शान्ताको अचारले महिलाहरुलाई आकर्षित बनाउँदै : सिसहनियाँमा १० दिने तालिम सम्पन्न



शान्ताको अचारले महिलाहरुलाई आकर्षित बनाउँदै : सिसहनियाँमा १० दिने तालिम सम्पन्न

सिसहनियाँ ६ जेठ । परम्परागत रूपमा घरभित्र सीमित रहँदै आएको अचार बनाउने सीप अहिले महिलाहरूका लागि स्वरोजगार र आत्मनिर्भरताको सशक्त माध्यम बन्दै गएको छ ।

पछिल्लो समय पूर्व सांसद समेत रहेकी शान्ता चौधरीकाे अचारले गाउँ देखि शहर सम्म मार्केट लिएकाे छ । उनकाे अचारले  देश तथा विदेशमा समेत माग उत्तिकै छ । उनकाे अचारले महिला दिदीबहिनीहरु समेत आकर्षित बनेका छन् । १ हजार महिलाहरुलाई उद्यमी बनाउने लक्ष्य लिएकी चाैधरीले महिलाहरुलाई तालिम दिन थालेकी छिन् । उनकाे तालिममा महिलाहरूको उल्लेखनीय सहभागिता देखिन्छ । स्थानीय सरकार, सहकारी संस्था तथा गैरसरकारी संघसंस्थाहरुले समेत आयाेजना गर्ने तालिममा शान्तालाई बाेलाउने गरेका छन् ।  यस्ता तालिमहरूले महिलाहरूको सीप विकास गर्दै रोजगारी सिर्जनामा टेवा र्पुयाइरहेका छन् । तालिममा सहभागी महिलाहरूलाई फलफूल, तरकारी तथा मसला प्रयोग गरेर विभिन्न किसिमका अचार बनाउने तरिका सिकाइने गरिन्छ । यस्तै दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा महिलाहरूलाई उद्यमशील बनाउन शान्ता चौधरीकाे टिमले अचार बनाउने १० दिने तालिम प्रदान गरेको छ । ‘राप्ती गाउँपालिकाको आर्थिक समृद्धिको आधार, लघु उद्यम मार्फत रोजगार’ भन्ने नारा सहित महिला उद्यमी व्यवसाय प्रोत्साहन कार्यक्रम अन्तर्गत उक्त तालिम प्रदान गरिएको हो ।

यसै बीच तालिमको मंगलवार  एक कार्यक्रमको आयोजना गरि समापन समेत गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा बोल्ने सहभागी महिलाहरूले तालिममा प्राप्त सीपलाई व्यवहारमा उतारी घरमै सानो स्तरको उत्पादन सुरु गर्ने र त्यसलाई क्रमशः व्यवसायिक रूपमा विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । छोटो अवधीमा आफूहरुले तालिमबाट सिप सिक्न पाएकोमा खुसी समेत व्यक्त गरेका छन् ।

त्यस्तै राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले महिलाहरूलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले सञ्चालन गरेका सीपमूलक तालिमहरूमा गरिएको लगानी खेर जान नदिई प्राप्त ज्ञानलाई व्यवसायमा रूपान्तरण गर्न तथा यस्ता तालिमहरूले महिलाहरूको आत्मबल अभिवृद्धि गर्दै घरमै बसेर आम्दानी गर्ने अवसर सृजना गर्ने विश्वास व्यक्त गरिन् । त्यस्तै उनले उद्यम गर्न इच्छुक समूहलाई आवश्यक प्रविधिक सहयोग पनि प्रदान गरिने जानकारी दिइन् ।

राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीले महिलामैत्री कार्यक्रमहरू मार्फत उनीहरूको जीवनस्तर उकास्ने प्रयास भइरहेको बताउँदै तालिममा सहभागी महिलाहरूले पाएको सीपलाई स्थायी आम्दानीको स्रोतमा रूपान्तरण गर्नुपर्ने बताए । साथै उनले आगामी आर्थिक वर्षको बजेटमा वडाले पनि यस्ता कार्यक्रमका लागि बजेट व्यवस्था गर्ने उल्लेख गरे । तालिमकी प्रमुख प्रशिक्षक तथा पूर्व सांसद शान्ता चौधरीले महिलाहरूको आत्मनिर्भरता र आर्थिक सबलीकरणका लागि घरेलु उत्पादनमा आधारित सीप विकास अनिवार्य रहेको बताउँदै अचारजस्तो सहज र व्यापारिक सम्भावना बोकेको उत्पादनमा महिलाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताइन्

तालिममा माछा, मासु, टिमुर, अमला, आँप, मुला, कागती, गुन्द्रुक, अदुवा, खुर्सानी लगायतका सामग्री प्रयोग गरी विभिन्न प्रकारका अचार बनाउने सीप प्रदान गरिएको थियो । तालिममा राप्ती गाउँपालिकाका विभिन्न वडाका २८ जना महिलाको सहभागिता रहेको थियो। तालिमको प्रमुख प्रशिक्षक शान्ता चौधरीसँगै सहायक प्रशिक्षकहरू सीता चौधरी र रचना कुमालले रहेका थिए । समापन कार्यक्रमको सहजीकरण उद्यम विकास शाखा प्रमुख विनिता चौधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे