दाङकाे राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन, अधिकांश पसलमा म्याद गुज्रिएका सामग्री फेला
भालुवाङ ३० वैशाख। दाङको राप्ती गाउँपालिकाले गरेको बजार अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रिएका उपभोग्य सामग्री फेला परेका छन्। मंगलबार गरिएको अनुगमनमा खुद्रा, थोक तथा मासु पसलहरूमा बिक्रीका लागि राखिएका धेरैजसो खाद्य सामग्रीको उपभोग्य अवधि समाप्त भएको पाइएपछि ती सामग्री तत्काल जफत गरी नष्ट गरिएको गाउँपालिकाले जनाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुरको समन्वयमा गरिएको अनुगमनमा वडा नं. १, ३, ६, ७ र ८ अन्तर्गतका भित्री गाउँहरूमा सञ्चालनमा रहेका ६५ वटा पसलको अनुगमन गरिएको थियो।अनुगमन समितिका सदस्य तथा गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यका अनुसार म्याद सकिएको वा नसकिएको, मूल्य सूची राखेको वा नराखेको, व्यवसाय दर्ता तथा नवीकरण गरेको वा नगरेको, लेबलमा जानकारी उल्लेख भएको वा नभएको जस्ता विषयमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुरका खाद्य निरीक्षक तथा सुचना अधिकारी बिबेककुमार सुवेदीले जानकारी दिए ।

उनले अनुगमनका क्रममा भान्सा अब्यवस्थित रहेकाे, स्वच्छता कामय नरहेकाे, सरसफाईकाे अवस्था निकै कमजाेर पाईएकाे बताए । सुचना अधिकारी सुवेदी खाद्य सम्बन्धि सबै कुरामा ध्यान दिन तथा सुधार गरेर गाउँपालिकालाई सुचित गर्न सुझाब दिएकाे बताए । अनुगमनका क्रममा केही पसलहरूमा मूल्य सूची नराखिएको, व्यवसाय दर्ता तथा नवीकरण नगरिएको पाइएकाले ती पसलहरूलाई एक हप्ताभित्र यस्ता कुराहरु सुधार्न निर्देशन दिइएको छ । उहाँले पहिलो पटक यस्तो अवस्था भेटिएका पसल सञ्चालकहरूलाई आगामी दिनमा यस्ता वस्तुहरू बिक्रीवितरण नगर्न सचेत समेत गराइएको बताए ।

यस्तै राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले उपभाेक्ताहरूले स्वच्छ, सफा, ताजा खाद्य सामाग्री प्रयाेग गर्न पाउनु भन्ने मुख्य उद्देश्य राखेर बजार अनुगमन शुरू गरिएकाे बताए । उनले अनुगमनका क्रममा कुनै कैफियत भेटिए पहिलाे पटकलाई सचेत गराउने काम गरिएकाे बताए । उनले बजार अनुगमन निरन्तरमा चल्ने र बजार अनुगमनलाई थप व्यवस्थित, प्रभाबकारी तथा कडाई गरिने बताए ।
अनुगमन टोलीमा गाउँपालिकाका कर्मचारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुल्सीपुरका निरीक्षक, नेपाल प्रहरी, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीको समेत सहभागिता रहेको थियो । राप्ती गाउँपालिकाले उपभोक्ताको हित र स्वास्थ्यलाई ध्यानमा राख्दै बजार अनुगमनलाई नियमित रुपमा सञ्चालन गर्दै आइरहेको छ।


