नागरिक र पत्रकार सँग मिलेर काम गर्छु : प्रहरी निरिक्षक ऐरी
भालुवाङ २६ वैशाख । इलाका प्रहरी कार्यालय भालुवाङमा भर्खरै सरूवा भएर आएका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरीले राप्तीको समग्र शान्ति सुरक्षाका विषयमा नागरिक र पत्रकार सँग मिलेर काम गर्ने बताएका छन् ।
शुक्रबार राप्ती प्रेस मञ्चले राप्ती गाउँपालिका क्षेत्रका पत्रकार सँग इलाका प्रहरी कार्यालय भालुवाङमा आयोजना गरेको परिचयात्मक भेटघाटमा बोल्दै सो कुरा बताएका हुन् । प्रहरी एक्लैले मात्र शान्ति सुरक्षा कायम गर्न नसक्ने हुँदा प्रहरीलाई समयमा सुचना दिने र सहयोग गर्न नागरिक र पत्रकारको महत्त्वपूर्ण भुमिका रहने बताए । कार्यक्रममा पत्रकारले उठाएका जिज्ञासा तथा सुझावलाई ग्रहण गर्दै प्रहरी निरिक्षक ऐरीले सडक दुर्घटना, चोरी, अवैध राप्ती नदी दोहन, लागू औंषध प्रयोग तथा ओसारपसार लगायतका विषयमा नागरिक र पत्रकार सँगै समन्वय गरेर काम गर्ने बताए । प्रहरी समयमा घटना स्थल पुग्दैन भन्ने प्रश्नको जवाफमा प्रहरी निरिक्षक ऐरीले नागरिकबाट समयमा सुचना आए प्रहरी ५ देखि १० मिनेट भित्र घटना स्थल पुग्ने गरेको बताए ।
त्यस्तै पत्रकारहरूले राखेको जिज्ञासामा प्रहरी निरिक्षक ऐरीले आफू कानूनको शासनलाई सुदृढ बनाउँदै समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्ने कार्यमा संचारकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण रहने समेत बताए । उनले प्रेससँग समन्वय गर्दै सूचना प्रवाहलाई व्यवस्थित बनाउन प्रहरी सदैव सकारात्मक हुने उल्लेख गरे । सहभागी पत्रकारहरूले प्रहरी र पत्रकारबीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै पारदर्शिता, सूचना पहुँच, र जनचासोका विषयमा सहकार्य गर्नुपर्नेमा जोड दिए ।
परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य तथा राप्ती प्रेस मञ्चका महासचिव ओमप्रकाश गुप्ता, हिमालय टेलिभिजनका संसदीय संवाददाता तथा मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ता, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारी, हाम्रो लुम्बिनी न्युज डटकमका अध्यक्ष/ प्रधानसम्पादक तथा मञ्चका सल्लाहकार बासुदेव न्याैपाने, मञ्चका सल्लाहकारहरू जमिर शाहा, तुलबहादुर कवँर मगर, मञ्च सदस्य तथा दंगाली अनलाइन खवरका कार्यकारी सम्पादक मुक्तिराम पाैडेल, मञ्चका उपाध्यक्ष तथा देउखुरी पोष्टका सञ्चालक बलराम शाही (भिसुन), मञ्चकै महिला उपाध्यक्ष हुमा सुनार, सचिव देवेन्द्रराज कडेल (श्रीधर), कोषाध्यक्ष तथा टक्सार म्यागजिनका समाचारदाता लक्ष्मी पोख्रेल, मञ्चका सदस्यहरू मोतीराम भट्टराई, किरण जिसी लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताले गरेका थिए । भने कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए।

