कार्यक्रममै शिक्षकहरुका आँखा रसाएपछि……..
गढवा ६ जेठ । मंगलवार एकाविहानै जनता माध्यमिक विद्यालय गढवाको फिल्डमा शिक्षक शिक्षिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र जनप्रतिनीधिहरुको लष्करले भरिभराउ थियो ।
उत्प्रेरक हरिश वलीले सुरुवातमै घण्टी बजाएर विद्यार्थीहरुलाई जस्तै शिक्षकहरुलाई पिटी सहितको सांगितिक प्रार्थना गराए । त्यस लगत्तै धेरैजसो बिद्यालयका कार्यालय सहयोगीहरुलाई मञ्चमा आमन्त्रण गरि गाउँपालिकाका अध्यक्ष र प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षहरुबाट फूलमाला लगाएर सम्मान गरियो । यो दृष्य हेर्दा कार्यक्रममा सहभागि सबैजसो शिक्षकहरुका आँखाबाट आँशु रसाएको पाइन्थ्यो भने कार्यालय सहयोगीहरुका पनि जीवनमा पहिलो पल्ट सम्मान पाउँदा आँखाबाट पिलपिल खुसीका आँशु झरिरहेको पाईन्थ्यो । विद्यालय राम्रो बनाउने अभियानमा कार्यालय सहयोगीको पनि अहंम् भूमिका रहने उत्प्रेरणात्मक सन्देशले धेरै शिक्षकहरुको मन जितेको दृष्य झल्किन्थ्यो ।
यो वास्तविक दृष्य भित्र गढवा गाउँपालिकाले पालिकाका आठ वटै वडाहरुका शिक्षकहरुलाई आमन्त्रण गरि तीन दिवसीय सांगितिक प्रार्थना व्यवस्थापन तालिम संगै व्यवहारीक उत्प्रेरणात्मक कार्यशालाका वास्तविकता थियो । पालिकाले सरकारी विद्यालयहरुमा पठन–पाठनको गुणस्तर वृद्धि गर्न शिक्षकहरुको जिम्मेवारी तथा कर्तव्य तथा अभिभावक र विद्यार्थीहरु संग गर्नुपर्ने व्यवहारिक तालमेलका सन्दर्भमा उत्प्रेरणा जागरण गर्ने उद्देश्य अनुरुप कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले जानकारी दिए ।
शिक्षकहरुमा म एउटा जिम्मेवार शिक्षक हुँ, म तयारी गर्छु र विद्यार्थीहरुलाई सिकाएर आफ्नो विद्यालयलाई अब्वल बनाउँछु भन्ने उत्प्रेरणको उर्जा रोपण गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको शिक्षा शाखाका प्रमुख श्याम विकले बताए । सामुदायिक विद्यालयहरुमा खस्किदै गएको पठन–पाठनको गुणस्तरलाई व्यापक सुधार गर्न यस्तो कार्यशालाको आयोजना गरिएको पालिकाले जनाएको छ । गढवा गाउँपालिकाका २५ सरकारी विद्यालयका २ सय ५० बढी शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई सहभागी गराई उत्प्रेरणात्मक कार्यशालाको आयोजना गरिएको हो । कक्षा आरम्भ भन्दा पहिलेको उर्जा दिनभरका लागि सकारात्मक उर्जा रहने भन्दै सामुदायिक विद्यालयहरुलाई अब्वल बनाउन र पठन–पाठनको गुणस्तर बृद्धि गर्न शिक्षक, अभिभावक र विद्यार्थी बिच समन्वयात्मक भूमिका रहनुपर्ने कार्यक्रमका मोटीभेटर हरिश वलीले बताए । आइतवार देखि सुरु गरिएको कार्यशाला ३ दिन सम्म सञ्चालन गरि मंगलवार समापन गरिएको छ ।

