राप्ती गाउँपालिकाद्वारा राजमार्ग क्षेत्रमा सरसफाई अभियान कडाइका साथ सञ्चालन गरिने



राप्ती गाउँपालिकाद्वारा राजमार्ग क्षेत्रमा सरसफाई अभियान कडाइका साथ सञ्चालन गरिने

भालुवाङ २६ वैशाख। दाङको राप्ती गाउँपालिकाले सार्वजनिक सवारीसाधन तथा यात्रुहरूबाट राजमार्ग क्षेत्रमा हुने फोहोरजन्य गतिविधि नियन्त्रण गर्न कडाइका साथ अभियान सञ्चालन गर्ने भएको छ।

शुक्रबार सम्पन्न फोहरमैला व्यवस्थापन तथा सरसफाई सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरसफाई अभियानलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको हो। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार अभियानको प्रारम्भिक चरणमा एक महिना सम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र त्यसपछि पनि सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने कार्य यथावत् रहेमा सरसफाई ऐन अनुसार कारबाही प्रक्रिया  अगाडि बढाउने बताए । उनले राजमार्ग क्षेत्रमा फोहोरजन्य गतिविधिले गाउँपालिकाको छवि बिगार्ने खतरा रहेको उल्लेख गर्दै सरसफाईको सवालमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे। अध्यक्ष विष्टले भने, “सार्वजनिक क्षेत्र सफा राख्ने जिम्मेवारी केवल पालिकाको मात्र होइन, सम्पूर्ण नागरिकको साझा कर्तव्य हो। नागरिक अनुशासन र चेतनाको विकास बिना दिगो सरसफाई सम्भव छैन।” उनका अनुसार पूर्ण सरसफाईयुक्त गाउँपालिका निर्माणका लागि ‘सरसफाई रनिङ शिल्ड प्रतियोगिता’ समेत सञ्चालन गरिएको छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले सरसफाईका सवालमा पालिकाको स्पष्ट दायित्व रहेको उल्लेख गर्दै स्वच्छ र स्वस्थ वातावरण निर्माणमा सबै पक्षको सहभागिता अपरिहार्य रहेको बताए। साथै, उनले सहभागीहरूले प्रस्तुत गरेका सुझावहरूलाई यथासम्भव कार्यान्वयन गरिने बताए । कार्यक्रममा इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरी, नमुना बजार टोल विकास संस्थाका अध्यक्ष विष्णुप्रसाद बोहरा, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी, भालुवाङ होटल व्यवसायी समितिका उपाध्यक्ष पुनाराम भुसाल, प्रगतिनगर शहरी खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष भरतप्रसाद पाण्डे, हनुमानगढी टोल विकास संस्थाका अध्यक्ष मोहन जिसी, लाइन्स क्लब अफ राप्तीका सचिव कृष्णराज पौडेल, भालुबाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरुङ, मौरीघाट बजार व्यवस्थापन समितिका अध्यक्ष बेगमबहादुर बस्नेत, सदस्य तेजेन्द्रसिंह ठकुरी लगायतका सहभागीताले राजमार्ग सँगै भित्री गाउँ तथा टोलहरूमा पनि सरसफाई अभियान विस्तार गर्नुपर्ने, सार्वजनिक स्थानहरूमा डस्टबिनको व्यवस्था गर्नुपर्ने लगातकाे धारणा व्यक्त गरेका थिए।

उनीहरूले अभियानलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न संस्थागत समन्वय र सामूहिक प्रयास आवश्यक रहेको धारणा समेत व्यक्त गरेका थिए। गाउँपालिकाले सरसफाईलाई उच्च प्राथमिकतामा राख्दै समुदाय तथा बस्ती स्तरमा फोहोर वर्गीकरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रममा सरसफाई शाखा प्रमुख गीता चौधरी र वातावरणविद् मुमाराम भुसालले पालिकाद्वारा हालसम्म सञ्चालित सरसफाई गतिविधिबारे जानकारी गराएका थिए। कार्यक्रमको सहजीकरण सरसफाई सुपरिवेक्षक सुरेश बैमा मगरले गरेका थिए। गाउँपालिकाले सरसफाई कार्यालय व्यवस्थित गर्न ‘सरसफाई केन्द्र’ स्थापना गरि फोहोरबाट विभिन्न प्रकारका इन्टरलक र टायल उत्पादन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे