रुकुमकोटमा दुई दिने समाचार लेखन तालिम सुरु



रुकुमकोटमा दुई दिने समाचार लेखन तालिम सुरु

रुकुमपूर्व २५ वैशाख  । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजनामा तथा लुम्बिनी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा दुई दिने समाचार लेखन तालिम रुकुमपूर्वको रुकुमकोटमा सुरु भएको छ।

बिहीबारबाट सुरु तालिमको उद्घाटन समारोह नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन महासंघका लुम्बिनी प्रदेश सचिव गोविन्द शर्माले गरेका थिए भने स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ रुकुमपूर्वका अध्यक्ष वसन्त बाठा मगरले राखेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष मिना ढकाल, सदस्यहरू निर्मल आचार्य र सीता पाण्डेले समेत उपस्थिति जनाएका थिए। उनीहरूले तालिमको महत्वमाथि प्रकाश पार्दै पत्रकारिता क्षेत्रमा पेशागत क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरू आवश्यक रहेको उल्लेख गरे।

दुई दिनसम्म चल्ने तालिममा रुकुमपूर्वका विभिन्न सञ्चार माध्यमहरूमा आवद्ध ३० जना पत्रकारहरूको सहभागिता रहेको छ। सहभागीहरूलाई प्रशिक्षक शंकर खनाल र नरेन्द्र केसीले समाचार लेखनको सैद्धान्तिक पक्षदेखि व्यवहारिक अभ्याससम्मका विषयमा प्रशिक्षण दिनेछन्। तालिमको उद्देश्य पत्रकारहरूलाई स्पष्ट, तथ्यपरक, सन्तुलित र जिम्मेवार समाचार लेखनमा सक्षम बनाउनु रहेको आयोजकले जनाएको छ। यस्ता तालिमहरूले स्थानीय तहमा जिम्मेवार पत्रकारिता प्रवर्द्धन गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे