साथ प्रत्यक्ष र पत्राचारबाट अनुरोध गर्दा कहिले समय तोकेर बुझाउने कबुल गर्ने त कहिले मैले संस्थाबाट पैसा पाउनु छ भनेर चुनौती दिने काम गर्नु भयो । जसको कारण संस्थाको आ.ब. २०८०/०८१ को लेखा परिक्षण, नविकरण र करचुक्ता गर्न सकिएको छैन । आ.ब.०८०/०८१ को झण्डै आधा वर्ष माघ १४ गते सम्मको आम्दानी खर्च उहाँहरुले नै गरेकाले त्यो हिसाब समावेश नगर्दा सम्म त्यो वर्षको लेखा परिक्षण हुन सक्दैन । सो अवधिको करचुक्ता गरेको प्रमाण पत्र पेश नगर्दा सम्म बैंकले खाता नामासारी र खाता सन्चालन गर्न दिएको छैन र अन्य ठाउँबाट आर्थिक सहयोग प्राप्त गर्न पनि उक्त खाता नै प्रयोग गर्नुपर्ने भएकोले निकै अप्ठ्यारो परेको छ ।
२) बरबुझारथ नगरेका कारण हाम्रो संस्थाका आधिकारिक सदस्यको संख्या कति हो एकिन गर्न गाह्रो भएको छ, कति जना र को को ले सदस्यता शुल्क तिरेर सदस्यता लिएका छन् एकिन गर्न सकिएको छैन भने निर्वाचनको बेला पनि धेरै उपभोक्ताहरुको नाम बिगारेर सदस्यको लिस्ट दिएकाले उनिहरुले आफ्नो मताधिकारको प्रयोग गर्न पाएका थिएनन् साथै बरबुझारथ सङ्ग पुराना रसिद हेरेर उपभोक्ताको नाम सच्च्याउने काममा पनि अवरोध भएको छ । निर्वाचनको समयमा धेरै उपभोक्ताहरुले सदस्यता शुल्क बुझाएको तर मतदाता नामावलिमा नाम नभएको गुनासो गर्नुभएको थियो त्यो सच्चाउने काममा पनि बाधा भएको छ ।
३) संस्था स्थापना हुँदा सदस्यता शुल्क रु १५०० भएको तर पछि २०७९ श्रावण १ गतेको बैठकबाट सदस्यता शुल्क रु २५०० बनाएको देखिन्छ तर मिति २०७९ असार मसान्त सम्म कति सदस्य संख्या र पछि कति सदस्य थप गरेको भन्ने एकिन भएको छैन । निर्वाचनको बेला जम्मा १०५४ सदस्य संख्या देखाइएको छ त्यसमा अरु धेरै उपभोक्ताले शुल्क दिएको र नाम नआएको गुनासो भएकोले त्यसलाई रेकर्ड हेरेर मिलान गर्नुपर्ने देखिन्छ ।
४) हाम्रो संस्थामा अहिले सम्म कति उपभोक्ताले धार जडान गरेका छन् एकिन गर्न गाह्रो भएको छ किनभने खानेपानी सुचारु भएपछी धेरै उपभोक्ताले मिटर सहित धारा जोडेको देखिन्छ । त्यहि आ.व. ०७९/०८० मा गढवा गा.पा. वडा नम्बर ४ ले आफ्नो बजेटबाट रु. १०,००,०००/–अक्षेरुपी रु. दस लाख छुट्याई विपन्न वर्गका उपभोक्ताहरुलाई निःशुल्क मिटर दिने निर्णय गरि मिटर वितरण समेत गरेको छ तर त्यो बजेटबाट कति मिटर आए ? को को लाई वितरण गरियो ? र कति धारा जडान भए ? कुनै रेकर्ड छैन र बुझाइएको पनि छैन । कतिपय उपभोक्ता जसले आफ्नो लगानिमा मिटर जोडिसकेको छ उसलाईपनि मिटर वितरण गरिएको छ कतिपय उपभोक्ताले मिटर लगेर घरमा राखेको छ यसले गर्दा धारा कति जोडिए रेकर्ड नभएर पानीको महशुल उठाउन समेत गाह्रो भएको छ । अर्कोतिर वडाको बजेट कति पारदर्र्शी रुपमा खर्च भयो भन्ने प्रश्न गर्ने ठाउँ छ ।
५) २०७९ को स्थानिय निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार श्री हरिभगत चौधरीले “हामिलाई जिताउनुस् हामी ५ वर्ष सम्म फ्रि मा पानी खुवाउँछौ” भनी प्रचार गरेको र चुनाव पनि जितेकोले निर्वाचन पछि उपभोक्ताले पानिको महशुल तिर्न आनाकानी गरि रकम नउठेको अवस्थामा विद्युत महशुल लगाएत अन्य खर्चमा बाधापुगी खानेपानी नै बन्द हुने अवस्था देखिएकोले २०८० असोजमा राजनैतिक दल समेतको सल्लाह र सहयोगमा उपभोक्ताबाट वक्योता रकम उठाई बिद्युत बिल समेत तिरी पानि सुचारु गरिएको थियो त्यसको हिसाब समेत देखाईएको छैन ।
६) खानेपानीको निर्वाचनमा उम्मेदवारबाट चुनाव खर्च भनि चर्को शुल्क जम्मा गरियो तर निर्वाचन पछि त्यसको आम्दानी खर्च माग्दा निर्वाचन संयोजकले मैले पूर्व अध्यक्षलाई दिन्छु भन्ने र पुर्व अध्यक्षले कुनै हिसाब नबुझाउनाले पनि पारदर्शिता देखिएको छैन ।
७) अहिले आएर कार्यसमितिले आफ्नो आम्दानी खर्चलाई बैंक मार्फत सञ्चालन गर्न तथा बैंक खाता नामासारी गर्न कार्यसमितीका सल्लाहकार, राजनैतिक दल, वडा अध्यक्ष सहित जनप्रतिनिधी समेतको उपस्थितमा मिति २०८२/०१/२७ गते बैठक बसि समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष को नाममा खाता नामासारी गर्ने र अध्यक्षको हस्ताक्षर अनिवार्य रहने बाँकी दुई जनामध्ये एकले हस्ताक्षर गरे हुने भनी गरेको निर्णयमा वडाकार्यालयबाट सिफारिस दिँदा तिनै जनाको हस्ताक्षर अनिवार्य हुने गरि सिफारिस गरिएको र १ हप्ता भित्र पुरानो हिसाबकिताब बरबुझारथ माग गर्ने यदि १ हप्ता भित्र बरबुझारथ नगरि आलटाल गरेमा पत्रकार सम्मेलन गर्ने र सम्बिन्धत निकायमा निवेदन दिने भनि गरिएको निर्णय पूर्व अध्यक्ष आफै बसेर गरेको निर्णयलाई आफै नमान्ने काम भएको छ र सोही बैठकमा निवर्तमान कार्यसमितिको सहजीकरणको लागि संस्थाको हिसाब किताब अडिट गर्दा यदि कार्यसमितिका अध्यक्षले पाउनुपर्ने रकम देखिएमा संस्थाले जिम्मा लिने छ । प्रमाणको आधारमा कार्यसमितिका अध्यक्षबाट यस संस्थालाई बुझाउनुपर्ने बाँकी रकम देखिएमा स्वयम् अध्यक्षले नै संस्थालाई देखिएको रकम बुझाउनुपर्ने हुन्छ भनि गरिएको निर्णयको पनि बेवास्ता गरिएको छ ।
८) खाता सञ्चालन नहुँदा विभिन्न ठाउँबाट आउने सहयोग रकम ल्याई खानेपानीको काम व्यवस्थित गर्न अप्ठेरो परेको छ । भरखर मात्र सालझुन्डी सामुदायिक वनले अर्को खानेपानी बोरीङ्ग सञ्चालन गर्न भनी रु. ३,००,०००/– अक्षेरुपी रु. तिन लाख मात्र दिने निर्णय गरेको छ तर बैंक खाताकै कारण त्यो कामलाई अगाडी बढाउन सकिएको छैन ।
९) बरबुझारथको लागि सहयोग गर्न गढवा गाउँपालिकाको कार्यालय र खानेपानी डिभिजन कार्यालय, दाङ घोराहीलाई पत्र लेख्दा पनि कुनै सहयोग भएन त्यसैले पनि होला उहाँको मनोबल बढेको हुनुपर्दछ ।
१०) स्मरणीय कुरा त अझ यो संस्था स्थापना पछि खानेपानी डिभिजन बाट जे जति निर्माणका काम भए उहाँनै उपभोक्ता समितिको अध्यक्ष र उहाँनै ठेकेदार भएर काम भएका हुन् र अहिले सम्म यो योजनामा कति रकम आएको हो वा यो कति रकममा सम्पन्न भयो कुनै निकायबाट जानकारी भएको छैन । अर्को तर्फ यो योजनाको डिजाइन स्टिमेट समेत केही छैन जसले गर्दा त्यतिबेला खानेपानीका लाईन विस्तार गर्दा होचुवाको भरमा साना र कम क्षमताका पाइप विस्तार गर्नाले अहिले खानेपानी वितरण गर्दा पानी नपुग्ने, पाइप बुझिएर पानी नजाने भएको छ र हामिले उपभोक्तालाई सहज रुपमा पानि वितरण गर्न समस्या परिरहेको छ ।
अध्यक्ष
अयोध्या प्रसाद चौधरी

