बाल मजदुरका व्यथा खोज्दै अभियन्ताहरु
गढवा ५ जेठ । नेपालका विभिन्न जिल्लाहरुमा स्थलगत अध्ययन गर्दै बाल मजदुरहरुको कथा–व्यथा संकलन गरिदै छ । इटाभट्टा, कलकारखाना, होटल, रेष्टुराँ तथा उद्योगहरुमा बालबालिकाहरुको शिक्षा आर्जन गर्ने उमेरमा मजदुरी गरिरहेको पाइएको छ । उनीहरुको प्रत्येक घरमा शिक्षा आर्जन गर्ने वातावरणको सिर्जना गरि बाल मजदुर उन्मूलन गर्न नेपाल सरकारका निकायहरुसंग समन्वय सहकार्य गर्दै अगाडी बढ्ने हाम्रो लक्ष्य रहेको छ–एजुकेशन इन एभ्रीहोम संस्थाका कार्यक्रम डिजाइनर तथा संस्थापक होमराज आचार्यले भने ।
हरेक बालबालिकाहरु शिक्षाबाट बञ्चित हुनुहँुदैन भन्ने नेपाल सरकारको नीति तथा कार्यक्रम भएपनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । यो बिषयलाई कार्यान्वयनको दिशामा अगाडी बढाउन जरुरी छ । हामीले यहि बिषय रोजेर नेपालका बिभिन्न जिल्लाहरुमा रिसर्च गरिरहेका छौ–आचार्यले भने । बालबालिकाहरु किन र कसरी पढ्ने उमेरमा मजदुरी गर्न जान बाध्य छन् ? बिशेषगरि विपन्न र सिमान्तकृत वर्ग समूदायहरु थारु तथा कुमाल समूदायका बालबालिकाहरु इट्टाभट्टामा काम गर्ने गरेको पाइएको छ । हामी अभियानकै रुपमा नेपालका बिभिन्न जिल्लाहरुमा बाल श्रमिकहरुको खोजी गरिरहेका छौं । उनीहरुका घरपरिवार र पढ्नका लागि नाम लेखाइएका विद्यालयहरुमा पुगिरहेका छौं । विद्यालयमा भर्ना भएर पनि आफ्ना बाबुआमाहरुसंग काम गर्नका लागि इटाभट्टामा बालबालिकाहरु किन गईरहेका छन् ? यस बिषयमा हामी गहिरो अनुसन्धान र स्थलगत सर्भेक्षणमा छौं–एजुकेशन इन एभ्रिहोम नेपालका कार्यक्रम संयोजक महेन्द्र खनालले बताए ।
कलेज देखि युनिभर्सिटी सम्मको शिक्षा अमेरिकाबाट पुरा गरि लामो समय सम्म अमेरिकामै सरकारी तथा गैह्रसरकारी सेवामा काम गरि ग्रिनकार्ड समेत त्यागेर नेपाल फर्किएका होमराज आचार्य लेखक, साहित्यकार तथा बिज्ञ अनुसन्धाता हुन् । उनीहरुको टिमले नेपालमा केहि गर्नुपर्छ भन्ने अवधारणा अनुरुप आफ्नै लगानी र परिश्रमबाट यस्तो अभियानको थालनी गरेको आचार्यले बताउँछन् । इटा उत्पादन संगको सम्बन्ध, इटाभट्टामा काम गर्ने परिवारको अवस्था र सम्बन्ध, यस काममा लागेका समूदायको पहिचान, विद्यालयसंगको सम्बन्ध र पहुँच तथा बिद्यालयमा नगएर काम गर्न जानुका कारणहरुको पहिचान, उनीहरुका समस्या र चुनौतीहरु तथा सरकारी तवरबाट समस्या समाधानमा गरिएका अभ्यासहरु समेतको सर्भेक्षण गरि समस्या समाधानका लागि गहिरो अध्ययनमा लागेको उनीहरुको भनाई छ । यो रिसर्च पश्चात् नेपाल सरकारका निकायहरुसंग समन्वय गरि देशका सबै वाल मजदुरहरुलाई शिक्षा आर्जन संग जोड्ने र वालवालीकाहरुलाई मजदुरी गर्न पठाउने, लैजाने र स्वतःस्फूर्त जाने परम्परालाई अन्त्य गर्ने आफ्नो अभियानको लक्ष्य रहेको आचार्यले बताए ।
रिसर्चको क्रममा संघिय सरकार, प्रदेश सरकार र केही स्थानीय सरकारहरुसंग समस्या समाधानका लागि अन्तरक्रिया गर्ने र हाल लुम्बिनी प्रदेश राजधानी रहेका दाङका गढवा, राप्ती, लमही र राजपुरमा गाउँपालिकाहरुमा संघसंस्था, सामाजिक अगुवा, सरकारका निकायहरु र सरोकारवाला समूदायहरु संग चरणवद्ध छलफल तथा अन्र्तकृयाहरु गर्दै आइरहेको बताइएको छ । मूलतः बिपन्न र सिमान्तकृत समुदायका नागरिकहरु आर्थिक समस्याका कारण परिवार पाल्ने जोहोमा घर छोडेर इटाभट्टामा काम गर्न जाने र वालवालीकाहरुलाई शिक्षा आर्जन तर्फ नलगाएर बालश्रम गर्न गराउन केन्द्रित गरिरहेको रिसर्चको क्रममा पाइएको अभियन्ताहरुको भनाई छ ।

