राप्ती नदीमा भत्किएको तटबन्ध मर्मत नहुँदा गढवाको बड्हरा लगायतका बस्ती जोखिममा
भालुवाङ २५ फागुन । दाङको देउखुरी स्थित गढवा गाउँपालिका–१ बडहरा नजिक रहेको राप्ती नदीको दक्षिण भागमा निर्माण गरिएको तटबन्ध भत्किएर बस्ती डुबानको जोखिममा रहेको छ ।
राप्ती नदी नियन्त्रण गरी बस्ती जोगाउन गरिएको तटबन्ध मध्ये बडहराको करिव १ सय मिटर क्षेत्र ४ वर्षअघि भत्किएको हो । जनताको तटबन्धले लगाएको जाली बाढीले फालिदिएपछि अर्बांै लगानी गरिएको राप्ती तटबन्ध समेत जोखिममा परेको छ । नदीजन्य पदार्थकै प्रयोग गरेर निर्माण गरिएको तटबन्ध बाढीले भत्काएपछि गढवा गाउँपालिका–१ बडहरा, पत्रिङ्गा र जेठानगाउँका हजारौं नागरिक बाढीको जोखिममा परेका छन् । त्यसैले उनीहरुले मर्मतको जिम्मेवारी लिएको जनताको तटबन्ध कार्यालय लमहीलाई आग्रह पनि गरे । पटक–पटक भनसुन गर्दा पनि कार्यालयले सुनुवाइ नगरेको स्थानीयको गुनासो छ ।
गढवा गाउँपालिका–१ बडहरा लुम्बिनी प्रदेशको राजधानी भालुबाङ देखि साढे तीन किलोमिटर दक्षिणमा छ । नियामक निकाय जनताको तटबन्ध कार्यालय पनि लमहीमै छ । स्थानीय सरकार त झन भूगोलभित्रै छ । हाँक पारे सुनिने ठाउँमा रहेका विकासे अड्डा र सरकारले गढवा–१ वडहरा, पत्रिङ्गा र जेठानगाउँका हजारौं नागरिकको पीडा नसुनेको पाइएको छ । बडहरा क्षेत्रमा तटबन्ध निर्माण भएको २०७६ मा हो । त्यसको दुई वर्षमै करिव एक सय मिटर तटबन्धको जाली फुट्यो र भत्किन शुरु भयो । बाढी गाउँमा पस्ने जोखिम बढेपछि स्थानीयले २०७८ मै मर्मतका लागि जनताको तटबन्ध कार्यालय लमहीलाई आग्रह गरे । पटक–पटक डेलिगेशन नै गएर दुःख पोखे तर कार्यालयले अहिलेसम्म मर्मत गरेको छैन । अघिल्लो वर्ष असारमा बोरामा बालुवा हालेर टालटुल पार्ने काम गरे पनि त्यसको उचित मर्मत नगर्दा जतिबेला पनि राप्तीको बाढी गाउँ पस्न सक्ने जोखिम बढेको स्थानीय कुलपानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नवराज शर्माले बताए ।
‘जाली फुटेको छ । त्यसभित्र राखिएका ढुंगा पनि बगेका छन् । एक तहमात्रै ढुंगा राखिएको जाली नै फुटेपछि बालुवा, माटोले बनाइएको तटबन्ध पनि खस्किदै गएको छ’– अध्यक्ष शर्माले भने– ‘हेर्दा थोरै र सामान्यजस्तो देखिन्छ तर यो एकसय मिटर क्षेत्रबाट राप्तीको बाढी पस्यो भने तीनवटा गाउँ बग्ने जोखिम छ । यसप्रति सरोकारवाला गम्भीर भएनन् ।’ स्थानीयले तटबन्ध मर्मतका लागि जनताको तटबन्ध धाउँदा धाउँदै दुई÷तीनजना हाकिम नै परिवर्तन भइसके । कार्यालय प्रमुख फेरिदा डेलिगेशन जाने स्थानीयहरु माग सुनुवाइ नभएपछि स्थानीय सरकारलाई पनि गुहारेका छन् । तर माग सम्बोधन हुन नसकेको स्थानीय ईश्वरीप्रसाद घिमिरेले बताए ।
‘कति पटक लमही गइयो, धेरै पटक गाउँपालिकामा पनि गइयो, कतैबाट पनि माग सुन्ने काम भएन’– स्थानीय घिमिरेले भने– ‘सय मिटर तटबन्ध मर्मत नगर्दा यसले कुन दिन ठूलो विपत्ति ल्याउँछ भन्ने डर छ ।’ उनले तटबन्धका कारण उकास भएको सयौं विगाह खेतीयोग्य जमिन पनि फेरि बगरमा परिणत हुने जोखिम बढेको बताए । त्यतिमात्रै होइन भत्किएको ठाउँबाट बाढी पसे उक्त क्षेत्रबाट करिव पँँच किलोमिटरसम्मको तटबन्ध भत्किने, बग्ने जोखिम पनि छ । बालुवा र माटोले बनाइएको तटबन्ध बाढीले सजिलै बगाउने अवस्था रहेको स्थानीय कृष्ण खड्काले बताए । उनले भत्किएको तटबन्धका कारण वस्ती, खेतीयोग्य जमिन र नजिकै रहेको देशकै ठूलो मध्येको एक झोलुङगे पुल पनि जोखिममा परेको जानकारी दिए ।
यता गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बडहरा तटबन्ध मर्मतको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै मर्मतका लागि जनताको तटबन्धलाई पटक–पटक परिपत्र गरिएको जानकारी दिए । ‘मैले पनि स्थलगतरुपमै भत्किएको ठाउँको अनुगमन गरेको छु र मर्मतका लागि तटबन्ध कार्यालयका प्रमुखलाई पनि सँगै लगेर अवलोकन गराएको छु तर बजेटको समस्या देखाएर मर्मत गरिएको छैन’– अध्यक्ष पोख्रेलले भने–‘अहिले हाकिम फेरिएको कुरा सुनेको छु । नयाँ हाकिमलाई भेटेरै फेरि जानकारी गराउँछु । समस्या समाधानका लागि पहल गर्छु ।’ उनले मौखिकमात्र नभई गाउँपालिकाको विपत् व्यवस्थापन समितिबाटै निर्णय गराएर तटबन्ध कार्यालयलाई मर्मतका लागि सिफारिस गरिएको बताए । आवश्यक परे फेरि पत्र लेख्न तयार रहेको भन्दै वर्ष वर्षमा पत्र लेखिरहेको र सुनुवाइ हुन नसकेको अध्यक्ष पोख्रेलले बताए । तर जनताको तटबन्ध कार्यालयले यसपालि पनि मर्मतको कार्यक्रमबारे अनभिज्ञता जनाएको छ ।

